राष्ट्रिय बाख्रा दिवस आज मनाइँदै

काठमाडौं । बुधबार देशभर दोस्रो राष्ट्रिय बाख्रापालक दिवस मनाइँदैछ ।
नेपाल व्यावसायिक बाख्रापालक महासंघले आफ्नो संस्था स्थापना भएको दिन माघ ४ लाई गत वर्षदेखि राष्ट्रिय बाख्रा दिवसका रूपमा मनाउन थालेको छ । त्यसैलाई निरन्तरता दिँदै आज दोस्रो बाख्रा दिवस मनाउन लागिएको हो ।
नेपालमा बाख्रापालनको अथाह सम्भावना रहेको बताइन्छ । तर यसमा किसानलाई प्रोत्साहन गर्नेदेखि बजारीकरणसम्मका समस्या रहेका छन् ।
महासंघले निरन्तर व्यावासायिक बाख्रापालक किसानका सरोकार र हक–हितका साझा विषय निरन्तर उठाउँदै आएको छ ।
दिवसका अवसरमा एक सन्देश जारी गर्दै महासंघका अध्यक्ष प्रेमसागर पौडेलले सबै बाख्रापालक किसानमा शुभकामना व्यक्त गरेका छन् ।
बाख्रा मानव जातिको उत्पत्ति र विकास सँगसँगै मानिसको साथमा रहँदै आएके बहुउपयोगी, प्रिय र पहिलो जनावर भएको उल्लेख गर्दै उनले अहिले पनि नेपालको भूवनोट, हावापानी, आवश्यकता र सम्भावना जस्ता सबैपक्षलाई राम्रोसँग आत्मसाथ गर्ने हो भने नेपाल र नेपालीको समृद्धिको पहिलो विकल्प बाख्रा पालन भएको उल्लेख गरेका छन् । यो सच्याइ र सम्भावनालाई ठीक ढंगले आत्मसाथ गरी पशुका आधारभूत ६ अधिकार प्रत्याभूत गरिदिन पनि उनले सरकारसँग जोडदार माग गरेका छन् ।

बाख्रापालक किसानले जायज माग राखे पनि सरकारले बेवास्ता गरेको उनको गुनासो छ । ‘नेपाल व्यावसायिक बाख्रापालक महासंघले विभिन्न तहका सरकारसँग पटक–पटक समस्या र समाधानका विकल्पसहितको मागपत्र राख्दै आएको छ । त्यसलाई अविलम्व पूरा गर्न पुनः जोडदार माग गर्दछौं,’ पौडेलले भनेका छन् ।
गत वर्षदेखि अस्वाभाविक ढंगले भारतीय बाख्राको आयात बढेको र यसले गर्दा नेपाली किसानले उचित मूल्य र बजार दुवै नपाएकाले किसानहरू पलायन भएको उनको भनाइ छ । व्यावसायिक बाख्रापालन संकटग्रस्त अवस्थामा पुगेकाले यसलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरी आहार र स्वास्थ्यका लागि तत्कालै पर्याप्त राहतको व्यवस्था गर्न उनले सरकारसमक्ष माग गरेका छन् ।