दशैंमा अन्य पशुपन्छीको दाँजोमा खसीबोकाको माग उच्च हुन्छ । त्यसैले दशैं सुरु हुनु अगावै व्यवसायीहरू उपभोक्ताका लागि आवश्यक खसी प्रबन्धका लागि तयारीमा जुट्छन् । नेपाल चौपाया खरिद बिक्री तथा कृषि फार्म ग्रुप प्रालिका अध्यक्ष दीपक थापा पनि खसीबो का उपभोक्तालाई उपलब्ध गराउन केन्द्रित भएको सुनाउँछन् । उपत्यकामा खसीबोकाको माग, बिक्री–वितरण स्थललगायत विषयमा केन्द्रित रहेर थापासँग भेट टाइम्सले गरेको दशैंविशेष कुराकानी :
काठमाडौं उपत्यकामा यसपालि खसीबोकाको माग कत्तिको छ ?
दशैंमा हुने खसीबोकाको माग अनुमान गर्न विगत वर्षमा त सहज थिएन । यस वर्ष झन् कठिन छ । दशैं सकिएपछि चाहिँ कति खसीबोको खपत भए, हिसाब दिन सकिन्छ ।
यसपालि मागबारे अनुमान गर्न नसक्नुको कारण के होला ?
दशैं र तिहारलगत्तै मंसिरमा यसपालि चुनाव छ । चुनाव भएकाले टाढा टाढाका मानिसमध्ये कतिपयले चुनावमा मात्रै जाने, अहिले यतै बस्ने निर्णय लिन सक्छन् । कोहीचाहिँ अहिले जाने, चुनावमा नजाने हुन्छन् । खसीबोकाको मासुको माग काठमाडौंबाट बाहिरिनेको संख्यामा भर पर्ने भएकाले अनुमान गर्न कठिन छ ।असोज पहिलो सातासम्मको माग हेर्दा त्यति उत्साहजनक छैन । त्यसो त, दशैंमा खसीबोकाको कारोबार बढी हुने फुलपातीको दुई दिनअघिबाट हो । व्यापारीहरू उपभोक्ताको माग पूरा गर्न विभिन्न स्थानमा खसीबोका लिन पुगेका छन् । कलंकी, टुकुचा, लोकन्थली, दहचोकमा खसीबोका अहिलेदेखि नै स्टक राखिएको छ । दहचोकमा मात्रै लगभग ४÷५ हजार खसी छ । अन्य थप खसीहरू १३ गतेबाट आउन सुरु भएको छ । ।
दशैंका बेला काठमाडौंमा साधारणतया कति खसीबोकाको माग हुने गर्दछ ?
काठमाडौं उपत्यकामा विगत वर्षमा भेडा, च्यांग्रा, खसीबोका गरी करिब ३५ देखि ४० माग हुने गरेको थियो । यसपालि मंसिरमा चुनाव परेकाले २५–३० हजारमा सीमित हुन पनि सक्छ । ४० हजार पुग्न पनि सक्छ । ठ्याक्कै कति होला यकिन गर्न सकिन्न । ज्यादा वर्षाका कारण बाढी पहिरो गएकाले पहिलेजस्तो राजधानीमा खसी बोका पर्याप्त आउन गाह्रो नै छ ।
व्यापारीहरू खसी बोका लिन गए भन्नुभयो । खसीबोकाचाहिँ कहाँकहाँबाट उपत्यका भित्रिने गरेको छ ?
डडेल्धुरा, बैतडी, डोटी बर्दिया, बाँके, सुर्खेत, ओखलढुंगा, नुवाकोट, धादिङ खसीबोका बढी उत्पादन हुने जिल्ला हुन् । स्वाभाविक रूपमा अहिले उपत्यका भित्रिने खसी यिनै स्थानका हुन् ।
खसीबोका उत्पादनमा हामी आत्मनिर्भर छौं कि अन्यत्रबाट पनि ल्याउनुपर्ने बाध्यता छ ?
भन्नलाई राज्यले खसीबोकामा आत्मनिर्भर भएको दाबी गर्ने गरेको छ । तर यो सत्य होइन । हाम्रो स्वदेशी उत्पादनले अहिले मात्रै ६० प्रतिशत माग धानेको छ । बाँकी ४० प्रतिशतका लागि हामी भारतसँग निर्भर हुनु परेको छ
यसको मतलब नेपालको खसीबोका उत्पादन अवस्था निराशाजनक छ भन्नेचाहिँ होइन । विगत वर्षको तुलनामा उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । पहिले मागको हाराहारी २० प्रतिशत खसीबोका उत्पादन हुने गथ्र्यो । अहिले ६० छ । यो भनेको राम्रो हो । तर यतिले पुग्दैन । आत्मनिर्भर हुन हामीले अझै प्रयास गर्नुपर्छ ।
खसीबोका आयात गर्नुपर्ने बाध्यता वर्षौं पुरानो हो । र पनि अवस्थामा सुधार नआउनुको कारण के होला ?
नीति, नियम बने तर ती कागजमा मात्र सीमित भए । यदि यो कार्यान्वयनमा आउथ्यो भने अवस्था यस्तो हुने थिएन ।
अर्को कारणचाहिँ नेपाली उत्पादन प्रोत्साहन गर्ने संस्कृति नै भएन । नेपाली उत्पादन प्रवद्र्धन गर्नुको साटो यो मिलेन र त्यो मिलेन भनेर दुःख दिइन्छ । कौडीको भाउमा लिलाम गर्न लगाइन्छ ।
स्वदेशी उत्पादनलाई यसरी अवरोध गर्नुको कारण होला ?
भारतबाट खसीबोका आयात गर्न दिएबापत इनाम पाएर त्यसो गर्छन् कि के हो, ठ्याक्कै त थाहा भएन । तर यो प्रवृत्तिले किसान र व्यापारी भने आजित छन् । दुईचार पैसा फाइदाका लागि काठमाडौंमा खसीबोका लगेर बिक्री गर्नेलाई यसरी दुःख दिनु उचित भएन । खाद्य संस्थानले खसीबोका ल्याउँदा राज्यलाई अर्बौं नोक्सानीमा पारेको हुन्छ । तर हामीले त राज्यलाई कुनै नोक्सानी पु¥याएका हुँदैन, बरु फाइदा गराइरहेका हुन्छौं । त्यसैले यस्ता प्रवृत्ति निरुत्साहित गरेर स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नुपर्छ । राम्रो नीतिका साथ सरकार उत्पादन वृद्धिमा लाग्ने हो भने अबको ५÷७ वर्षमा ६० लाई १०० प्रतिशतमा पु¥याउन सकिन्छ ।
स्वदेशी उत्पादनलाई रोकेर भारतीय उत्पादन भित्राउन बिचौलिया हाबी भए भन्न खोज्नुभएको हो ?
तपाईंले एकदम सही कुरा भन्नुभयो । अहिले भएकै यही हो ।
यसपालि खसी बोकाको मूल्य कतिदेखि कति रूपैयाँको बीचमा रहला ?
हाम्रो अध्ययनले विगत वर्षको भन्दा यसपालित खसीको मासुको मूल्य बढ्ने देखाएको छ । अहिले जिउँदो लोकल खसीबोकाको मूल्य ६५० रूपैयाँदेखि ६६५ रूपैयाँसम्म छ । यो मूल्य दशैंमा बढेर ७०० रूपैयाँदेखि ७२५ रूपैयाँसम्म पुग्ने हाम्रो आकलन छ ।
खसीबोकामा विभिन्न प्रकारका रोगका संक्रमण हुन्छन् । यी रोगहरू मान्छेमा सर्ने जोखिम पनि हुन्छ नि होइन ?
कुखुरामा बर्डफ्लू लागेको खण्डमा रातारात नष्ट गरिन्छ । खसीबोकामा कुनै रोगको संक्रमण भएमा चाहिँ वास्ता गरिँदैन । हुन त मैले व्यवसाय धराशायी बनाउन बोलेको होइन । तथापि, यतातिर ध्यान पुग्न सकेको छैन । मासुका लागि प्रयोग हुने पशुपन्छी परीक्षण गर्ने प्रबन्ध नै हाम्रोमा छैन । यसपालि हामीले पशुचिकित्सकहरूलाई यसमा सहयोग गर्न आह्वान गरेका छौं । दहचोकमा हामी व्यवसायीकै अग्रसरतामा होल्डिङ सेन्टर बनाएका छौँ ।
भनेपछि पशुचौपाया स्वच्छ÷अस्वच्छ कस्तो छ भन्ने परीक्षण नगरी उपभोक्ताको भान्सामा पुगिरहेको छ ?
नियममा त छ । तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । बरु भेटेरिनरी चिकित्सकहरूले आफ्नो पेसागत धर्म भुलेर आर्थिक प्रलोभनमा परी चेकजाँच बिनै स्वास्थ्य परीक्षण प्रमाणपत्र जारी गर्ने गरिएको छ ।
तपाईंहरूचाहिँ सचेत हुनुहुन्छ यसमा ?
हामी अहिले मात्र होइन, विगत २५÷३० वर्षदेखि नै सचेत थियौँ र छौं । विगत वर्षदेखि नै उपभोक्तालाई स्वस्थकर जडिबुटी घाँस खाएका स्वस्थकर खसी मात्र मासुका रूपमा प्रयोग गर्न आह्वान गर्दै आइरहेका छौं । राज्यले पनि यसमा भूमिका खेलिदेओस् भन्ने हाम्रो चाहना छ । तर त्यसो भइरहेको छैन । हुन त, केही वर्षदेखि मासु खान योग्य छ, छैन भनेर सिङमा रङ दल्न थालिएको छ । तर यो झारा टार्ने खालको छ । अनुगमन छैन । वाणिज्य विभागको अनुगमन यसपटक चुस्त दुरुस्त होस् भन्ने मेरो चाहना छ ।
यो पटक काठमाडौँ उपत्यकामा कहाँ–कहाँ खसी खरिद गर्न पाइन्छ ?
अहिले जिउँदो खसीबोका छरप्रष्ट छ । अवैध किसिमले चाबहिलको गोपीकृष्णलगायत स्थानमा खसी बिक्री वितरण हुने गरेको छ । संघले चाहिँ स्वस्थकर खसी बेच्नका लागि टुकुचामा जग्गा लिएको छ । भक्तपुरको लोकन्थली, बालाजुको माछापोखरी, दहचोक, कलंकीलगायत स्थानमा पनि हाम्रा सदस्यहरूले खसी बिक्री गर्नुहुनेछ ।
दशैंमा खसीबोका किन्दा के–के कुरामा ध्यान दिनुपर्ला ?
खसीबोका किन्दा फूर्तिलो छ कि छैन, हेर्नुपर्छ । सिङ कस्तो छ ? ढाडमा काटेको छ कि छैन ? त्यो पनि नियाल्नुपर्छ । हेर्दा लोकलजस्तो देखिए पनि ढाडमा दागहरू काटेको भए भारतीय खसी हुनसक्छन् ।
लोकल खसीबोका कान छोटा हुन्छन्, सिङचाहिँ ठूला । भारतीयको सिङ सानो र कान लामो हुन्छ । हाम्रा खसीले जडिबुटी घाँस खाएको हुनाले भुँडी ठूलो हुन्छ, भारतीयले दानालगायत खाने हुँदा सानो हुन्छ । त्यसैले मासुका हिसाबले भारतीयमा धेरै बस्छ, लोकलमा कम । मासु कम परे पनि नेपाली लोकल खसी स्वादिलो हुन्छ । पकाउँदा मसला नै हाल्नुपर्दैन । तर भारतीय खसीमा मसला नै मसला हाल्न पर्छ ।
जडिबुटी घाँस खाएर हुर्किएका हुनाले स्वास्थ्यका हिसाबले पनि लोकल खसी स्वास्थ्यबद्र्धक हुन्छन् । भारतीय खसी दाना खुवाएर हुर्काइएका हुन्छन् । छिट्टै वृद्धि विकास गराउने सुई पनि लगाइएको हुन्छ । हाम्रोमा ४ वर्ष लागेर तयार हुने खसी उता ३ देखि ६ महिनामा हुन्छ । नेपाली लोकल खसीमा बोसो पनि कम हुन्छ । भारतीयमा बोसो बढी हुन्छ ।
भारतीय खसी त पैसा हालेर नकिन्दा नै हुने रहेछ, होइन ?
हाम्रो उत्पादनले माग धान्ने अवस्था नभएकाले भारतीय खसी ल्याउनुपर्ने बाध्यता छ । त्यसैले भारतीय खसी खाँदै नखाऔं भन्दिनँ । एउटा व्यापारीको नाताले पनि यस्तो भन्न मिल्दैन । तर यतिचाहिँ म भन्न चाहन्छु, सकेसम्म स्वदेशी खसीबोका नै रोजौं । मैले माथि नै भनेँ नि बाटोघाटोलगायत समस्याले अहिले खसीबोका ल्याउन अप्ठ्यारो छ । यसमा सरकारले सहजीकरण गरिदिनुपर्छ ।