हन्दूधर्मालम्बीको महान् चाड दशैं आइसकेको छ । धनी, गरीब सबै वर्गले आफ्नो गच्छेअनुसार दशैं हर्षोल्सापूर्वक मनाउने परम्परा छ । दशैं मनाउन सरकारले पनि लामो समय बिदा दिने गरेको छ । तर विगतका दुई दशैं कोरोनाभाइरस महामारीले खल्लो हुनपुगे । यस वर्ष भने जनजीवन सामान्य बनेको छ । निकै व्यस्त दैनिकी भएका पशुपन्छी चिकित्सक, पशुपन्छी प्राविधिक, पशुपन्छी औषधि व्यवसायी, पशु अधिकारकर्मी र यससँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधि पनि यसपटक धक फुकाएर दशैं मान्ने मुडमा छन् । सुनौं उहाँहरूको दशैं योजना उहाँहरूकै शब्दमा :
आमाबिना पहिलो दशैं मनाउँदै छौं
मेरो पुख्र्यौली घर गोरखा हो । तर परिवार सबै काठमाडौंमा छौं । त्यसैले दशैं यतै मनाइन्छ । यस वर्ष पनि काठमाडौंमै बसेर परिवार संगै दशैं मनाउने योजना छ ।
आमाबिनाको पहिलो दशैं हुनेछ, यसपटकको । त्यसैले स्वाभाविक रूपमा आमाको सम्झना बढी आउनेछ । गाउँघर र बालापनको त्यो सुनौलो सम्झना कसलाई पो नहोला र ?
पहिले गाउँमा दशैं मनाउँदा एउटा माहोल हुन्थ्यो । अहिले सहरमा मनाउँदा अर्कै माहोल हुन्छ । बालापनको जस्तो रोमाञ्चकारी हुँदैन अहिलेको दशैं । अझ भनौं, पहिले दशैंमा आफैं खुसी भइन्थ्यो, अहिले छोराछोरीलगायत परिवारका सदस्य खुसी भएको देख्दा आनन्द लाग्छ ।
दशैं हिन्दूधर्मालम्बीको सांस्कृतिक चाड हो । यसको आफ्नै मौलिकता छ । दशैंको स्वागत गर्न पहिले गाउँमा मालश्री बजाइन्थ्यो । तर अहिले हाम्रा यस्ता परम्परा हराउँदै गएका छन् । आफ्नो संस्कृति र परम्पराको मौलिकता जगेर्ना गर्नेगरी दशैं मनाउनुपर्छ ।
दशैं भड्किलो बनेको गुनासो सुनिन्छ । मेरो विचारमा दशैं मात्र नभएर अन्य पर्व पनि भड्किलो र रवाफिलो बन्दै गएको छ । चाडवाडको बहानामा मध्यपानलगायतको ज्यादा सेवन गर्नु राम्रो होइन । यस्ता विकृति सबै मिलेर न्यूनीकरण गर्नुपर्छ ।
दशैंमा भ्यालीभित्र मासुको माग अत्यधिक हुने भएकाले अस्वस्थकर पशुपन्छी भित्रिने खतरा हुन्छ । अस्वस्थकर पशुको मासु उपभोक्ताको भान्छामा पुगेमा अनेक रोगको संक्रमण हुनसक्ने भएकाले नेपाल भेटेरिनरी एसोसिएसनले अनुगमनदेखि सचेतनासम्मका कार्यक्रम विगत वर्षदेखि गर्दै आइरहेको छ । यस वर्ष पनि त्यसलाई हामीले निरन्तरता दिँदै छौं । सम्भवतः घटस्थापनापछि नागढुंगालगायतका नाकामा पशुचौपायाको अनुगमनमा हामी खटिने छौं । राज्यका निकायसँग मिलेर हाटबजारमा अनुगमन गर्ने योजना पनि छ । मासु उपभोग गर्दा निकै सचेत हुनुपर्छ । त्यसैले कस्तो मासु खाने, कसरी खानेलगायत जानकारी दिन सचेतना कार्यक्रम पनि गर्दैछौं ।
स्वदेशी उत्पादन प्रयोग गरेर दशैं मनाउँछु
मैले समान्य ढंगले दशैं मनाउने सोच बनाएको छु । हाम्रो देश नेपालको आर्थिक अवस्था सही ढंगले चलेको छैन । वित्तीय तरलता ज्यादै कम छ । विदेशी मुद्राको अभाव छ । विदेशमा काम गरी पठाइएको रेमिट्यान्सको भरमा देश चलिरहेको विद्यमान अवस्था छ । त्यसैले यसपटकको दशैंमा सकभर स्वदेशी उत्पादनको प्रयोग गर्ने सोच बनाएको छु । विदेशी वा आयातीत समानहरू खरिद नगर्ने मनसाय बनाएको छु ।
साथीभाइहरूसँग भेटघाट गर्ने तथा समाजका जेष्ठ सदस्यहरूको जीवनका भोगाइ र अनुभवसँगै केही विषयहरू बुझ्ने प्रयास गर्ने कोसिस गर्नेछु । र, केही महत्त्पूर्ण सिकाइलाई लिपिबद्ध गर्ने प्रयाससमेत गर्नेछु । समाजिक र परिवारिक परिवेशलाई अत्यन्त नजिकबाट समान्य तरिकाले सद्भावपूर्व दशैं मनाउने सोचमा छु । दशैं सबैका लागि भातृत्वको र समृद्धिको चाड बनाउनु पर्छ । समानताको चाड बनाउनुपर्छ भन्ने विषयमा पूर्ण ख्याल राख्नेछु । अन्त्यमा विजयादशीको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
दशैं मनाउनु बेकार हो
हिन्दूधर्मालम्बीको महान् चाड दशैं भए पनि म मनाउदिनँ । दशैं मात्र होइन, तिहारलगायतका अन्य पर्व पनि मान्दिनँ । सानोमा बुवाआमा छँदा दशैं, तिहार के हो भनेर अहिलेजस्तो जानकारी थिएन । त्यसैले मनाइयो । तर जब दशैं र तिहालगायत चाडबाडबारे थाहा भयो, त्यसपछि मनाउन छाडिदिएँ ।
मेरा ६ दाजुभाइ । आ–आफ्नो पेसा व्यवसाय समातेपछि चाडपर्व, विवाह व्रतबन्धमा हामी कहिल्यै एकसाथ भेटिएनौं । जीवनमा तीनपटक सबै दाजुभाइको एकसाथ भेट भयो–आमा बित्ता, अंशबण्डा गर्दा र दुई दाजुभाइबीच झगडा हुँदा । हेर्नुहोस् कुनै पनि काम गर्न कारण चाहिन्छ । कारणबिना कर्म गर्नु हुँदैन । दशैं तिहारलगायत चाडपर्व पनि यस्तै हुन् । देवताले राक्षसमाथि जित हासिल गरेको अवसरमा मनाइएको भन्नुहोला । तत्कालका घटनामा त कति विरोधाभास हुन्छ भने १० हजार वर्ष पहिलेको घटनालाई लिएर उत्सव मनाउनु बेकार हो । कुनै कालखण्डमा यसले महत्व राख्यो होला तर अहिले यसको कुनै तुक छैन ।म फेरि पनि दोहो¥याउन चाहन्छु कि कुनै पनि कार्य गर्न कारण चाहिन्छ । तर दशैंलगायत चाडपर्वको सन्दर्भमा कारण सकिए पनि कार्य भइरहेको छ । झिँगा धपाउनुपर्छ भन्दैमा त्यो गइसकेपछि पनि धपाइरहने ? यो त हजम भएन नि ? तपाईंले यहाँनिर दशैं रमाइलो गर्ने बहाना पनि त हो नि भन्न सक्नुहुन्छ । यदि रमाइलो गर्ने हो भने दशैं नै चाहिन्छ र ? अरू कुनै नयाँ अवसर निकालेर मनाउन सकिन्छ ।
दशैंमा गाउँ नै रमाइलो
विगतका दशैंमा प्रायः गाउँ गइन्थ्यो । तर यसपटक स्वास्थ्य समस्याका कारण उपचारमा छु । कुनै योजना बनाएको छैन । दशैंमा मासुको माग बढी हुने भएकाले पशुपन्छीको कारोबार बढी हुन्छ । अस्वस्थ पशुपन्छी उपभोक्तामा नपुगोस् भन्नका खातिर अघिल्ला वर्षहरूमा जनचेतनामूलक कार्यक्रम गरिएको थियो । यसपटक पनि त्यस्तै कार्यक्रम गर्ने सोच छ । शुभकामना आदानप्रदान कार्यक्रम पनि हुनेछन् । गाउँमा गएर दशैंमा बुवाको हातबाट टीका ग्रहण गर्ने गरेको थिएँ । तर तीन वर्षअघि बुवा बितेपछि यो श्रृंखला टुटेको छ । सबैभन्दा धेरै सम्झना मलाई यही हुनेछ । तिहारमा सहर रमाइलो भए पनि दशैं गाउँबराबर अन्यत्र हुँदैन । यदि दशैंमा घर गइयो भने गाउँ पनि सम्झना हुनेछ ।
पहिले–पहिले धार्मिक हिसाबले दशैं मनाइने गरिन्थ्यो । यसमा परम्परा र रीतिरिवाजको सम्मिलन थियो । तर विगतमा सामूहिक रूपमा खसी काटेर भाग लगाई खाने हार्दिकतापूर्ण र मितव्ययी प्रचलन थियो । गाउँका सबै मानिस भेला भएर मान्यजनबाट सामूहिक टीका लगाइथ्यो । पछिल्लो समय यी संस्कृति विस्तारै हराउँदै गएको अनुभव गर्न थालिएको छ । यो पर्वको मौलिकता हराउँदै मात्र गएको छैन, तडकभडकले पनि प्रवेश पाएको छ । यो खर्चिलो हुँदै पनि बन्दै गएको छ । समाजमा आफ्नो स्तर कायम गर्नका लागि बाध्य भएर फजुल खर्च गर्नुपर्ने परिस्थिति निर्माण हुनु राम्रो कुरा होइन । समाजमा सबै किसिमका मान्छे हुने भएकाले यी सबै कुरालाई मध्यनजर गरेर कम खर्चमा मितव्ययी ढंगले दशैं मनाउनु पर्छ ।
परिवारसँग रमाइलो गरी मनाउँछु
दशैं नेपालीहरूको महान् चाड हो । तर बुवाको निधनका कारण गएका दुई दशैं हाम्रो परिवारले मनाउन पाएन । यस वर्ष बुवाबिनाको दशैं मनाउदैछौं । मेरो घर चितवन हो । केटाकेटी बाहिर भए पनि मचाहिँ चितवनमै हुन्छु । दशैंका लागि त्यस्तो ठोस योजना बनाएको छैन । परिवारसँगै बसेर रमाइलो गरी गच्छेअनुसार मनाउने विचार छ । दशैंमा पहिले मान्यजनको हातबाट टीका थापिन्थ्यो । केही वर्षअघिसम्म बुवाले नै टीका लगाएर आशीर्वाद दिनुहुन्थ्यो । तर अहिले उहाँ हुनुहुन्न । दशैंमा बुवालगायत मान्यजनको याद आउँछ । कोभिडले महामारीले ०७७ साल देखी राम्रोसँग दशैं मान्न पाएनौं । गत वर्ष महामारी केही कम त भयो तथापि त्रासले निर्धक्कसँग मनाउन दिएन । अहिले स्थिति सामान्य बनेको छ । सबैको दशैं सुखमय होस्, हार्दिक शुभकामना ।
दशैंको काटमार देखेर विरक्त लाग्छ
छोराछोरीलगायत परिवारका सदस्यसँग बसेर खुसी साट्दै मनाइने गरिन्छ, दशैं । तर त्यो खुसी खोज्ने क्रममा भने निहत्था पशुचौपायको परिवारको सदस्य हत्या गरिन्छ । आफ्नो छोराछोरीसँग खुसी साट्न पशु चौपायाको छोराछोरी मार्ने यो परम्परा देखेर मलाई विरक्त लाग्छ ।
मन्दिर भगवान् बस्ने पवित्र थलो हो । दुर्भाग्य त्यही मन्दिरमा लगेर पशुलाई बलि दिइन्छ । बलि पनि यसरी दिइन्छ कि मानौं त्यो मन्दिर नभएर वधशाला हो ।
दशैंमा मासु नै खानुपर्छ भनेर कहीँ लेखिएको छैन । र पनि हामीलाई दशैंमा मासु नै खानुपर्छ । यो गलत मानसिकता हो । हामीले आफूले रमाइलो गर्दा अरूको अस्तित्व पनि स्वीकार गर्न सक्नुपर्छ ।
हाम्रो स्नेहाज केयरमा उद्धार गरी राखिएका सामुदायिक कुकुर, गाईगोरुलगायत पशुचौपाया छन् । दशैंमा अरू यस्तै पशु चौपायाको ज्यान लिन्छन्, हामीचाहिँ उनीहरूलाई खुसी पारेर मनाउँछौं ।
संस्थागत रूपमा यो दशैंमा कुनै कार्यक्रम छैन
नेपालीहरूको पर्व दशैं नजिकिएको छ । विगत वर्षमा हामीले संस्थागत रूपमा विभिन्न गतिविधि गर्ने गरेका थियौं । तर यस वर्ष संस्थागत रूपमा दशैंमा कुनै कार्यक्रम राखेका छैनौं । मेरो घर चितवनमा छ । फार्म पनि घरमै छ । त्यसैले दशैं मनाउन अरूलाई जस्तो घर फर्कनु पर्ने बाध्यता छैन । कतिपयले दशैं उल्लासपूर्वक मनाउँछन् । तर हामी त्यस्तो खालका होइनौं । संस्कृति र रीतिरिवाजअनुसार दशैं मनाउने मानिस हौं हामी । नानीहरू बाहिर भएकाले घरमा श्रीमान्–श्रीमती मात्र छौं । दुई चार केजी मासु ल्याएर खाने, इष्टमित्रको हातबाट टीका लगाउने काम दशैंमा हुन्छ ।
बुवा ९६ वर्षको हुनुभयो । आमाको चाहिँ अब सम्झना मात्र बाँकी छ । भौतिक रूपमा आमा हामीमाझ नभएकाले दशैंमा उहाँको खुब याद आउँछ । उहाँसँगै बसेर मनाउन पाएको भए हुन्थ्यो भन्ने लाग्छ । तर विधिको विधान हामी सबै सधैं सँगै रहन सक्दैनौं । दशैं हिन्दूधर्मालम्बीको ठूलो चाड भएकाले परम्परा र मौलिकतालाई पछ्याएर सरल ढंगले मनाउनुपर्छ । सबैलाई विजयादशमी ०७९ को मंगलमय शुभकामना ।
बालापानमा पिङ खेलेको खुब याद आउँछ
दशैं मनाउने विगतको तौरतरिकामा अहिले बदलाव आएको छ । पहिले गाउँमा परिवारसँग बसेर दशैं मनाइन्थ्यो भने अहिले देश तथा विदेश घुम्न जाने चलन पनि आएको छ । भर्खरै अमेरिकाबाट फर्किएको हुनाले मेरोचाहिँ यस वर्ष कतै घुमफिर गर्ने योजना छैन । परिवारको सदस्यसँग चिवतनमै बसेर दशैं मनाउने विचारमा छु । बालापनको दशैं निकै रमाइलो हुन्थ्यो । नयाँ कपडा लगाउँदा मिल्ने त्यतिबेलाको खुसीले अहिले पनि रोमाञ्चक बनाउँछ । दशैंमा पिङ खेलेको सम्झना निकै आउँछ ।
तीजलगायत पर्वमा व्यापक विकृत्ति भित्रिएको छ । यो पर्वमा एक दिने दर खाने हाम्रो चलन हो तर अहिले त एक महिनासम्म चल्छ । यसको तुलनामा दशैंमा विकृति निकै कम छ । कसैकसैले रवाफ देखाउन फेसबुकलगायत सामाजिक सञ्जालमा खसी काटेका वीभत्स तस्बिर हाल्ने गर्छन् । यस्तो भड्काउपूर्ण कामचाहिँ कसैले पनि नगरिदिए हुन्थ्यो भन्ने लाग्छ । दशैं आफन्त भेटघाट गरी रमाइलोसँग मनाउने अवसर भएकाले यसलाई सरल र किफायती तरिकाले मनाउनुपर्छ । वडादशैं २०७९ को अवसरमा सबैमा मेरो मंगलमय शुभकामना ।
घटस्थापनादेखि पूर्णिमासम्मका सुखद् पल याद आउँछन्
यति ठूलो उत्साह र खुसी छैन । दुःखै मात्र बढी छन् । त्यसैले सामान्य नेपालीले जस्तो सामान्य तरिकाले दशैं मनाउने योजना छ । मेरो घर हेटौंडामा छ, बसाइँचाहिँ काठमाडौंमा । दशैंमा चाहिँ हेटौंडा पनि जान्छु । बालापानमा दशैं निकै रमाइलो हुन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्मका सबै सुखद् पल अहिले पनि याद आउँछ । दशैं आखिर दशैं नै हो, पहिलेको पनि, अहिलेको पनि । तर समय, परिवेश र सन्दर्भले गर्दा पहिले र अहिलेको दशैंमा केही अन्तर भने छ । दशैं भड्किलो भएको भन्दै चिन्ता गर्ने पनि भेटिन्छन् । दशैंबारे यस्ता टिप्पणी गर्नेहरू बाहिरी दिमागबाट सञ्चालित हुन् ।