पोल्ट्री क्षेत्रमा आत्मनिर्भर भएसँगै नेपालले भारतबाट हुने अवैध आयात, कच्चा पदार्थमा परनिर्भरता सामना गरिरहेको छ । पछिल्लो समय मानव स्वास्थ्य, किसानको फाइदा एवं व्यावसायिक हितको लागी ब्रोइलर कुखुराको उपभोग्य तौलको विषयमा समेत बहस सुरु भएको छ । यसै सन्दर्भमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका आयोजना निर्देशक एवं पोल्ट्री विशेषज्ञ डा.उमेश दाहालसँग भेट टाइम्सका लागी विष्णु पाण्डेयले गरेको कुराकानी :
नेपाल कुखुराको मासुमा आत्मनिर्भर भएसँगै यसको उत्पादन स्वस्थ र स्वच्छ हुनुपर्ने आवाज उठिरहेको छ । तर कुखुरापालक किसानले भने आफूले पालेका ठूला र साना कुखुराको मूल्यमा पनि अन्तर गरेको पाइएको छ । यसबारे यहाँको भनाइ के छ ?
निकै सान्दर्भिक प्रश्न गर्नुभयो । निकै लामो समयदेखि यो विषयमा आवाज उठाउनुपर्छ भन्ने व्यक्ति हुँ म । यसलाई उठान गरिदिनुभएकोमा सुरुमा त धन्यवाद व्यक्त गर्न चाहन्छु । हेर्नुस्, पोल्ट्री उद्योगमा अहिले धेरै चुनौतीहरू छन् । खासगरी, यसको बजार व्यवस्थापनमा समस्या देखिएका छन् । बजार प्रणाली निकै अव्यवस्थित छ । जसको मारमा किसानलगायतका वर्ग परिरहेका छन् । मैले विगतदेखि भन्दै आइरहेको छु कि जबसम्म किसान सुरक्षित हुँदैनन् अर्थात् उनीहरूको व्यवसाय फस्टाउँदैन तबसम्म यो उद्योगले स्थायित्व ग्रहण गर्दैन । किसान र यसमा आबद्ध सबैसबैको हितका लागि बजार प्रणालीलाई सुव्यवस्थित गरेर अगाडि बढ्न अपरिहार्य छ ।
तपाईं पोल्ट्री विशेषज्ञ हुनुहुन्छ । खासमा कुखुराका उपभोक्ताले कुन साइजका कुखुरा उपभोग गर्दा स्वास्थ्यका हिसाबले लाभदायक होला ?
हरेक देशका आ–आफ्नै अभ्यास र रुचि हुन्छन् । कुनै देशमा ठूला कुखुरा रुचाइएका छन् । यसमा आफ्नो देशको परिवेश हेरेर कुरा गर्नुपर्छजस्तो मलाई लाग्छ । स्वदेशी उद्योग जोगाउन के गर्दा उपयुक्त हुन्छ ? यो महत्त्वपूर्ण हुन्छ ।
तैपनि, कुन साइजका कुखुरा उपभोग गर्दा बढी फाइदा हुन्छ ?
हाम्रो परिवेश र स्वस्थताका हिसाबले हेर्ने हो भने डेढदेखि दुई किलोका कुखुरा उपभोग गर्नु उपयुक्त हुन्छ । यो साइजका कुखुराको मासु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । किनभने, यस्ता कुखुरामा निकै कम मात्रामा औषधि प्रयोग गरिएको हुन्छ । यति मात्र होइन, यो साइजका कुखुराको उपभोगले पोल्ट्री उद्योगलाई पनि उत्तिकै सहयोग पुग्छ ।
ठूलो कुखुरा र सानो कुखुरा खाँदा स्वास्थ्यका हिसाबले के फाइदा हुन्छ र के बेफाइदा हुन्छ ? अलि प्रष्ट पारिदिनुहोस् न ?
अहिले बजारमा ठूला आकारका कुखुराको बिक्रीवितरण भइरहेको छ । ब्रोइलर कुखुरापालक किसानले डेढ÷दुई महिना कुखुरा राख्दा वर्षको ५÷६ लटसम्म बिक्री गरेको पाइन्छ । तैपनि, अव्यवस्थित बजार प्रणालीका कारण उहाँहरूले फाइदा लिन सक्नुभएको छैन ।
यदि साना कुखुरा बिक्री गर्ने यो प्रणाली लागू भयो भने उहाँहरूले वर्षको ८ लटसम्म कुखुरा पालन गर्न सक्नुहुन्छ । धेरै कुखुरा पालेपछि स्वाभाविक रूपमा धेरै दाना खपत हुन्छ । यसले दाना उद्योगीलाई पनि फाइदा हुन्छ । नेपालमा समग्रमा ब्रोइलर कुखुराको मृत्युदर १० देखि १५ प्रतिशतभन्दा बढी देखिएको छ । सबैतिर सर्भे गर्ने हो भने, कुखुरा हुर्काउँदाको चरण र वजन डेढ किलो पार गरेपछिको अवस्थामा मृत्युदर बढी देखिन्छ । यो दर भारतमा ३ देखि ५ र अमेरिकामा ४÷५ प्रतिशतको हाराहारीमा छ । तर हाम्रोमा दाना खाइसकेका, बिक्री गर्ने समय भएका कुखुरा मर्छन । डेढ किलो भइसकेका कुखुरा बिक्री गर्नु राम्रो हुन्छ । किनभने, यतिबेला कुखुरा जति वृद्धि हुनुपर्ने हो, त्यति भइसकेको हुन्छ ।
कुखुरा धेरै पालेर बढी मासु दिने हुँदैन । तर यसको हिसाब किसानले राख्नु भएको हुँदैन । यो लेखाजोखा नगरी कुखुराको वजन वृद्धि गर्न खोज्दा त्यसलाई थेग्न सक्दैन र मर्नेसम्म हुन्छ । यसले एकातिर दानालगायतमा भएको खर्चमा नोक्सान भइरहेको छ भने मासुका लागि बिक्री गरेर मुनाफा गर्नुपर्ने मौकासमेत गुमिरहेको छ । त्यसैले ब्रोइलर कुखुराको सन्दर्भमा लामो समय पालन गर्नुभन्दा डेढ किलो भएपछि बिक्री गर्नु उपयुक्त हुन्छ । तर, ठूला कुखुरा मानव स्वास्थ्यका लागि पनि फाइदाजनक हुँदैनन् । किनभने, यस्ता कुखुरामा कुनै संक्रमण देखिएको अवस्थामा चिकित्सकले अलि बढी एन्टिबायोटिक्सलगायत औषधि प्रयोग गरेका हुन्छन् ।
तपाईंले भन्नुभयो कि कुखुराको मृत्युदर हुर्काउँदा र वजन डेढ किलोभन्दा माथि पुगेपछि बढी छ । यस्तो अवस्था हुँदाहुँदै नेपालमा कुखुरा ठूलो बनाएर पाल्ने गरेको पाइन्छ । यसको कारण के होला ?
एक दशकअघिसम्म नेपालमा यान्त्रीकीकरण संयन्त्र विकास भइसकेको थिएन । मासु उत्पादन गर्ने किसानदेखि त्यसको बिक्रीवितरण गर्ने व्यापारीसम्म ठूलो कुखुरा बनायो भने मासु धेरै हुनुका साथै फाइदा हुने र बजारको माग पनि धान्न सकिन्छ भन्ने परिवेश थियो । तर अहिलेको समय फरक छ । समग्र पोल्ट्री उद्योग आधुनीकीकरणमा गइसकेको छ । पानी तताएर भुत्लाउनुपर्ने अवस्थाको अन्त्य भइसकेको छ ।
अब एक÷दुई दशकअघि फर्किऔं । त्यतिबेला सामान्य लेयर्स कुखुरा पाल्नेहरूले अहिले ठूलो उद्योग बनाइसकेका छन् । सामान्य फिड उद्योग खोल्नेहरू पेलेट उद्योगका मालिक बनिसकेका छन् । तर किसानतर्फ हेर्ने हो भने ५००÷१००० कुखुरापालन गर्नेले ५ हजार कुखुरा पालेको पनि निकै कम भेटिन्छ । भन्नुको मतलब किसान अगाडि आएका छैनन् । हामी आत्मनिर्भर उद्योग भनिरहेका हुन्छौं तर जो अगाडि आउनुपर्ने हो, जसको प्रगति हुनुपर्ने हो, समग्रमा त्यस्तो भइरहेको छैन । कतिपय अवस्थामा बीचको मार्जिन असाध्यै बढी लिएको अवस्था छ । त्यसलाई न्यूनीकरण गरेर किसानलाई जोगाउनु पर्छ ।
एन्टिबायोटिक्सलगायत अन्य औषधि कम प्रयोग भएको डेढदेखि दुई किलोको कुखुरा बजारीकरण भयो भने किसान पनि सस्टेनयबल हुन्छन, किसान बाँचे भने उद्योग रहन्छ । किनभने, किसानले कुखुरा पालिदिएनन् भने उद्योग रहँदैन । केही दिनअघि कुखुराको हाहाकार भयो, किसानले नराखिदिँदा ।
हरेक उद्योगका आ–आफ्नै पीडा हुन्छन् । किसानका पनि छन् । ह्याचरी उद्योगले २०–३० रूपैयाँमा चल्ला बिक्री गरे पनि किसानले ५० रूपैयाँ तिर्नुपर्ने अवस्था आयो । दाना पनि उत्तिकै महँगो छ । तथापि, बजार प्रणाली अस्तव्यस्त छ । फलतः किसान अगाडि आउन सकेका छैनन् । त्यसैले बजार प्रणालीमा आमूल सुधार गर्नु वाञ्छनीय हुन्छ ।
फेरि पनि कुखुरा कस्तो उपभोग गर्दा ठीक हुन्छ भन्नेमा नै फर्कौं । आमउपभोक्तामा ठूला कुखुरामा प्रोटिन बढी हुन्छ भन्ने मान्यता पाइन्छ । डेढ किलोको कुखुरा उपभोग गर्दा पनि प्रोटिन त पुग्छ होला नि ?
पोषण तत्व प्राप्त गर्न ठूला–ठूला कुखुरा नै खानुपर्छ भन्ने छैन । डेढ किलोको कुखुरा उपभोग गर्दा प्रशस्त मात्रामा प्रोटिनहरू पाइन्छ । साना कुखुरामा अधिकांश हड्डी खान सकिन्छ भने ठूलामा सकिन्न । मेरो अध्ययन, बाहिरको रिसर्च र आलेख हेर्नुहुन्छ भने डेढ किलोको कुखुराको मासु खानु अति उपयुक्त हुन्छ ।
कुखुराको मासु उपभोग गर्ने विदेशी प्रचलनचाहिँ कस्तो छ ?
मैले अघि नै भनेँ नि हरेक देशका अलग–अलग बजार प्रणाली हुन्छ । कुनैमा एउटा हुन्छ भने कुनैमा अर्को । अर्जेन्टिनाको हेर्नुभयो भने त्यहाँ अढाइ किलोसम्मका कुखुरा रुचाइन्छ । अमेरिका र हाम्रा छिमेकी मुलुकमा डेढ किलो आसपास छ । हेर्नुस्, हाम्रो देशमा व्यवस्थित कुखुरापालन छैन । फेरि पनि दोहो¥याउ, जबरजस्ती कुखुरा ठूलो बनाएर किसानलाई फाइदा हुँदैन । उल्टै कुखुरा मर्ने समस्या हुन्छ । किसानले भन्ने गर्नुहुन्छ कि यस पटक १० प्रतिशत मात्र कुखुरा म¥यो । यो निकै कारुणिक अवस्था हो ।
सबै क्षेत्रको आ–आफ्ना सामाजिक उत्तरदायित्व हुन्छ । तर कुखुराको क्षेत्रमा यो अलिक कम भएको पाइन्छ । ह्याचरी उद्योगले सस्तोमा बिक्री गरेको चल्ला किसानले त्यही मूल्यमा पाउनुपर्ने थियो । तर अवस्था त्यस्तो छैन । ह्याचरी उद्योगले २० रूपैयाँमा बिक्री गरेको चल्ला किसानले ५० रूपैयाँमा खरिद गर्नुपर्ने बाध्यता छ ।
तपाईंले आज उठान गरेको मूल प्रश्न बजारीकरण र कति वजनको कुखुरा उपभोगका लागि उपयुक्त हुन्छ भन्ने हो । २८ दिनमा डेढ किलोको कुखुरा उत्पादन गरेर बजारीकरण गर्नु उपयुक्त हुन्छ । डेढ किलोको कुखुरामा कुनै पनि पोषण तत्व कम नहुने म तपाईंमार्फत तमाम् उपभोक्तामार्फत प्रवाह होस् भन्ने चाहन्छु । यसबाट किसानलाई पनि फाइदा हुन्छ । उनीहरूले यसरी कुखुरा पाल्दा वर्षमा दुई लट बढी उत्पादन लिन सक्छन् ।
निकै राम्रो विषय यहाँले उठान गर्नुभयो । तपाईं स्वयं पनि राज्यको एक निकायको जिम्मेवार भूमिकामा हुनुहन्छ । यसबारे सचेतना अभिवृद्धि गर्ने कुनै कार्यक्रम पनि सञ्चालन गर्दै हुनुहुन्छ कि ?
एक स्वास्थ्य अवधारणा अघि बढाइरहेका छौं । एन्टिबायोटिक्सलगायत औषधि प्रयोग नभएको कुखुराको मासुको बजारीकरण फाइदाजनक हुन्छ । तत्काल हामी यसमा जान नसकौंला तर बजार प्रणाली सुधार ग¥यौं भने सान्दर्भिक हुन्छ । पशुपन्छीपालन ऐन, २०६८ मा निर्देशन समिति छ । पोल्ट्री क्षेत्रमा पशुपन्छीपालन महासंघ, ह्याचरी संघ, दाना संघलगायत विभिन्न संघ–संस्था छन् । संघको दायित्व यस्ता कुरा लागू गर्न सरकारसँगै बसेर काम गर्नु हो । यो कुरा हामीले पटक–पटक भनेका छौं । त्यसैले उहाँहरूमा यो भावना जागृत हुनुपर्छ । पन्छीपालन निर्देशिका समितिको व्यवस्था छ त्यसलाई तत्काल गठन गरेर चिन्तन गर्नुपर्छ ।