पशुपन्छी व्यवसायी संघका पूर्वउपाध्यक्ष काफ्लेविरुद्ध १० लाख दाबीसहित भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वउपाध्यक्ष करुणा काफ्लेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रामपुरस्थित बहुउद्देश्यीय कभर्डहल निर्माणमा भएको भ्रष्टाचारमा संलग्नको अभियोगमा अख्तियारले तत्कालीन पाल्पा जिल्ला खेलकुद समितिका अध्यक्षसमेत रहेका काफ्लेविरुद्ध ९ लाख ९० हजार बिगो र कैद सजाय माग गरी मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीसँगै पाल्पा जिल्ला खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख ताराबहादुर थापाविरुद्ध पनि उस्तै मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

थापा र काफ्लेविरुद्ध आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा बहुउद्देश्यीय कभर्ड हल निर्माणका क्रममा फर्जी कागजात तयार गरी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको दाबी गर्दै उजुरी परेको थियो । अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ मा उल्लेख भएको प्रावधानविपरीत डीपीआरजस्तो गहन तथा सुक्ष्म अध्ययन हुनुपर्नेमा सो नगरी फिनेस इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लिसँग अति संक्षिप्त रूपको परामर्श सेवा खरिद सम्झौता गरेको, डीपीआर पेस गरेपछि मात्र भुक्तानी दिनुपर्ने त्यसपूर्व नै रु. ९ लाख ९० हजार भुक्तानी गरेको खुलेको थियो । यही अभियोगमा आइतबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यसक्रममा फिनेस इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिका सञ्चालकद्वय सन्देश पाण्डे र झपेन पाण्डेले झुठा बिल भरपाई पेस गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

‘फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा।लिका प्रोप्राइटरले पेश गरेको झुठा विल भरपाईको आधारमा वदनियतपूर्वक फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रा।लि।का प्रोप्राइटरहरू सन्देश पाण्डे र झपेन पाण्डेलाई लाभ र नेपाल सरकारलाई हानि पुर्‍याउने उद्देश्यले निजहरु करूणा काफ्ले र ताराबहादुर थापाले भुक्तानी दिएको हुँदा निजहरुको उक्त कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले रू. ९ लाख ९० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा विगोबमोजिम जरिवाना गरी उक्त विगो असुल उपर हुन मागदाबी लिइएको छ,’ प्रवक्ता भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अख्तियारले फिनेसका सञ्चालकद्वयलाई भुक्तानी भएको रकम जफत गरी फिर्ता गर्न पनि विशेष अदालत, काठमाडौंमा दायर आरोपपत्रमा माग गरेको छ ।

हेर्नुहोस अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आरोपपत्र