एन्टिबायोटिक्समा शून्य सहनशीलता अपनाउँछौं

बर्डफ्लूलगायत रोग, गुणस्तरहीन फिड सप्लिमेन्टका कारण किसान पीडित छन् । बर्डफ्लूपीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने भनिए पनि अझै उनीहरूले सो रकम प्राप्त गर्न सकेका छैनन् । फिड सप्लिमेन्टको गुणस्तरको प्रश्न त अझै कसैको प्राथमिकतामा परेको छैन । यिनै विषयको सन्दर्भमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खरालसँग भेट टाइम्सले गरेको कुराकानी :
पशुपन्छीको दानामा एन्टिबायोटिक्सको प्रयोग बढी भयो । यसबारे मन्त्रालय कत्तिको जानकार छ ?
सर्वसाधारण, पत्रपत्रिकालगायत सञ्चारमाध्यममा यसबारे आइरहेका छन् । यसमाथि अनुसन्धान पनि गर्नुभएको छ, कतिपयले त्यसमा यो कुरा औंल्याइएको छ । त्यसैले यसबारे हामीले जानकारी नपाउने कुरा भएन । यसमा हामी अत्यन्त गम्भीर छौं । त्यसो त, यसबारे प्रकाशमा आएका कुरालाई आधार बनाएर अनुसन्धानको काम पनि भइरहेको छ ।
एन्टिबायोटिक्सको दुरूपयोग नियन्न्त्रण गर्नेबारे मन्त्रालयले के सोचिरहेको छ ?
एन्टिबायोटिक्स प्रयोग राम्रो कुरा होइन । त्यसैले यसलाई न्यूनीकरण गर्न शून्य सहनशीलता अपनाउने हाम्रो योजना छ । त्यसका लागि भ्याक्सिनमा सहुलियत दिएर लगाउने सोच छ ।
यसबाहेक अरू पनि योजना छन् कि ?
दाना पदार्थको आफ्नै मापदण्ड छ मन्त्रालयले बनाएको । त्यसमा यस्ता पदार्थमा एन्टिबायोटिक्स नमिसाउने प्रष्ट उल्लेख गरिएको छ । यसलाई हामी दृढतापूर्वक कार्यान्वयन गर्न लाग्छौं ।
तपाईं भन्नुभयो दानामा एन्टिबायोटिक्स मिसाउनु अनधिकृत काम हो । यसविपरीत कसैले यस्तो गतिविधि गरेमा के सजाय गर्नुहुन्छ ?
यदि कोही व्यक्ति तथा संस्था यस्ता गतिविधिमा संलग्न रहेको भेटिएमा तिनले अनुज्ञापत्र पाउँदैनन् । अनुज्ञापत्र नै प्राप्त नगरेपछि उत्पादन गर्ने भन्ने त कुरै आएन ।
तपाईं कार्यरत मन्त्रालय मातहतको पशु सेवा विभागले केही साताअघि बजारमा बिक्री भइरहेको दानामा एन्टिबायोटिक्सको मिश्रण भेटिएको प्रयोगशाला रिपोर्ट नै सार्वजनिक गरेको छ । यसबारे के भन्नुहुन्छ ?
पहिलो त, यस्ता पदार्थ किनबेच गर्न हामी दिँदैनौं । यदि कसैले नियमविपरीत गर्छ भने त्यसलाई छाड्दैनौं, सिज गछौं ।
फिड सप्लिमेन्ट गुणस्तरहीन भएको थाहा हुँदाहुँदै पनि आयात गर्न सिफारिस दिइएको पाइएको छ । यो त अलि असंगत कुरा भएन र ?
विगतमा कमजोरी गरेको तर अहिले सुधारेर कसैले मापदण्डअनुरूप ल्याउँछ भने उसको हकमा रोक्ने कुरा हुँदैन । तर कसैले फेरि पनि उसैगरी गुणस्तरहीन फिड सप्लिमेन्ट ल्याउने प्रयास गर्छ भने त्यो सफल हुँदैन । हामी तिनलाई रोक्छौं ।
बर्डफ्लूका कारण सयौं कुखुरापालक कृषक पीडित बनेका छन् । क्षतिपूर्ति दिइने बताइए पनि लामो समयदेखि पाएका छैनन् । यसतर्फ मन्त्रालयले के गरिरहेको छ ?
बर्डफ्लूबाट पीडित बनेका किसानलाई क्षतिपूर्ति दिन सरकारले स्वीकृति दिइसकेको छ । मापदण्ड पनि बनेको छ । क्षतिपूर्तिका लागि आवश्यक रकम कृषि मन्त्रालयले अर्थसँग माग गरेको थियो । तर प्राप्त भएन । अर्थले कृषि मन्त्रालय मातहतको बजेट किसानलाई क्षतिपूर्ति स्वरूप दिन स्वीकृति प्रदान गरेको छ । त्यसलाई प्रदेशमार्फत किसानको व्यक्तिगत बैंक खातामा हालिदिने मन्त्रालयको योजना छ ।

बर्डफ्लुपीडितलाई क्षतिपूर्तिबापतको रकम वितरण शुरु (विवरण सहित)