एन्टिमाइक्रोबायल प्रभावकारी देखिएनन्, यो जनस्वास्थ्यका लागि जोखिमपूर्ण छ

पशुपन्छी र माछामा लाग्ने रोगहरूको पहिचान गर्ने कार्यादेश पाएको निकाय हो, राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्र । केन्द्रले लामो समयदेखि पशुपन्छी तथा माछामा लाग्ने रोगबारे अध्ययन गर्दै आएको छ । यसलाई देशव्यापी बनाउन सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरिएका छन् । प्रादेशिक कर्याालयले भने पशुपन्छीका अतिरिक्त बाली तथा बिरुवामा लाग्ने रोगबारे पनि अनुसन्धान गर्छन् । केन्द्रले गरिरहेका कार्यसम्पादनलगायत विषयमा केन्द्रित रहेर भेट टाइम्सले अनुसन्धान केन्द्रका प्रमुख डा. माधवप्रसाद आचार्यसँग गरेको कुराकानी :
यहाँको नेतृत्वमा रहेको कार्यालयबारे केही बताइदिनुहोस् न ?
हाम्रो राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्र मातहत रहने गरी सातै प्रदेशमा प्रादेशिक कार्यालयहरू छन् । यी कार्यालयहरूले बाली बिरुवादेखि पशुपन्छी रोगबारे अध्ययन अनुसन्धान र पहिचान गर्ने काम गर्छन् । हामीले भने पशुपन्छी र माछामा लाग्ने रोगहरूको मात्रै पहिचान र अनुसन्धान गर्छौँ ।
हामीले मुख्य गरी ३ वटा काम गर्छौँ । पहिलो प्राथमिकताका आधारमा पशुपन्छीसँग सम्बन्धित प्रविधि विकास र प्रवद्र्धन गर्छौँ । आकस्मिक रूपमा आउने पशुपन्छी तथा मत्स्यसम्बन्धी रोगहरूको पहिचान र अनुसन्धान गर्छौँ । जस्तो बर्डफ्लु, स्वाइनफिवर, लम्पिस्किनजस्ता रोगहरूको पहिचान र अनुसन्धान गर्दै आएका छौं । पिसिआर पनि हामी गर्छौँ । आधिकारिकताका लागि सिभिएलमा पठाउने हो ।
त्यसले ओआईमा पठाउने हो । त्यस्तै हामीले ओपिडी सेवा सुरु गरेका छौं । व्यवसायी वा किसानले आफूले पालेका जनावर ल्याएर यहाँ ओपीडी जाँच गराउन सक्नुहुन्छ ।
साधारण डाइग्नोस्टिक किटदेखि लिएर ब्लड कच्चर गर्नेदेखि लिएर एन्टिबायोटिक सेन्सिटिभिटी जाँच, हेमाटोलोजीलगायत अनेक जाँच पनि यहाँ हुन थालेको छ । यहाँ ठूला ठूला व्यवसायीदेखि सामान्य किसान पनि उपचार गराउन आउनु हुन्छ । यहाँ शुल्क पनि सस्तो छ । हामीले खर्च मात्रै उठाउने हिसाबले उपचार शुल्क तोकेका छौं । पिसीआरको चाहिँ अलि महँगो छ । बाँकी सबै सस्तो छ । यहाँ नुवाकोट, काभ्रे, चितवनसम्मका व्यवसायी तथा किसान कुखुराको उपचारका लागि आउने गर्नुभएको छ ।
गाईको लम्पी स्किन रोगको अवस्था अहिले कस्तो छ ?
लम्पि स्किनको समस्या यथावतै छ । एउटा बख्राको भ्याक्सिन छ । तर, त्यही भ्याक्सिन गाईभैंसीमा लगाउँदा लम्पिस्किन रोग निको भएको छ ।
सरकारले पनि लम्पिस्किन रोगमा गाईभैंसीलाई लगाउने भ्याक्सिन एप्रुभल गरेको छ । तर, त्यो भ्याक्सिनमा नाफा कम भएर हो वा के हो त्यसो हुँदा त्यो भ्याक्सिन पनि बजारमा सरकारले पठाएको छैन । किसानलाई पनि निःशुल्क गाईभैंसीको भ्याक्सिन बाँड्ने बानी लागेको हुनाले त्यो भ्याक्सिन बजारमा छैन ।
त्यस्तै, पिआरआरएस भन्ने रोग अफ्रिकन स्वाइन फिवर आउनुभन्दा २–३ वर्षअघिबाट सुरु भएको रोग हो । हुन त यो मान्छेमा सर्ने रोग त होइन । यसको पनि भ्याक्सिन निकै आवश्यक देखिन्छ । तर, यसको जुनोटाइप केही थाहा हुन सकेको थिएन ।
तर अहिले हामीले सिक्वेन्सिङ गरेर जुनोटाइप छुट्याएका छौं । यो रोगका भाइसरको दुईओटा जुनोटाइप छ । एउटा अमेरिकन र अर्को युरोपियन । नेपालमा भएको पीआरआरएस भाइसरको जुनोटाइप चाहिँ अमेरिकन हो । त्यसो हुँदा अब हामीले अमेरिकन जुनोटाइपवाला वा कोरियन भ्याक्सिन ल्याउँदा हुन्छ । यसका लागि हामीले सम्बन्धित निकायलाई सिफारिस पनि गरेका छौं ।
गाईभैंसी तथा बाख्रामा अहिले कुन रोग बढी देखिएको छ ?
लम्पिस्किन, थुनेलो, बाँझोपन, ब्रुसोनोसिस गरी ४ वटा रोग बढी गाईभैंसीमा देखिएको छ । ब्रुसोलोसिसले बाँझोपन पनि गराउँछ र मान्छेमा पनि सर्न सक्छ ।
त्यस्तै, बाख्रामा पिपिआर र इन्टेरोरर टक्सिमिया भन्ने रोगको बढी जोखिम छ । व्याक्टेरियाले गर्दा यो रोग लाग्छ । टक्सिनले गर्दा यसले पनि बाख्रामा बाँझोपन गराउँछ ।
पछिल्लो समय एन्टिबायोटिक्सको दुरूपयोग भएको र यसको प्रयोग अत्यधिक भएको सुनिएको छ । तपाईं र तपाईंको आनुसन्धानको निष्कर्ष के छ, बताइदिनुहोस् न ।
नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्र बाट गरिएको AMR (Antimicrobial resistant) सम्बन्धी अध्ययनको नतिजाबमोजिम लेयर्स कुखुराहरूमा हुने साल्मोनेला संक्रमण नियन्त्रणका लागी हाल हाम्रो बजारमा उपलब्ध हुने कुनै पनि प्रतिजैविक (Antimicrobial) औषधिहरूले काम नगरेकाले यस्ता औषधिहरू सकेसम्म प्रयोग नगर्ने वा मात्रा निकै कम प्रयोग गर्नुपर्ने देखिन्छ ।
यस अध्ययनमा दाङ, चितवन, मकवानपुर र कास्कीबाट नमुना संकलन गरिएको थीयो । जसमध्ये ३४४ नमुना PCR बाट सल्मोनेल्ला पहिचान गरिएको थियो । यी पहिचान भएका नमुनाको प्रतिजैविक क्षमता विश्लेषण गर्दा हाल बजारमा उपलब्ध Antimicrobial हरू प्रभावकारी देखिएनन् । जुन जनस्वास्थ्यका लागि जोखिमपूर्ण हो ।