काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले विदेशबाट गैरकानूनी रूपमा गुणस्तरहीन माछा भित्रिएकोप्रति आपत्ति जनाएको छ ।
विगत केही दिनयता सञ्चारमाध्यममा तथा सामाजिक सञ्जालमा भारतबाट गुणस्तरहीन माछा भित्रिरहेको समाचार सार्वजनिक भइरहेका बेला एनभिएले त्यसप्रति आपत्ति प्रकट गरेको हो । उसले गैरकानूनी रूपमा बाहिरी देशबाट गुणस्तरहीन माछा आयात हुनु र स्वदेशी कृषकको उत्पादनले बजार नपाउनु निन्दनीय भएको समेत बताएको छ ।
‘विगत केही दिनयता आएका माछा र माछा ढुवानीसम्बन्धी समाचारमा नेपाल भेटेरिनरी एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,’ एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गैरकानूनी रूपमा बाहिरी देशबाट गुणस्तरहीन माछा आयात हुनु र स्वदेशी कृषकको उत्पादनले बजार नपाउने अवस्था आउनु निन्दनीय छ ।’
नेपालको संविधानले प्रत्याभुत गरेको खाद्यसम्बन्धी हक र उपभोक्ताको हक कार्यान्वयनमा दर्तावाल पशु चिकित्सकको समेत अंहम भूमिका हुने समेत एनभिएले स्मरण गराएको छ । चाडपर्वको समय पशुपन्छी र माछाको ढुवानीमा पशु स्वास्थ्य प्रमाणपत्रको दुरुपयोग विरुद्ध सचेत हुनसमेत उसले सबैमा आग्रह गरेको छ ।
आम नागरिकलाई स्वस्थ पशुजन्य पदार्थको उत्पादन, ढुवानी र बिक्री वितरणमा आफ्नोतर्फबाट कुनै पनि त्रृटि र हेलचक्रयाई स्वीकार नहुने पनि उसले बताएको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५, नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ को परिधिमा रही नियमानुसार स्वयं दर्तावाल पशु चिकित्सक उपस्थित भई पशुपन्छीको स्वास्थ्य जाँच गरेर मात्र पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्न पनि एसोसिएसनले आफ्ना सदस्यहरूमा अपिल गरेको छ । नेपाल पशु चिकित्सा परिषद ऐन २०५५ को दफा १४ (घ) बमोजिम आचारसंहिता पालना नगर्ने दर्तावाल पशु चिकित्सकलाई कारबाही हुने पनि उसले स्मरण गराएको छ ।