सेल्टरमा आश्रय लिइरहेको सुँगुर बित्यो, मानिसलाई जस्तै गरी भावुक बिदाई

काठमाडौं । अभियन्ताहरूले विश्वमा पशु कल्याणका कुरा गर्न थालेको अलिक लामै समय भइसकेको छ । यसले एकखालको जागरण नल्याएको होइन तर यो जुन मात्रामा विस्तार हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । त्यसैले ‘पशु त हो नि’ भनेर मारकाटदेखि कुटपिटसम्म ज्यादतिजन्य घटना अहिले पनि यततत्र बरोबर भइरहन्छन् ।
नेपाली समाजमा पशुमध्ये पनि सबैभन्दा घृणित मानिन्छ, सुँगुर । कसैलाई फोहोरीका रूपमा चित्रित गर्नुपरे तपाईं–हाम्रो मुखबाट फ्याट्टै निस्किहाल्छ– कस्तो सुँगुरजस्तो ।
नेपाली समाजले हेयको दृष्टिले हेर्ने यही सुँगुर सेल्टरमा आश्रय लिइरहेका बेला अकस्मात बितेपछि मानिसलाई जस्तै गरी फूलमाला र अविर लगाएर भावुक अन्त्येष्टि गरिएको छ ।

पशु कल्याणको क्षेत्रमा काम गर्दै आइरहेको स्नेहाज केयरले ४ वर्षअघि एउटा सुँगुरको उद्धार गरेर आफ्नो सेल्टरमा राखेको थियो । स्नहाज केयरकी संस्थापक सञ्चालिका स्नेहा श्रेष्ठले त्यसलाई नाम दिएकी थिइन्, ब्ल्याकी । त्यही ब्ल्याकी बुधबार सेल्टरमा मृत अवस्थामा भेटिएपछि मानिसलाई जस्तै गरी फूलमाला र अविरले श्रद्धाञ्जली दिएर अन्त्येष्टि गरिएको हो ।

सुँगुरलाई श्रद्धाञ्जली दिइएको अनौठो घटनाको तस्बिर पोस्ट् गर्दै स्नेहाजकी संस्थापक श्रेष्ठले भावुक स्ट्यास लेखेर सुँगुरको मृत्युमा निकै दुःखी बनेको लेखेकी छन् । ‘मेरो प्रिय बच्चा, तिमी दुनियाँको परिभाषामा जे भए पनि मेरो मुटुको टुक्रा थियौ, आँखाको नानी थियौ । गहभरी आँशु र मुटुभरि तिम्रो माया छचल्क्याउँदै भारि मनले तिमीलाई श्रदाञ्जली,’ स्नेहाले लेखेकी छन् ।