पशु स्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पनि पारित, कानून बन्ने बाटो खुल्यो

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७६ विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विधेयक पारित गरेको हो ।

यसअघि प्रतिनिधिसभाले उक्त विधेयक पास गरेर राष्ट्रियसभा पठाएको थियो । राष्ट्रियसभाले नामलगायत विषयमा संशोधन गरेर बिहीबार पारित गरेकोमा शुक्रबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।

योसँगै अब पशु प्राविधिकले बहुप्रतीक्षा गरेको पशु सेवासम्बन्धी कानून निर्माण गर्ने बाटो खुलेको छ ।

अब पारित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणीकरणपछि यसले कानूनको रूप लिनेछ । यसले पशुपन्छी प्राविधिकसँगै किसानलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।