प्राविधिकको आन्दोलनमा अराजनीतिक नारा– शीतल तेरो पाराले, दुःख पाए साराले

शीतल तेरो पाराले, दुःख पाए साराले ‘आर्य घाटले के भन्छ, छट्टु डाक्टर लेऊ भन्छ…’,

‘शीतलकाजी गिलासमा, थाइल्याण्डतिर रिल्याक्समा…’

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको पशुपन्छी विधेयकलाई लिएर पशु चिकित्सक र प्राविधिक अहिले दुई ध्रुवमा विभाजित भएका छन् । चिकित्सकहरू एकपक्षीय र अवैज्ञानिक ढंगले विधेयक अघि बढाइएको भन्दै त्यसलाई रोक्न लागिपरेका छन् भने प्राविधिक बचाउमा उत्रिएका छन् । प्राविधिकको मत छ– विधेयक जनताको पक्षमा रहेकाले कुनै पनि मूल्यमा पारित हुनुपर्छ ।

आ–आफ्नो अडानमा रहेका दुवै पक्ष अहिले आफ्नो पल्लाभारी पार्न सडक तताइरहेका छन् । माथि उल्लेख गरिएको नारा पशुपन्छीसम्बन्धी विधेयक अघि बढ्नुपर्ने पक्षमा देखिएका पशुपन्छी प्राविधिकहरूको संस्था नेभ्ला, नेल्टा र नासाले संयुक्त रूपमा आयोजना गरिएको विरोध कार्यक्रममा बिहीबार लागेको हो ।

लोकतन्त्रमा संविधानको अधीनमा रही आफ्नो हक र अधिकारका लागि लड्ने अधिकार सबैलाई छ । पशु चिकित्सक र प्राविधिकले अहिले सडक तताउन पाएको पनि यही संवैधानिक अधिकारले हो । तर पशुचिकित्सक र प्राविधिकबीचको तिक्तता चुलिँदै जाँदा उनीहरूको संघर्ष र मुद्दा, नीति र प्रवृत्तितर्फभन्दा पनि व्यक्तितर्फ केन्द्रित हुन थालेको छ । यो क्रममा पशु प्राविधिकहरूले आफ्नो लक्ष्मण रेखा नाघेर उत्तेजक र अराजनीतिक नारा लगाएका छन् ।

बुधबार पशु प्राविधिकको प्रदर्शन अघिल्ला दिनको तुलनामा थप उत्ताउलो देखियो । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले अहिले उठाएको मुद्दा व्यक्तिगत नभएर पेसागत हो । तर प्राविधिकहरूको आन्दोलनको दौरान बिहीबार एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलगायतलाई लक्षित गरेर प्राविधिकहरूले असामाजिक र अराजनीतिक नारा लगाएका छन् । यो क्रममा उनीहरूले मुठभेडका लागि आमन्त्रण गर्दै ‘शीतलकाजी कता छौं, सक्छौं भने यता आऊ…’ जस्ता नारा लगाए । जुन नारा पशु प्राविधिकको मुखबाट निस्किँदा कत्ति पनि सुहाएको छैन ।

उग्र पशु प्राविधिकहरूले थाइल्याण्ड घुम्न गएका एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठको निजी जीवनमा समेत हमला गर्न भ्याएका छन् । देश, विदेश घुम्ने उनको नैसर्गिक अधिकार भए पनि यसलाई पशु विधेयकले सिर्जित तित्ततामा मिसाएर व्यक्तिगत लाञ्छना लगाउने तहमा प्राविधिक उत्रिएका छन् ।

विधेयकलाई लिएर विवाद चुलिरहेका बेला श्रेष्ठ थाइल्याण्डमा भ्रमणमा गएका थिए । त्यसक्रममा उनले निजी जीवन बिताउँदै गतिविधि गरेका थिए । आन्दोलनका भीडमा कसैले शीतलकाजीको त्यही गतिविधिसँग जोडेर नारा लगाउन सुझाउँछ ।  जसलाई सुन्नेबित्तिकै भीड उत्साहित हुन्छ र पछ्याउन थाल्छ । यो क्रममा केहीले डा. श्रेष्ठतर्फ लक्षित गरेर अश्लील गालीसमेत गर्न भ्याउँछन् । जुन यहाँ उल्लेख गर्न नमिल्ने खालको छ ।

हरेक मानिसमा मानवता हुन्छ । एक मानवले अर्को मानवलाई सहयोग गर्नु उसको धर्म हो । एउटा सभ्य मानिसले अर्को मानिसको जीवन बचाउन अन्तिमसम्म प्रयास गरिरहन्छ । तर आन्दोलनको उन्मादले चूर भएका प्राविधिकले पशु चिकित्सकको मृत्युको अपेक्षा सडकमा पोखेका छन् । ‘आर्यघाटले के भन्छ, छट्टु डाक्टर लेऊ भन्छ…’ जस्ता हदैसम्मको अराजनीतिक र असामाजिक नारा लगाएर उनीहरूले आफूभित्रको मानवतामाथि नै मजाक गरेका छन् ।

भीडले कहिलेकाहीँ आफ्नो सीमा पार गर्न सक्छ ।त्यस्तो बेला नेतृत्वको दायित्व त्यसलाई लिगमा ल्याउने हुन्छ । त्यसो त प्राविधिकहरूको संगठनको नेतृत्वमा रामप्रसाद मेहतादेखि जनक रावलसम्मका प्रखर, व्यवसायिक, काबिल, अनुशासित, न्यायका पक्षपाती छन् । तर आफ्नो नेतृत्वको आन्दोलनमा यस्ता अराजनीतिक नारा लागिरहँदासमेत उनीहरूले त्यसलाई रोक्नेतर्फ कुनै प्रयास गरेको देखिँदैन । यसले पशु प्राविधिक एजेण्डा र मुद्दा छाडेर व्यक्तिगत आरोप प्रत्यारोपतिर लागेका हुन् कि भन्ने स्वाभाविक प्रश्न उब्जाएको छ ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) का अध्यक्ष जनक रावल भने व्यक्तिगत आरोप प्रत्यारोप गर्ने आफूहरूको कुनै नीति नै नभएको दाबी गर्छन् । तीन संगठनले निर्णय गरेर कुन–कुन नारा लगाउने भन्ने तय गरेको र त्यसमा व्यक्तिगत गालीगलौजका कुनै विषय नरहेको उनी बताउँछन् ।

आन्दोलनका क्रममा व्यक्तिलक्षित नारा लगाइएकोबारे उनले अनभिज्ञता नै प्रकट गरे । यदि कसैले सांगठनिक नीतिविपरीत उत्तेजक नारा लगाएको हो भने त्यो गलत भएको उनले बताए ।

‘तीन संगठनका अध्यक्ष बसेर आन्दोलनमा लगाउने ६/७ वटा नारा निश्चित गरेका छौं । जसमा कसैलाई गालीगलौज गर्ने विषय छैनन्,’ मुद्दा छाडेर गालीगलौजमा उत्रनु भएको हो भन्ने भेट टाइम्सको प्रश्नमा रावलले भने, ‘यदि कसैले जुलुसका क्रममा व्यक्तिलक्षित गरेर मानमर्दन हुने गरी नारा लगाएको छ भने त्यो गलत भयो ।’

रावलले यस्ता नारा लगाउनेमाथि छानबिन गरेर कारबाही नै गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘संगठनको नीतिविपरीत कसैले व्यक्तिको मानमर्दन हुने गरी नारा लगाएको छ भने त्यस्ता व्यक्तिबारे छानबिन गरेर हामी कारबाही गर्छौं,’ रावलले भने ।

पेसागत हकहितका निम्ति भएका आन्दोलनको आफूहरूले सदा सम्मान गर्ने प्रतिबद्धता पनि रावलले व्यक्त गरे ।

पशुपन्छी प्राविधिकले आफूतर्फ लक्ष्य गरेर लगाएको नारालाई एनभिएका अध्यक्ष डा. श्रेष्ठले भने टिप्पणी गर्न लायक नभएको प्रतिक्रिया दिए । अहिले एनभिएले गरिरहेको आन्दोलन प्राविधिकतर्फ लक्षित नहुँदानहुँदै पनि व्यक्तिगत आक्रमण गरिएकोमा उनले दुःख व्यक्त गरे ।

कम छैनन् पशु चिकित्सक पनि

त्यसो त आन्दोलनमा उत्तेजक अभिव्यक्ति दिनेमा पशु चिकित्सक पनि कम भने छैनन् । पशु चिकित्सकका आन्दोलनमा लाग्ने नारा र जारी विज्ञप्तिमा पनि मुद्दाभन्दा गालीगलौज सिञ्चित भएका छन् ।

केही दिनअघि चिकित्सकले गरेको आन्दोलनमा बोल्ने क्रममा एनभिएका एक पूर्व केन्द्रीय सदस्यले कृषि मन्त्रीलाई देश निकाला गर्नुपर्ने उग्र भाषण गरेका थिए ।

एनभिएका अध्यक्ष डा. श्रेष्ठका लेखाइ र अभिव्यक्तिमा पनि बेलाबेला उदण्डता र अभद्रता देखिने गरेको छ । केही दिनअघि उनले पशु प्राविधिकतर्फ लक्ष्य गरेर ‘भिजेलान्ते’ बनेको आरोप लगाएका थिए ।

उनले बेलाबेला सञ्चारमाध्यम र पत्रकारप्रतिसमेत रोष प्रकट गर्ने गरेका छन् । त्यसो त, डा. श्रेष्ठ आफैं पनि सञ्चारमाध्यम बुझेका व्यक्ति हुन् । सञ्चारमाध्यमले पुलको भूमिका खेलेर सूचना तथा जानकारीको विनिमय गर्ने क्षेत्राधिकारबारे उनी भलिभाँती जानकार छन् । सञ्चारमाध्यम साझा मञ्च भएको पनि उनले अनुदार टिप्पणी गर्ने गरेका छन् । केही दिनअघि उनले आप्mनो संगठनको गतिविधिबारे जानकारी राख्ने प्रयास गर्ने पत्रकारतर्फ इंगित गर्दै सामाजिक सञ्जालमा खुफियागिरी गरेको भनेर होच्याएका थिए । पछिल्ला दिनमा पनि उनका यस्ता स्ट्याटस सामाजिक सञ्जालमा जारी छन् ।

पुरा भिडियो हेर्न