एग्रिटेक एक्सपोले नेपालको समग्र कृषि क्षेत्रको विकासमा सहयोग पुर्याउँछ

विगत ५ वर्षदेखि नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो आयोजना गर्दै आएको मिडिया स्पेश सोलुशन प्रालिका म्यानेजिङ डाइरेक्टर सृजल भट्टराई संग यस पटकको एक्सपोले नेपाल र नेपालको कृषि क्षेत्रलाई हुने फाईदा र यसको सहभागीता लगाएको विषयमा भेट टाइम्सले गरेको कुराकानी :
नेपालको समग्र कृषि क्षेत्रको विकासका लागि यहाँहरुले विगत ५ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको नेपाल एग्रिटेक एक्सपो आयोजना गर्दैै आउनु भएको छ । उद्देश्यमा यो एक्सपो कत्तिको सफल भएको जस्तो यहाँलाई लाग्छ ?
विगत ५ वर्षदेखि हामीले नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो आयोजना गर्दै आएका छौँ । यो एक्सपोको मुख्य उदेश्य भनेकै नेपालको समग्र कृषि क्षेत्रको विकास र विस्तारमा सहयोग पुर्याउँनु नै हो । यो मेलाको आयोजनामा नेपालका विषयगत विभिन्न सरकारी निकायहरु, विभिन्न संघ संस्था सबैलाई सामेल गर्ने गरेका छौँ । यसले गर्दा नेपालमा उत्पादन हुने कृषि सामग्री तथा कृषि वस्तुको बजारीकरण, आधुनिकीकरणमा योगदान पुगिरहेको छ । यसका लागि हामीले सामान्जस्य त गरेका छौँ नै । त्यति मात्रै नभएर यहाँ उत्पादन हुने सामानलई नयाँ बजार कसरी दिलाउन सकिन्छ भनेर ध्यान दिएका छन् ।
कृषि औजार, प्रोसेसिङ प्रविधि र सामग्रीलगायत अनेक सामग्री तथा प्रविध हामीले विश्वका विभिन्न देशबाट ल्याएर प्रदर्शनीमा राखिरहेका छौँ । यी कम्पनीका औजार, प्रविधि तथा सामग्रीले नेपाली कृषि उद्योगी, व्यवसायी र किसानलाई ठूलो सहयोग पुगिरहेको छ । थुप्रै संघसंस्थाले पनि एग्रिटेक चाहिँ प्रभावकारी भएको बताइरहनु भएको छ । यो ५ वर्षमा हामीले कमसेकम यो क्षेत्रसँग सम्बन्धीत सबैमाझ एग्रिटेक एक्सपोलाई चिनाउन सफल भएका छौँ ।
अधिकांश विदेशी कम्पनीले उत्पादन गरेका कृषि औजार, प्रविधि र कृषि सामाग्रीलाई मात्रै यो मेलामा बढी प्राथमिकता दिएको देखिन्छ । सबै आयातित समानको नेपालमा प्रवद्र्धन गरेर यसले अर्थतन्त्रलाई फाइदा कसरी दिन सक्ला र ?
यसमा दुई ओटा विषय छन् । खास गरी कृषि औजार, उच्चस्तरीय कृषि प्रविधि तथा सामग्रीको उत्पादन नेपालमा असाध्यै कम छ । विदेशमा उत्पादन हुने औजार, यन्त्र, प्रविधि र सामग्रीको डिलरसीप मात्रै नेपाली व्यवसायीहरुसँग छ । त्यसो हुँदा यो एक्सपोमा नेपाली उत्पादकले उत्पादन गरेको कृषि औजार, प्रविधि तथा सामग्री कमै मात्रामा देखिएको हो ।
अर्कोकुरा, विश्व बजारका लागि उच्च स्तरको प्रविधि पु¥याइरहेका, विश्वस्तरीय सामग्री उत्पादन गरिरहेका कम्पनीहरुको उत्पादनलाई यो प्रदर्शनमा समावेश गर्न सकियो भने कमसे कम त्यस्ता सामग्री तथा प्रविधिको उत्पादन गर्न भविष्यमा नेपालमै पनि कम्पनी स्थापनाका लागि आवश्यक जानकारी लिन सहज हुन्छ । त्यस्तै, नेपाली कृषि उद्यमी, व्यवसायी तथा किसानले उत्पादक कम्पनीका प्रतिनिधिसँग सिधै सम्पर्क गर्न सक्ने, उत्पादन तथा प्रविधिको काम, गुणस्तर र मूल्यबारे जानकारी लिन सक्ने अवसर पनि पाउनु हुन्छ । त्यस्ता औजार, सामग्री तथा प्रविधि झिकाएर कृषि उत्पादनमा उच्च लाभ लिन सक्नु हुन्छ । त्यसो हुँदा यस एक्सपोका बहुआयामिक लाभ हामीले देख्न सक्छौँ ।

एग्रिटेक एक्सपो त भन्नु भएको छ । तर, यो एक्सपोमा फुड एन्ड बेभरेज, डेरी, पोल्ट्री जस्ता फरक फरक विधाका एक्सपो पनि सञ्चालन गर्ने जनाउनु भएको छ । यस्ता बिधाहरु किन छुट्याउनु भएको हो ?
यो एक्सपो मुख्य तया एग्रिटेक नै हो । अर्थात् कृषि प्रविधि मुख्य प्रदर्शनी हो । तर, कृषि प्रविधिभित्रै हामीले विभिन्न विधामा प्रदर्शनीलाई विभाजन गरेका छौँ ।

फुड एन्ड बेभरेज, डेरी, पोल्ट्री जस्ता विभिन्न विधा पनि कृषि क्षेत्रसँगै सम्बन्धित भएकोले यी विधाअन्तर्गत सम्बन्धित विधाका फरक प्रविधि, औजार तथा सामग्रीको प्रदर्शन हुने गरेको छ । फुड एन्ड डेरीअन्तर्गत नेपालमा सञ्चालमा रहेका खाद्य उद्योगहरुलाई आवश्यक प्याकेजिङ, प्रसेसिङका लागि आवश्यक सामग्री तथा प्रविधि, डेरीसँग सम्बन्धीत मिल्किङ प्रसेसिङ तथा प्याकेजिङ सामग्री तथा प्रविधिहरु, तरकारी भण्डारणका लागि आवश्यक कोल्डरुमसम्बन्धी प्रविधि र सामग्री यी सबै विषयगत विधामा हामीले राखेका हौँ ।
विगतमा आयोजना हुँदै आएको एग्रिटेक एक्सपो र यसपाली आयोजना हुने यो एक्सपोमा तल्ला तहमा रहेका आम किसानको सहाभागिता कस्तो भएको र हुने देख्नु हुन्छ ?
किसानहरुलाई यो एक्सपोमा सहभागी गराएर फाइदा दिलाउन हामीले विभिन्न संघ संस्था तथा निकायको सहयोग लिएका छौँ ।
जस्तो कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहेका कृषि जोन, सुपर जोन र ब्लकहरुमा चलिरहेका विषयगत उत्पादनमा सहभागी किसानलाई ल्याएर यो एक्सपोको अवलोकन भ्रमण गराउने गर्नु भएको छ । त्यस्तै, नेपाल नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका महासंघ नेतृत्वमा स्थानीय क्षेत्रका उत्कृष्ठ किसानसहित सकेसम्म सबैलाई यो एक्सपोको भ्रमण गराउनु हुनेछ । त्यस्तै, नेपाल कृषक समूह महासंघ, कृषि सहकारी केन्द्रीय संघलगायतको नेतृत्वमा पनि किसानहरुले यो प्रदर्शनीको भ्रमण गर्नुहुन्छ । त्यसो हुँदा यो प्रदर्शनी किसानकै लागि हो र देशभरिबाट उहाँहरुको सहभागिता उल्लेख्य रहँदै आएको छ । यो वर्ष पनि उल्लेख्य नै रहने छ ।
खास गरी नेपालमा एक्सपो वा प्रदर्शनीको नाम दिने तथा मुख्य रुपमा व्यापार गर्ने उद्देश्य राखिएको देखिन्छ । यहाँहरुको उद्देश्य त्यस्तै हो ?
यो प्रदर्शनीमा व्यापार हुँदै हुँदैन भन्न पनि मिल्दैन । तर, यहाँ व्यापार त्यति धेरै हुँदैन । यो एक्सपो खास गरी कृषिसम्बन्धी औजार, यन्त्र, साधन, प्रविधि र साग्रीको बारेमा बुझ्ने, गुणस्तर, मूल्य, ग्यारेन्टी, वारेन्टी, सर्भिसिङ र उपलब्धता कसरी हुन्छ भन्ने विषयमा बुझ्ने थलो हो ।
साथै त्यस्तै सामग्री उत्पादक कम्पनीका प्रतिधिनिसँगै सिधै सम्पर्क गर्ने, डिल गर्ने अवसर प्रदान गर्ने हो । त्यसकारण यो मेलामा व्यापार भन्दा कृषि क्षेत्रका उत्पादक र कृषि क्षेत्रका सामग्रीको प्रयोगकर्ता किसानबीच सम्पर्क गर्ने थलोको रुपमा विकास गरेका छौँ ।
सरकारी निकायको सहयोग चाहिँ कत्तिको पाउनु भएको यो एक्सपो आयोजनाका लागि ?
कृषि मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, राष्ट्रिय दुग्ध विकास बोर्ड, कृषि विभाग, पशु सेवा विभाग जस्ता सरकारी निकायले हामीलाई किसानहरुलाई एक्सपो भ्रमण गराउन सहयोग गर्नु भएको छ । उहाँहरुको आर्थिक सहयोग चाहिँ यसमा छैन ।
एक्सपो आयोजनाका लागि ठूलो रकम लगानी हुने देखिन्छ । त्यो रकमको जोहो चाहिँ कसरी गर्नु भएको छ ?
अन्तराष्ट्रिय प्रदर्शनी आयोजना गर्दा हामीले कार्पेटदेखि स्टलमा लाग्ने सबै सामान हामीले नयाँ र राम्रा राख्नुपर्ने अवस्था छ ।कतिपय सामान चितवनमा पनि उपलब्ध नहुँदा काठमाडौँबाटै पनि ल्याउनु पर्ने हुन्छ । त्यस्ता ढुवानीलगायत सबै खर्च जोड्दा यो मेला आयोजनाको खर्च ठूलो हुने हो । त्यसो हुँदा यो प्रदर्शनीमा सहभागी हुने अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरुसँग नै स्टल शुल्क लिने गरेका छौँ । विदेशी कम्प्नीसँग प्रतिस्टल ८०÷९० हजार रुपैयाँ पनि शुल्क लाग्ने गरेको छ ।
तर, नेपाली कम्पनीको हकमा २५ प्रतिशतसम्म छुट दिएका छौँ । त्यस्तै, नेपालका कृषि अध्ययन हुने विभिन्न क्याम्पसका विद्यार्थीहरुले उत्पादन गरेका सामग्रीको प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराएका छौँ । आधुनिकीरकण परियोजना जस्ता कम्पनीलाई स्टल निःशुल्क पनि दिने गरेका छौँ ।
धेरैजसो प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा हुने गरेको छ । तर, यो एग्रिटेक एक्सपो आयोजना गर्नका लागि किसन चितवन एक्सपो सेन्टरलाई नै रोज्नु भयो ?
यो एक्सपो सुरुका दुई वर्ष हामीले काठमाडौँको भृकुटीमण्डमै आयोजना गरेका थियौँ । तर, त्यसपछि तेस्रो संस्करणदेखि हामीले चितवन एक्सपो सेन्टरमा गर्न थाल्यौँ ।
यसका २÷३ मुख्य कारण छन् । पूर्वदेखि पश्चिमसम्मका मासिनलाई चितवन आउने सडक पहुँच सहज छ । एक्सपो आएर अवलोकन गरेर घरै पुग्न सक्नुहुन्छ । त्यस्तै, अन्तर्राष्ट्रिय प्रर्दशनीका लागि चितवनमा अन्तर्राष्ट्रिय स्तरको एक्सपो सेन्टर पनि तयार भइसकेकोले यहाँ अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि सहज हुन्छ ।
त्यस्तै चितवन कृषिको हब जिल्ला पनि हो । अर्को कुरा मुख्य कृषि उत्पादन हुने तराईका २२ जिल्लाका कृषिसँग सम्बन्धित आम किसान, व्यवसायी, उद्योगी तथा सरकारी निकायका व्यक्तिलाई पनि चितवन आउन सजिलो हुने देखिन्छ । त्यसो हुँदा हामीले यो एक्सपो चितवनमा आयोजना गर्न थालेका हौँ ।
एक्सपो आयोजनाको पूर्वसन्ध्यामा आम कृषक, व्यसायी तथा उद्योगीलाई के आह्वान गर्न चाहनुहुन्छ ?
उहाँहरु सबैलाई वा आम नेपालीलाई हाम्रो एउटै आग्रह वा आह्वान छ– यो एक्सपो कम्तीमा पनि भ्रमण गरिदिनुहोस् । यो एक्सपो भ्रमण गर्नासाथ यसले धेरै विषयमा तपाइँलाई आगामी भविष्य निर्देश गर्न सक्छ । नेपालमै कृषि औजार, साधान, सामग्री र प्रविधि उत्पादन गर्ने उद्योग तथा कम्पनी स्थापना होस् । यहीँका मानिसले रोजगारी पाउन् । यहाँकै कृषि उत्पादन उच्च बनोस् भन्ने नै हाम्रो उद्देश्य हो । त्यसका लागि के चाहिन्छ । नेपालको कृषि क्षेत्रमा हामीले अहिलेसम्म के गर्न सकेनौँ । र अब के गर्नुपर्छ भन्ने विषय यो एक्सपो भ्रमण गरेपछि आत्मबोध हुन सक्छ । त्यसो हुँदा यो महत्वपूर्ण अवसर नगुमाई एक्सपो भ्रमण गरिदिनुहोला भन्न चाहन्छौँ ।