काठमाडौ । गाउँलाई धेरै कुराबाट अलग गर्न सकिएला तर खेती किसानीबाट पृथक पार्न सकिँदैन । खेती किसानीमा रमाएको गाउँका हरेक घरमा गोठ हुन्छन् र त्यहाँभित्र मुस्काएका पशुपन्छी ।
सहरको कुराचाहिँ अलि फरक छ । पहिले यहाँ पनि फाँटहरू थिए र कृषि कर्म हुन्थे । गोठमा गाई भैंसी पनि बाँधिन्थे । तर सहरका लागि त्यो बिरानो बनेको वर्षौं भइसकेको छ । अतिक्रमणमा परेका कृषियोग्य भूमिमा अहिले कंक्रिटका पहाडको रजगज छ । मानिसको घना आवादि रहेको सहरमा पशुपालन नभएकाले यहाँका मानिसको यसप्रतिको लगाव गाउँको तुलनामा अलि ज्यादा छ, जुन अस्वाभाविक होइन । किनभने, आफूसँग जे उपलब्ध हुँदैन, त्यसको रिक्तता मानिसलाई महसुस हुन्छ । काठमाडौंको मुटु नक्सालमा जन्मिएकाले होला, पारस कपाली सानैदेखि कुकुर, बिरालोलगायतका जनावर भनेपछि हुरुक्कै हुन्थे । तिनैसँग खेल्थे, रमाउँथे । अलि ठूलो भएपछि उनले घरमा कुकुर, खरायो, मुसादेखि माछासम्म पाल्न थाले । चित्त बुझेको खण्डमा उनी एउटा कुकुरलाई ५० हजार हाल्न पनि तयार हुन्थे । घरमा सोखका लागि पालेको कुकुरबाट समेत आम्दानी गरेको उनी बताउँछन् ।
सबै कुराले सुविधासम्पन्न सहरमा जन्मिएका कपालीले शिक्षादिक्षा राम्रै पाएका थिए । साइन्समा बायोलोजी उनको विषय थियो । चाहेको भए उनले दुनियाँले उम्दा करार गरेको पेसामा आफ्नो करिअर बनाउन सक्थे । कतिपयबाट यस्तै सुझाव पाएका पनि थिए । तर त्यतातिर उनको दिलचस्पी रहेन । सबै सम्भावनाको ढोकालाई नजरअन्दाज गरेर उनी केनल व्यवसायमा हाम्फाले ।
‘कुकुरको व्यावसायिक उत्पादन र बिक्री वितरणमा आउनेका अनेक उद्देश्य छन् । तर मचाहिँ सोखले नै यो पेसामा आएको हुँ,’ २३ वर्षदेखि व्यावसायिक कुकुरपालन र बिक्री वितरणमा लागेका कपालीले पुराना दिन सम्झिए ।
कपाली कुनै पनि पेसा व्यवसाय बाध्यता, परिबन्धनले भन्दा पनि सोखले गर्नुपर्ने बताउँछन् । रहर र रुचिअनुसार काम गरेको खण्डमा मात्र मानिस सफल हुने बुझाइ उनको छ ।
डाक्टर, इन्जिनियरजस्ता जनशक्तिलाई समाजले उच्च सम्मान दिने गरेको छ । त्यसैले हरेक अभिभावकको चाहना आफ्नो सन्तान डाक्टर, इन्जिनियर बनोस् भन्ने हुन्छ । राम्रो विद्यार्थीले यसबाहेकका क्षेत्र रोजेमा बिग्रिएकोदेखि बौलाएको सम्म भन्न भ्याउँछ समाज । तर पारसको परिवारले भने उनको रुचिमा कुनै तगारो हालेन । बरु साथ र सहयोग गरेको उनी सुनाउँछन् । ‘समाजको पछि लागियो भने अगाडि होइन, पछि परिन्छ,’ उनले कुराकानीको मेलोमा एक थान सुझाव घुसाइहाले, ‘त्यसैले समाजका कुराबाट विचलित नबनी अडिग भई आफ्नो यात्रामा लम्कनुपर्छ ।’
कपालीले व्यावसायिक रूपमा केनल क्लब सञ्चालन गर्नुपूर्व काठमाडौंमा सीमित मात्रामा कुकुरको व्यावसायिक उत्पादन तथा बिक्री हुने गथ्र्यो । कुकुर खरिददेखि उपचारसम्मका सेवा लिन सीमित विकल्प थिए । जसमा सुरेश शाह र राज लुइँटेलको केनल क्लब पर्थे । कपाली शाह र लुइँटेलको केनल क्लबमार्फत कुकुरपालनसम्बन्धी धेरै ज्ञान हासिल गरेको सुनाउँछन् ।
सुरुमा कपालीले कुकुर ब्रिडरको काम गरे । त्यसरी उत्पादन गरेका कुकुर उनी बजार पुर्याउँथे । केनल क्लबका साहुजीले सीमित रकम दिन्थे, सट्टामा उनी कुकुर छाडेर घर फर्कन्थे ।
कपालीले सुरुमा नक्सालमै कुकुर उत्पादनदेखि बिक्रीसम्मका काम गरे । तर ठाउँ साँघुरो हुँदै गयो । त्यसपछि उनी सीतापाइला सिफ्ट भए । यसरी कुकुर ब्रिडरका रूपमा काम गर्दागर्दै ग्राहक दिन प्रतिदिन बढ्दै थिए । तिनैमध्येका केही ग्राहकबाट आफ्नै पसल खोल्न सुझाव आयो । दुई दशकअघि खुलेको एब्स्ट्याक्ट पेट सप तिनै ग्राहकको सुझावको उपज भएको कपाली बताउँछन् । उनले यो केनल क्लब स्वयम्भूमा सुरु गरेका थिए । ५ वर्षदेखि भने उनी झम्सिखेललाई मुकाम बनाएर बसेका छन् । कपाली आफ्नो पेट सपमा कुकुर, बिरालो, खरायोलगायतका पेटको सबै खाले सेवा उपलब्ध रहेको बताउँछन् ।
यो व्यवसायमा अलि बढी दुःख रहेको कपाली बताउँछन् । उनका अनुसार, कहिलेकाहीँ कुकुरपालकहरूले निकै हतारिएर फोन गर्छन् । त्यस्तो बेला पस्किसकेको खानासमेत छाडेर हिँडेको कैयन् सम्झना उनीसँग छन् । ‘कहिलेकाहीँ कस्टमरले कुकुरका समस्या अलि जटिल रहेको भन्दै फोन गर्नुहुन्छ,’ उनले भने, ‘त्यसरी फोन आउँदा कहिलेकाहीँ पस्किएको खानासमेत छाडेर हिँड्नु परेको छ ।’
यो क्षेत्रको मैदान अढाइ दशकअघिसम्म खाली जस्तै थियो । एकाध केनल क्लबबाहेक थिएनन्, काठमाडौंमा । तर अहिले उपत्यकामा छ्याप्छ्याप्ती भइसकेका छन् । बजार बढेसँगै स्वाभाविक रूपमा प्रतिस्पर्धा बढेको छ । गुणस्तर कायम गरेर ग्राहकलाई सन्तुष्टि दिनुपर्ने चुनौती व्यवसायीमा थपिएको छ । तर कपाली यो क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा चुलिएको गुनासो गर्छन् । ‘यसको कुकुर राम्रो छैन भनेर बजार बिगार्दिने प्रवृत्ति व्यवसायीमा छ । यसले सिंगो पेसाको व्यावासायिकतामाथि नै प्रहार गरेको छ,’ कपालीले भने ।
यो क्षेत्रका व्यवसायीको व्यावसायिकतामा आँच आए पनि कुकुरपाल्ने संकृतिमा भने उत्साहजनक वृद्धि आएको छ, विगतको तुलनामा । कपाली यो बद्लावलाई आकाश जमिनको फरक भनेर तुलना गर्न चाहन्छन् । उनका अनुसार, पहिले पहिलो कुकुर पाल्न कन्भिन्स गर्नुपथ्र्यो । यसरी पाल्नुहोस् यसो गर्नुस भनेर सिकाउनु पथ्र्यो । तर अहिले मानिस जागरुक भइसकेका छन् । धेरैले कुकुरलाई परिवारको सदस्यजस्तै गरी माया गरेर पाल्न थालेका छन् । कुकुरको खानपानमा पनि उसैगरी ध्यान दिन थालिएको उनको अनुभव छ ।
कुनै समय यस्तो थियो कि कुकुर पनि विदेशबाट ल्याउनुपथ्र्यो । स्वदेशमा अलि अलि उत्पादन त हुन्थ्यो, नहुने होइन । तर बजारको मागको ठूलो हिस्सा विदेशबाट कुकुर आयात गरेर पुर्ताल गर्नुपर्ने बाध्यता थियो । तर अहिले स्वदेशमै राम्रा राम्रा कुकुर उत्पादन हुन थालेको कपाली सुनाउँछन् । क्रय शक्तिका हिसाबले नेपालमा सबै प्रकारका ग्राहक छन् । सस्तो र एभरेज मूल्यको कुकुर नेपालमा उत्पादन भइरहेको छ । बेस्ट क्वालिटी कुकुर भने अझै पनि विदेशबाट ल्याउने गरिएको छ ।
कपालीका अनुसार, विदेशमा केनल व्यवसायलाई निकै व्यवस्थित र मर्यादित बनाइएको छ । विभिन्न देशहरूले यो पेसाको नियमन गर्न अलग्गै निकाय नै खडा गरेका छन् । उनी नेपालमा पनि यस्तै निकाय खडा गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । गैरनाफामूलक केनल क्लब सञ्चालन गर्नुपर्ने अर्को सुझाव पनि उनको छ । यो व्यवसायमा धेरै काम गर्नुपर्ने भए पनि कतैबाट साथ सहयोग नमिलेको उनको अनुभव छ ।
‘यो व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न धेरै काम गर्नुपर्ने खाँचो छ,’ उनले एकै श्वासमा गुनासोको पोको फुकाए, ‘तर कतैबाट साथ सहयोग मिलेको छैन ।’
कपालीका अनुसार, अहिले देशभित्रको उत्पादनले कुकुरको माग धान्न सकेको छैन । त्यसैले युवा जनशक्तिलाई यसमा इन्गेज गराएर आर्थिक उपार्जनको स्रोत बनाउन सकिन्छ । त्यसका लागि ब्रिडर के हो भनेर नलेज दिन सकिए भविष्य उज्ज्वल रहेको उनको भनाइ छ । तर कपाली समर्पित भएर मात्र यो पेसामा आउन सुझाउँछन् । ‘पैसा छ भनेर यो पेसामा कोही आउन चाहनु भएको छ भने म नआउन सुझाव दिन चाहन्छु । माया गरेर आउन चाहनु हुन्छ भनेचाहिँ स्वागत छ,’ उनले भने ।
कुकुरपालन हचुवाका भरमा गर्न नहुने कपालीको सुझाव छ । उनका अनुसार सबैभन्दा पहिले पाल्न चाहेको कुकुर, क्षमतामा ख्याल गर्नुपर्छ । कुकुरलाई पर्याप्त समय दिनुपर्ने भएकाले सम्भव नभएकाले रहर गर्न हुँदैन । ‘कतिपयले पसलमा राम्रो लागेको भरमा कुकुर खरिद गर्नुहुन्छ,’ उनले भने, ‘आफ्नो घरको क्षेत्र, त्यसलाई समय दिन÷सक्ने नसक्ने निक्र्योल गरेर मात्र कुकुर पाल्नुपर्छ । अन्यथा सोखका लागि पाल्ने कुकुर घाँडो पनि हुनसक्छ ।