पशु सेवा प्राविधिकले भने–विधेयक स्वागतयोग्य, विरोध गर्नु खेदजनक

काठमाडौं । पशु सेवा प्राविधिकहरूले संसदको विकास समितिमा प्रस्तुत पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकको स्वागत गरेका छन् ।

नेपाल एनिमल साइन्स एसोसिएसन, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन र नेपाल पशु स्वास्थ्य सेवा प्राविधि संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विधेयकप्रति ऐक्यबद्धता जनाएका हुन् ।

६० हजारभन्दा बढी पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा अति आवश्यकीय सेवा पुर्याउँदै आएका विशेषज्ञ तथा प्राविधिक जनशक्तिको नियमन तथा व्यवस्थापनको लागि प्रस्तुत विधेयक अति महत्त्वपूर्ण कोशे ढुंगा हुने उनीहरूको भनाइ छ ।

विधेयकप्रति गरिएको विरोधप्रति भने उनीहरूले खेद प्रकट गरेका छन् । नेपाल भेटेरिनरी एसोसिएसनले सोमबार एक विज्ञप्ति जारी गरेर विज्ञप्ति एकपक्षीय र हचुवाको भरमा ल्याइएको भन्दै आपत्ति जनाएको थियो ।

तर पशु प्राविधिकले नेपालको पशुपन्छी तथा मत्स्य विकास क्षेत्रको समग्री विकासमा व्यवधान पुर्याउन खोजेको आरोप लगाएका छन् ।

‘प्रस्तुत विधेयकले पशु चिकित्सा परिषद् ऐन, २०५५ ले समेत पूर्ण रूपमा समेट्न नसकेका पशुपन्छी तथा मत्स्य विकास तथा प्रसार, प्रजनन, पशु आहारा, पशुपन्छी व्यवस्थापन, पशुपन्छी बजार व्यवस्थापन, पशु स्वास्थ्य तथा पशु सेवा व्यवस्थापन, चरन तथा घाँसबाली विज्ञ एवं प्राविधिकहरुलाई समेटेको विद्यमान अवस्थामा यसको विरोध गर्नु भएको नेपालको पशुपन्छी तथा मत्स्य विकास क्षेत्रको समग्र प्रवद्र्धन तथा विकासमा अवरोध सिर्जना गर्नु हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्तिमा