बागबजारमा ५०० बिक्री हुन्छ भेटेरिनरी प्रमाणपत्र

बेनीघाटबाट बर्दिबास पठाएको गाई काठमाडौं आइपुग्यो

काठमाडौं । केही दिनअघि काठमाडौंको बागबजारमा बस्दै आएका पशुपन्छी चिकित्सक डा. रिकेशदेव भण्डारीको मोबाइलमा एकराज भट्टराईको फोन आयो । बर्दिबासबाट जोडिएका उनले भण्डारीलाई सतुंगलबाट गाई ल्याउन आफूलाई भेटेरिनरी प्रमाणपत्र चाहिएको व्यहोरा जानकारी गराए । खासमा ती गाई बर्दिबासमा नभएर धादिङको बेनीघाटमा थिए । भण्डारीले रु. ५०० लिए र धादिङ रहेका गाई स्वस्थ र स्वच्छ रहेको व्यहोरा उल्लेख गर्दै भट्टराईका एक आफन्तको हातमा भेटेरिनरी प्रमाणपत्र थमाइदिए ।

डा. भण्डारीले जारी गरेको प्रमाणपत्रको आधारमा धादिङको बेनीघाटका दुर्गा खनालको फार्मबाट गाई लोड गरी बर्दिबास लगियो । तर टिकौलीको प्रहरीले मापदण्ड नपुर्याइ ढुवानी गरिएको भन्दै कागज गराएर गाई काठमाडौं फर्काइ दियो ।

गाई फार्मका सञ्चालक खनालले बिनापरीक्षण पशुपन्छी चिकित्सकले भेटेरिनरी प्रमाणपत्र जारी गर्दा आफूले अनावश्यक तनाव र दुःख पाएको बताए ।

‘यसअघि गाई पठाउँदा मैले बेनीघाटकै चिकित्सकहरूबाट परीक्षण गराएर भेटेरिनरी प्रमाणपत्र लिने गरेको थिएँ,’ उनले भने, ‘तर यसपटक परीक्षण नै नगरी बागबजारमा बसेर डा. भण्डारीले प्रमाणपत्र जारी गर्दा तनाव र दुःख पाएँ ।’

पशुपन्छी ढुवानी मापदण्ड, २०६४ अनुसार, पशुपन्छी चिकित्सकले जारी गरेको भेटेरिनरी प्रमाणपत्रको आधारमा मात्र पशुपन्छी ढुवानी गर्नुपर्छ । यस्तो प्रमाणपत्र चिकित्सकले स–शरीर उपस्थित भई परीक्षण गरेर मात्र जारी गर्नुपर्छ । तर डा. भण्डारीले काठमाडौंको बागबजारमा बसेर बिना परीक्षण रु. ५०० मा भेटेरिनरी प्रमाणपत्र जारी गर्दै आइरहेका छन् । स्रोतका अनुसार, पशुचौपाया व्यवसायी तथा किसानसँग मिलेर उनले केही समयदेखि यस्ता प्रमाणपत्र जारी गरिरहेका छन् ।

डा. भण्डारीले सतुंगलबाट बर्दिबास लैजान आफूले गाई नै नहेरी प्रमाणपत्र जारी गरेको भेटखबर डटकमसँग स्वीकार गरे । तर उनले ती गाई आफ्नो निगरानीमा रहँदै आएको दाबी गरे । जबकि ती गाई सतुंगलबाट ६ महिनाअघि नै धादिङ स्थानान्तरण गरिसकिएको थियो । गाई फार्मका सञ्चालक खनालका अनुसार, डा. भण्डारी अहिलेसम्म उनको फार्ममा आएका छैनन् । उनको चिनजानसमेत उनीसँग छैन ।

‘डा. भण्डारीले गाई आफ्नो निगरानीमा रहेकाले भेटेरिनरी प्रमाणपत्र दिएको दाबी गर्नुभएछ,’ खनालले भेटखबर प्रतिनिधिसँग भने, ‘यो सरासर झुट हो । उहाँलाई मैले चिनेको छैन । कहिल्यै मेरो फार्ममा आउनु भएको पनि छैन ।’

बागबजारमा भइरहेछ खुलेआम प्रमाणपत्र बिक्री

पशुपन्छी परीक्षण गरेर स्वस्थ भएको खण्डमा ढुवानीका लागि जारी गर्नुपर्ने भेटेरिनरी प्रमाणपत्र डा. भण्डारीले आफु थानकोटमा रहने भएतापनी रकम बुभ्न सहज होस भनेर उनले बागबजार र रत्नपार्क आसपासमा बोलाएर पशुपन्छीको परिक्षण विना प्रमाणपत्र दिने गरेका छन् ।उनले बागबजाराम बसेर खुलेआम बिक्री गर्ने गरेका छन् ।

‘पशु चौपाया व्यापारी, किसानसँग सम्पर्कमा रहेर डा. भण्डारीले बागबजारमा बसेर पशुपन्छी हेर्दै नहेरी प्रमाणपत्र जारी गर्ने गरेका छन्,’ स्रोतले भन्यो ।

डा. भण्डारीबाट अनधिकृत रूपमा जारी गरिएका प्रमाणपत्र यसअघि पनि दुईपटक प्रहरीले नियन्त्रणमा लिएको थियो । तर उनीमाथि कुनै कारबाही भएको छैन ।

पेसागत मर्यादाविपरीतको कार्य गरेर पशु चिकित्सा क्षेत्रलाई नै बदनाम गर्दै आएका डा. भण्डारीले आफ्नो गल्ती ढाकछोप गर्न अनेक फत्तुर प्रस्तुत गर्ने गरेका छन् । धादिङको गाईका लागि बागबजारमा बसेर प्रमाणपत्र जारी गरेका उनले उल्टै प्रमाणपत्र दुरूपयोग भएको भन्दै आफ्नो बचाउ र किसानलाई दोषी देखाए । पशुपन्छी ढुवानी मापदण्डविपरीत भेटेरिनरी प्रमाणपत्र जारी गरेको विषयबारे भने उनी केही बोल्न चाहँदैनन् ।