नेपालमा देखिएको खरी रोग : एक सिंहावलोकन

डा. केदार कार्की
परिचय
नेपालको सुदूरपश्चिमको पहाडी जिल्लाका केही भागमा खासगरी पुसदेखि आषाढसम्म भैंसी प्रजातिमा मात्र विशेष लक्षणको रोग केही वर्षयता नियमित रूपमा देखापर्न थालेको छ ।
रोगको लक्षणका आधारमा स्थानीय बोलचालको भाषामा “खरी” वा “चौखरी” नामाकरण प्रचलनमा छ । यो रोग देखापर्दा भैंसीहरूमा पुच्छरको झुप्पाको रौं झर्ने, छाला फुस्रो हुने, खान मन नगर्ने, वेसुध भई हिँड्ने, अगाडिको पाता बाहिरपट्टि फराकिलो पारी उभिने, घुँडा टेकी बस्ने, खुरबाट सेतो धुलो झरी नयाँ खुर पलाएर असाधारण आकार (च्यअपयच कजबउभम) लिने हुँदा हिँड्डुल गर्न असजिलो हुने हुन्छ ।
यस्तो रोग देखापर्दाको स्थितिमा केही प्रतिशत मृत्यु पनि हुने गरेको पाइएको छ । यो रोग निश्चित मौसम परिवर्तन हुँदा देखापर्ने गर्दछ ।
निदानका प्रयास
सन् वर्ष १९९२ मा प्रथम पटक रोग प्रभावित क्षेत्रमा बिरामीको लक्षणको अभिलेखीकरण गर्दा कुपोषण, लुतो, ढुसीजन्य विकार तथा असन्तुलित व्यवस्थापनका कारण लक्षणहरू देखापरेको अनुमान गरिएको थियो ।
वर्ष सन् १९९४ मा परीक्षणको रूपमा रोग देखापरेको क्षेत्रमा आइभरमेकटिन प्रयोग गर्दा ७५०० रोगी निको भएको देखिन्छ (रताला तथा सिंह १९९४) । बिरामीको रगतको प्रयोगशाला विश्लेषण गर्दा रक्तकोषिका—इयोसिनोफिल, मोनोसाइटको मापदण्ड बढेको तर लिम्फोसाइटको मापदण्ड घटेको तथा बिरामीलाई खुवाउन प्रयोग गरेका घाँसपराल ढुसी पाउनुका साथै छालामा लुतोजन्य परजीविको अवस्थिति, जुम्राको प्रकोप अवलोकन गरिएको पाइन्छ ।
यसै वर्षको अभिलेखमा फस्फोरसको अल्पतामा पनि यस्तै प्रकारको लक्षण देखिएको छ (सिंह तथा श्रेष्ठ १९९६) । उपरोक्त अध्ययनका आधारमा हालसम्म पनि सोही अनुसार उपचार गरिँदैछ तर रोग नियन्त्रण हुन सकेको छैन ।
ध्यान नपुगेको पक्ष
माथि उल्लिखित लक्षण देखिने सम्भावनाका सन्दर्भमा उपलब्ध सन्दर्भमा सामग्रीको गहन विवेचना गरिने हो भने निम्न तथ्य फेला पर्दछन् । सिलेनियमको विषाक्तताको विभिन्न अवस्थामध्ये जीर्ण अवस्थामा पनि यस्ता लक्षण देखिन सक्दछ (सिंह तथा चौहान २००३) । यस्तो विषाक्तता, अत्यधिक मात्रामा सिलेनियम भएको माटोमा उत्पादन भएको घाँस, पराल खुवाउनाले पनि हुन सक्तछ ।
विभिन्न किसिमको सिलेनियम मिसाइएको दानाको प्रयोगबाट पनि हुन सक्छ (वि. के. राय २००१) । यसबाहेक चरन क्षेत्रमा कतिपय बोट बिरुवा यस्ता पनि हुन्छन् जसले माटोमा विषाक्त गराउने सिलेनियम जुन ती बोट बिरुवालाई आवश्यक त पर्दैन तर आफूमा सञ्चित गरी राख्दछन्, त्यस्ता बोटविरुवा जनावरले आफ्नो आहारमा लामो समय प्रयोग गर्दा उपरोक्त लक्षण देखापर्दछन् ।
यी बिरुवाहरू प्राकृतिक रूपमा निश्चित जलवायु तथा मौसममा मात्र देखिन्छन् । चरनमा यिनको उपस्थितिले यस्ता लक्षणका रोग देखापर्ने स्थिति सिर्जना गराउँदछ । त्यसकारण पनि यस रोगको निश्चित भौगोलिक क्षेत्र र खास मौसममा सीमितता देखिन्छ (वि. के. राय २००१) ।
मृत जनावरको शव निस्छेदन गरी अवलोकन गर्दा सिनोबाट लसुनको जस्तो गन्ध आउने, मुटुको आकार सानो भई खुम्चनु, कलेजोमा सिह्रोसिस हुनु तथा आन्द्रा, भुँडी तथा मृर्गौलामा विकारका लक्षण देखिनुले पनि रोगको पुष्टि गर्ने अनुमान गरिएको छ (भारस्नेया तना तेलङ्ग २००२) ।
निदानको उपाय
मूलतः बिरामीको बारेमा पूर्वजानकारी, जनावरले सिलेनियम समाहित एवं सञ्चय गर्न सक्ने खालका बोटविरुवा खाए नखाएको आधारमा शंका गर्न सकिन्छ ।
सिनोबाट लसुनको गन्ध आए, सुषुप्त तथा तीक्ष्ण तीक्ष्ण सिलेनियमको विषाक्तिको अनुमान गर्न सकिन्छ । रगतमा १—२५ पि.पि.एम. कलेजो मृर्गौला ४—२५ पि.पि.एम., पिसावमा ०.१—८ पि.पि.एम. तथा दूधमा ३ पि.पि.एम. सिलेनियमको अवस्थितिले यस प्रकारको रोगको संकेत गर्दछ (भारस्नेया तथा तेलाङ्ग २००२) ।
उपचार
शरीरको आन्द्राभुँडीमा पुगेको सिलेनियम सलाइन परगेटिभ खुवाइ पखाला, छेरौटी गराइ निकाल्ने । आसानिकल एसिड ५०—१०० पि.पि.एम. युक्त खनिज मिश्रणले सिलेनियमलाई पिसावद्वारा शरीरबाट बाहिर निकाल्न मद्दत गराइ बिरामीलाई निको पार्दछ भन्ने तथ्य पनि भेटिन्छ ।
रोकथामको उपाय
सिलेनियमका स्रोत हुनसक्ने घाँस, पराल, दाना, आहार नखुवाउने । उच्च गुणस्तरको प्रोटिनयुक्त आहारा खान दिने यसले पनि सिलेनियमको विषाक्तताबाट बचाउँछ (भास्नेया तथा तेलङ्ग २००२) । नेपालको सन्दर्भमा यस दिशामा अध्ययन अवलोकन जरुरी छ ।