बर्डफ्लू प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले बर्डफ्लू प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन सरकारसमक्ष माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले बैंकको ऋणले बर्डफ्लू प्रभावित किसान समस्यामा परेको उल्लेख गर्दै तत्काल क्षतिपूर्ति दिन आग्रह गरे ।

‘किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर दिँदैन,’ उनले भने, ‘सरकारले कृषकलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याई छ । तर बैंकले कृषकलाई समाउँछ । बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ?’

कुनै अप्रिय निर्णयपछि मात्र कदम चाल्ने सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै उनले अगाडि थपे– कसैले अप्रिय निर्णय लिएपछि आँसु झार्दै छानबिन गर्न समिति बनाउने हो ?’

केही समयदेखि बर्डफ्लू महामारीका रूपमा देशभर फैलिएको छ । यसको संक्रमणले किसानका लाखौं कुखुरा मरे पनि किसानले सरकारबाट कुनै क्षतिपूर्ति पाएका छन् ।