आचरणविपरीत काम गर्ने पशु चिकित्सक प्रधान र भण्डारी निलम्बित

काठमाडौं । नेपाल पशु चिकित्सा परिषद्ले पशु चिकित्सकको आचरणविपरीतका गतिविधि गर्ने दुई पशु चिकित्सकलाई निलम्बन गरेको छ ।

परिषद्को सोमबार बसेको बैठकले डा. रामप्रकाश प्रधान श्रेष्ठ र डा. रिकेश देव भण्डारीलाई दुई महिनाका लागि निलम्बन गरिएको हो । डा. प्रधान श्रेष्ठ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख हुन् । उनले काठमाडौंमा बसेर आफ्नो क्षेत्राधिकारभन्दा निकै परको हेटौंडामा भेटेरिनरी प्रमाणपत्र जारी गरेका थिए ।

निलम्बनमा परेका भण्डारी निजी क्षेत्रका चिकित्सक हुन् ।उनले बागबजारमा बसेर अनधिकृत ढंगले भेटेरिनरी प्रमाणपत्र लिलाम बिक्री गर्दै आएका छन् । यी दुवै चिकित्सकको पेसागत मर्यादाविपरीतको गतिविधि पहिलो पटक भेट खबर डटकमले सार्वजनिक गरेको थियो । परिषदको सोमबार बसेको बैठकले पशु चिकित्सकद्वयलाई निलम्बन गर्ने निर्णय गरेको परिषद्ले जनाएको छ ।

परिषद्का निमित्त रजिट्रार डा. मनोजकुमार शाहीले पशु चिकित्सा परिषद् नियमावली, २०५७ को नियम २१ को उपनियम (१) बमोजिम प्रधान श्रेष्ठ र भण्डारीलाई निलम्बन गरिएको जनाएका छन् । दुई महिनाका लागि निलम्बनमा परेका उनीहरूले अब भेटेरिनरी चिकित्सकका हैसियतमा कुनै गतिविधि गर्न पाउने छैनन् ।

चार जनालाई सफाइ

त्यसैगरी, परिषदले चार जनालाई सफाइ दिएको छ । सफाइ पाउनेमा डा. भक्त निउरे, डा. श्यामकृष्ण तिवारी, डा. निमेश खनाल र डा. केशवप्रसाद यादव छन् ।

उनीहरूविरुद्ध पनि आचरणविपरीतको गतिविधि गरेको उजुरी परेको थियो । प्रारम्भिक छानबिनमा आरोप पुष्टि नभएपछि उनीहरूलाई सफाइ दिइएको हो ।

निमित्त रजिष्ट्रार शाहीका अनुसार ८ जनालाई एक पटकका लागि सचेत गराइएको छ । पाँच जनाविरुद्ध आचारसंहिताविपरीत गतिविधि गरेको उजुरी परेकोमा उनीहरूमाथि अनुसन्धान चलिरहेको शाहीले जानकारी दिए ।

पशुपन्छी एक स्थानबाट अर्को स्थानमा लैजाँदा ढुवानी मापदण्डअनुसार अनिवार्य भेटेरिनरी प्रमाणपत्र जारी गर्नुपर्ने प्रावधान छ । यस्तो प्रमाणपत्र चिकित्सकले आफैं उपस्थित भएर पशु परीक्षण गरी जारी गर्नुपर्ने हचुवाका भरमा गर्ने गरेको घटना पछिल्ला दिन बढेको छ ।

परिषद्ले यस्तै प्रकरणमा यसअघि पनि दुई चिकित्सकलाई निलम्बन गरिसकेको छ ।

हेर्नुहोस् सुचना