काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ अनुसार स्थापना भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले सरकारबाट भवन प्राप्त गरेको छ ।
त्रिपुरेश्वरको भेटेरिनरी कम्प्लेक्समा रहेको पशुपन्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाबाट सञ्चालनमा रहेको परिषद्लाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हरिहर भवनस्थित पशु सेवा विभागको परिसरमा रहेको साविकको पशु सेवा तालिम तथा प्रसारण निर्देशनालयको दोस्रो भवन उपलब्ध गराएको हो ।
कृषि मन्त्रालयका शाखा अधिकृत गणेशबहादुर कट्वालले गत बुधबारको सचिवस्तरीय निर्णयबाट उक्त भवन परिषद्लाई प्रयोग गर्न अनुमति दिइएको जनाएका छन् ।
त्यसैगरी, अहिले परिषद् स्थापित भवनको भवनको भुइँ, पहिलो र दोस्रो तल्ला प्रयोग गर्न दिन पनि मन्त्रालयले पत्राचार गरेको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी ऐन, २०७९ बमोजिम हालै मात्र परिषद् स्थापना भएको हो । परिषद्ले पशु स्वास्थ्य प्राविधिकलाई व्यवस्थित र मर्यादित गरी पशुपन्छी क्षेत्रको विकासमा योगदान दिने मूल लक्ष्य राखेको छ । यसअघि पशुपन्छी चिकित्सकलाई समेट्ने गरी पशु चिकित्सा परिषद् गठन भए पनि पशुपन्छी प्राविधिकलाई समेट्न कुनै संगठन खडा भएको थिएन । यही आवश्यकताबोध गर्दै अघि बढेको ऐन चर्को विवादबीच गत प्रतिनिधिसभाको अन्तिम बैठकबाट पारित भई राष्ट्रपतिमा पुगेर जारी भएको थियो ।