Home कृषि भेट टाइम्स मिडिया प्रालिको ग्रुप सम्पादकमा डा. शर्मा
काठमाडौं । भेट टाइम्स मिडिया प्रालिको ग्रुप सम्पादकमा नेपाल सरकारका पूर्वसहसचिव डा. बंशी शर्मा नियुक्त भएका छन् । भेट टाइम्स मिडिया प्रालिको प्रिन्ट संस्करण भेट टाइम्स मासिक र डिजिटल संस्करण भेटखबर डटकम दुवैको सम्पादकीय नेतृत्व गर्नेगरी प्रालिले उनलाई ग्रुप सम्पादकमा नियुक्त गरेको हो ।
भेट टाइम्स मिडिया प्रालिका कार्यकारी अधिकृत (सीईओ) राजन प्रसाईंले सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले शर्मालाई ग्रुप सम्पादकका रूपमा नियुक्त गरेको जानकारी दिए । शर्मासँग भेटेरिनरी क्षेत्रको लामो अनुभव रहेको उल्लेख गर्दै प्रसाईले उनको नेतृत्वमा भेट टाइम्स मिडिया प्रालिका दुई प्रकाशनले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे ।
‘भेटेरिनरी क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव हासिल गर्नु चानचुने कुरा होइन । यस्ता बिद्धत व्यक्तिलाई ग्रुप सम्पादकका रूपमा स्वागत गर्न पाउनु हाम्रालाई ठूलो अवसर र सौभाग्य दुवै हो,’ शर्मालाई स्वागत गर्दै प्रसाईंले भने, ‘उहाँको कार्यकालमा भेट टाइम्स मिडिया प्रालि वेथितिमाथि खरो उत्रिएर देश र जनताको पक्षमा काम गर्न सफल हुने विश्वास लिएको छु ।’
नवनियुक्त ग्रुप सम्पादक शर्माले तीन दशकको अवधिमा आफूले भेटेरिनरी क्षेत्रमा हासिल गरेको ज्ञान, सीप, अनुभव र बिद्धता भेट टाइम्स मिडिया प्रालिका दुई प्रकाशनको उन्नयन र श्रीवृद्धिमा प्रयोग गर्ने प्रतिबद्धता जनाए ।
सरकारी सेवाका विभिन्न तहमा रहेर ३२ वर्ष सेवा गरेका शर्मा १० वर्ष सहसचिव रहे । पशुपन्छी चिकित्सकको रोजाइमा पर्ने पशु सेवा विभागमा उनले ०७६ वैशाखदेखि ०७७ पुससम्म महानिर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । पशु सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छँदै उनले विश्व पशु स्वास्थ्य संगठनको नेपाल प्रतिनिधिको अतिरिक्त भूमिका पनि निर्वाह गरेका थिए । त्यहाँ उनले चिफ भेटेरिनरी अफिसरका रूपमा पनि डेढ वर्ष काम गरे ।
शर्मासँग बागमती र मधेस प्रदेश कृषि मन्त्रालयको सचिवको अनुभव पनि छ । वल्र्ड बैंकको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) पहिलो प्रोजेक्ट निर्देशक पनि हुन्, शर्मा ।
संखुवासभाको चैनपुर स्थायी ठेगाना भएका शर्मा प्राज्ञिक लेखनमा पनि रुचि राख्छन् । पशुपन्छीसँग सम्बन्धित उनका १० भन्दा बढी पुस्तक प्रकाशित छन् । ‘कुखुरापालन ज्ञान’, ‘पशु स्वास्थ प्रविधि’, ‘बाख्रापालन’ उनीद्वारा लिखित मुख्य पुस्तक हुन् ।
Language »