काठमाडौँ । नेपाल भेटेरिनरी विद्यार्थी संघले बागमती प्रदेशको मनहरी गाउँपालिका– ६ जोगीतालमा असार २२ गते बुधबार निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर आयोजना गर्न लागेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडाको सहकार्यमा उक्त शिविर आयोजना गर्न लागिएको संघका अध्यक्ष अविनाश ठाकुर ‘भाल्टर’ले बताए ।
उनका अनुसार शिविरमा निःशुल्क पशु स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण ,गोबर जाँच, परामर्श सेवा र भ्याक्सिनेसन जस्ता सेवा प्रदान गरिने छ ।
पशुपालक किसानलाई समुदायिकस्तरमा निःशुल्क पशु स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्नुका साथै भेटिरिनरी अध्यानरत विद्यार्थीलाई प्रयोगात्मक तथा व्यावहारिक सीप विकासमा सहयोगी हुने अपेक्षासहित शिविरको आयोजना गर्न लागिएको अध्यक्ष ठाकुरले बताए ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. ब्रजकिशोर ठाकुरका अनुसार मझौला तथा साना किसानलाई गाईवस्तुमा लाग्ने मुख्य रोग नियन्त्रण र रोकथामबारे जानकारी दिनु, कृषकलाई स्वास्थ्य, पोषण, प्रजनन, व्यवस्थापन, बीमालगायतका विषयमा जानकारी दिनु तथा कृषकका पशुलाई निःशुल्क स्वास्थ्य जाँच सुविधा र निःशुल्क औषधि वितरण गर्नु शिविरको उद्देश्य छ ।
शिविरमा सबै सरोकारवालाको सहयोग भए पशुपन्छी रोग निदान, उपचार र नियन्त्रर्णमा टेवा पुर्याउने साथै पशु सेवा शाखा केन्द्र वा इकाईबाट टाढा रहेका सम्भाव्य कृषक, उद्यमीलाई पशु स्वास्थ्य सेवा उपलब्ध गराउन प्राथमिकता दिन संस्थाका वरिष्ठ उपाध्यक्ष आकाश सुबेदीले जानकारी दिए ।