नेपालको बाख्रामा पहिलोपटक सिसिपिपी संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पहिलोपटक बाख्रामा सिसिपिपी रोगको संक्रमण पुष्टि भएको छ । बल्र्डफ्लू,रानीखेत, अफ्रिकन स्वाइन फिभरलगायत रोगले पशुपन्छी संक्रमित भइरहेका बेला सुदूरपश्चिम प्रदेशको कैलालीमा सिसिपिपी रोगको संक्रमण पुष्टि भएको हो ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कैलालीले आफ्नो प्रगोगशालामा गरिएको बाख्राको नमुना परीक्षणमा सिसिपिपी पुष्टि भएको जनाएको छ ।

प्रयोगशालाले असार ३० मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कैलालीलाई पत्र लेख्दै सिसिपिपी महामारीकै रूपमा देखिएको जनाएको छ । साथै उसले सिसिपिपीको संक्रमण फैलिएको क्षेत्रबाट बाख्राको ओसारपसार तथा किनबेच बन्द नगर्न सुझाएको छ ।

यस्तो पत्रपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कैलालीले जिल्लाका स्थानीय तहहरूलाई यसबारे सर्कुलर गरेको विज्ञ केन्द्रका प्रमुख डा. हेमराज अवस्थीले बताए ।

के हो सिसिपिपी ?

सिसिपिपी नेपालका पहिलोपटक देखापरेको हो । यो उच्च संक्रामक रोग हो । यसको उचित उपचार नभएमा बाख्रा मर्न सक्छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कैलालीका प्रमुख अवस्थीका अनुसार, यो रोग बाख्रामा लाग्ने माइक्रोप्लाज्मा भन्ने व्याक्टेरियाबाट लाग्छ । यसले विशेष गरेर फोक्सोलाई कमजोर पार्छ र श्वासप्रश्वास प्रणालीमा असर गर्छ । निमोनियाले बाख्रा मर्ने खतरा पनि हुने अवस्थीले जानकारी दिए । जसले गर्दा स्वास फेर्न समेत नसकेर बाख्रा मर्ने गरेको बताए ।

पशुपन्छी चिकित्सकका अनुसार, यसको संक्रमण दुईखाले हुन्छन् । एउटामा लक्षण देखिन्छ भने अर्कोमा देखिँदैन ।

यसबाट संक्रमित बाख्रामा ज्वरो आउने, खोकी लाग्ने, सिँगान आउने, खान मन नगर्नेजस्ता लक्षण देखिन्छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कैलालीका अनुसार, यो संक्रमणको उपचार सम्भव छ ।

डा.अवस्थी कुन औषधि कसरी चलाउने भन्ने विषय यसको उपचारमा महत्त्वपूर्ण हुने बताउँछन् । यसको उपचारमा टाइलोसिनटेट्राइज खोप प्रभावकारी देखिएको छ ।

यो रोग एक ठाउँबाट अर्को ठाउँमा छिट्टै फैलिन सक्ने भएकाले सचेत हुनुपर्ने उनको सुझाव छ । यसबाट संक्रमित बाख्राको उपचारमा दुई महिनादेखि सक्रिय रहेको र त्यसमध्ये धेरै निको भएको उनले बताए ।

पशुपन्छी रोग विशेषज्ञ डा.मुकुल उपाध्याय भने यो रोगको लक्षण विगतमा देखिए पनि आधिकारिक रूपमा  पुष्टि नभएको जानकारी दिए । नेपालमा कुनै नयाँ रोग पुष्टि भएमा त्यसको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा परीक्षण गर्नुपर्ने विश्व पशु स्वास्थ्य संगठनको नियम छ ।उनले भने,त्यसको लागी नमुना विदेशमा पठाएका छौं ।त्यसको नतिजा प्राप्त भएपछी विभागले सार्वजनिक गर्नेछ ।

हेर्नुहोस ओसार पसार तथा किनवेच बन्द गर्न विज्ञ केन्द्रले जारी गरेको परिपत्र