काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा माघ ७ गते शनिबार ‘राइट टु प्रोटिन रन’ शीर्षकमा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । गत वर्ष दशरथ रंगशालामा आयोजना गरिएको ‘रन फर प्रोटिन’ शीर्षकमा भएको हाफ म्याराथन प्रतियोगिताकै दोस्रो संस्करणका रुपमा यो वर्षपनि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बताए ।
मानव जीवमा प्रोटिनको महत्वलाई उजागर गर्ने, प्रोटिनमाथिको अधिकारबारे जनचेतना जगाउने र प्रोटिनजन्य पदार्थमाथि आम मानिसको पहुँच बढाउने उद्देश्यसहित उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
उनका अनुसार विभिन्न विधामा आयोजना हुने यो प्रतियोगिता माघ ७ गते बिहान ७ बजे दशरथ रंगशालाबाट सुरु भई रंगशालामै यो दौडको अन्त्य हुने छ । गत वर्ष २१ सय सहभागी भएको दौड प्रतियोगीहरु सहभागी भएकोमा यो वर्ष कम्तीमा ३ हजारभन्दा बढी प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार नेपाल एथलेटिक्स एशोसिएशनले उक्त दौड प्रतियोगितालाई मान्यता प्रदान गरेको छ ।
प्रतियोगिताको सहप्रायोजन युसेस र युएससोयले गर्ने भएका छन् । पशुपन्छीको दाना उत्पादन गर्ने दाना उद्योगीहरु संघ र दाना उद्योगहरुले यो प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने उनले बताए ।