भारतबाट पोल्ट्रीजन्य उत्पादनको अवैध आयात रोक्न माग गर्दै व्यवसायीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौँ । भारतबाट अवैध रुपमा कुखुरा, चल्ला, कुखुराको अण्डा, जिउँदो कुखुरा तथा तयारी मासु आयात हुने क्रम नरोकिएको र झन् बढेको भन्दै त्यसलाई रोक्न आग्रह गर्दै व्यवसायीले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेल, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर मंगलबार खुला सीमाका कारण भइरहेको अवैध आयातबारे जानकारी गराएका हुन् ।
भारतीय पोल्ट्रीजन्य उत्पादनको अवैध आयातले नेपालका पोल्ट्री व्यवसायी धराशयी हुँदै गएको भन्दै उनीहरुले त्यसलाई रोक्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ महिना उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका रवि लामिछाने पदमा बहाल रहँदा भारतबाट नेपालतर्फ हुने पोल्ट्रीजन्य अवैध आयात धेरै हदसम्म कम भएको थियो । तर, लामिछाने पदमुक्त भएसँगै यो समस्या पुनः बढेको व्यवसायीले बताएका छन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली पोल्ट्री उद्योगले भोगिरहेको यो समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।