एनभिएको संघर्षका कार्यक्रम स्थगन

काठमाडौं । प्रतिनिधिसभाबाट स्वीकृत भई राष्ट्रियसभामा पेस भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक फिर्ता हुनुपर्ने माग राखेर संघर्षमा उत्रिएको नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले तत्काललाई ती कार्यक्रमहरू स्थगित गरेको छ ।

विधेयक एकपक्षीय, अवैज्ञानिक ढंगले अघि बढाइएको जिकिर गर्दै एनभिएले भदौ १ गतेदेखि संघर्षका कार्यक्रम अघि बढाएको थियो । एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठका अनुसार, यसअघि घोषित संघर्षका कार्यक्रम भदौ १२ गतेसम्मका लागि स्थगित गरिएको छ । संघर्षका अन्य कार्यक्रम स्थगित भए पनि सेवा प्रवाहका क्रममा भेटेरिनरियनहरूले कालोपट्टी बाँधेर गरिरहेको विरोध भने यथावत् रहनेछ ।

डा. श्रेष्ठका अनुसार, भदौ १२ पछि संशोधनसम्बन्धमा हुने प्रगतिको समीक्षा गर्दै थप निर्णय हुनेछ । एनभिएले आफ्ना सबै सदस्यलाई संघर्ष गर्नुपर्ने सम्भावना रहेकाले तयारी अवस्थामा रहन पनि भनेको छ ।