पशुपन्छी प्राविधिकलाई धक्का, नासाका अध्यक्ष नेउपानेले दिए राजीनामा

काठमाडौं । पशुपन्छी सेवा विधेयकमा पशुपन्छी प्राविधिकतर्फ खुलेको नेपाल एनिमल साइन्स एशोसियसन (नासा) का अध्यक्ष प्रा.डा.श्रीरामप्रसाद नेउपानेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सुरुवातदेखि नै पशु सेवा विधेयकको समर्थन गरिरहेका नासाका अध्यक्ष नेउपानेले पशुपन्छी अध्ययनरत विद्यार्थीको चौतर्फी दबाबपछि पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

नेउपानेले मंगलबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीसँगको सहमतिअनुरूप आफूले नासाको अध्यक्षबाट राजीनामा दिएको जनाएका छन् । साथै उनले यसअघिका कमीकमजोरीबारे समीक्षा गरेर त्यसलाई सुधार गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

‘नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसन, हिकास्ट च्याप्टरले मेरो राजीनामा माग गर्दै पेस गरेको विज्ञप्तिको सन्दर्भमा मेरो र संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ,’ मंगलबार नेउपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसै सन्दभमा ०७९ भाद्र ११ गते कलेज परिसरमा सौहार्दप्रणर् छलफलपश्चात भदौ १२ गते बसेको हिकास्ट बोर्ड र विद्यार्थीहरूको मागलाई मध्यनजर र आत्मसमीक्षा गर्दै मैले भदौ १२ गतेदेखि नेपाल एनिमल साइन्स एसोसिएसन (नासा) को अध्यक्षको रूपमा राजीनामा दिई यसअघि गरिएको प्रतिबद्धताअनुरूप पूणर् रूपमा कार्य गर्ने गरेको जानकारी गराउन चाहन्छु ।’

राजीनामा सम्बन्धमा भेट खबर प्रतिनिधिले राखेको जिज्ञासामा उनले आफू संस्थाबाट अलग भएको बताए । तर थप प्रश्नमा भने अस्वस्थ रहेको भन्दै उनी पन्छिए ।

नेपाल भेटेरिनरी स्टुडेन्ट एशोसियसन (एनभिएसए) ले पशु स्वास्थ्य तथा पशु सेवा परिषदको विधेयकको पक्षमा लागेको भन्दै कलेजबाट निष्कासनको माग गरेर तालाबन्दी गर्दै आएको थियो ।

भदौ १४ गते हिकाष्ट कलेजको प्रिन्सिपलको हैसियतमा अपिल सार्वजनिक गर्दै न्यौपानेले विद्यार्थीको मागबमोजिम विधेयकको पक्षमा उभिने प्रतिबद्धता जनाएका छन् ।

 

पशु सेवा विधेयकका नेउपानेले सुरुदेखि नै द्वेध चरित्र देखाउँदै आएका थिए । केही हप्ता अघि मात्र कलेजका विद्यार्थीहरूसँगको छलफलमा विधेयकको विपक्षमा रहेको प्रष्टोक्ति दिएका केही घण्टा नबित्दै पुनः नेभ्ला र नेल्टाको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्न पुगेका थिए ।

पशु सेवा विधेयकलाई लिएर पशु प्राविधिक र चिकित्सक दुई ध्रुवमा विभाजित बनेका छन् । प्राविधिक पक्षमा खुलेका छन् भने चिकित्सक संशोधन हुनुपर्ने अडानमा छन् । यो विधेयक प्रतिनिधिसभाबाट पारित भएर अहिले राष्ट्रियसभामा पुगेको छ ।

राजिनामाले मात्र आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै विद्यार्थीहरुको आन्दोलन यथावत राखेको भेटेरिनरी स्टुडेन्स एशोसियसनका अध्यक्ष अविनाश ठाकुरले बताए ।

हेर्नुहोस नेउपानेले जारी गरेको राजिनामा