नेपालमा पोल्ट्री व्यवसाय जबरजस्त रूपमा विस्तार हुँदै गएको छ । विगत केही वर्ष अघिसम्म कुखुराको परनिर्भर देश अहिले आत्मनिर्भर बनेको छ । व्यावसायिक कुखुरापालन संस्कृति विकास हुँदा देशमा दाना उद्योगहरू पनि चलायमान छन् । देशभर करिब १ खर्ब ५० अर्ब लागतमा दाना उद्योग सञ्चालनमा छन् । यी दाना उद्योगसँग दैनिक १० हजार मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ । दाना उद्योगीहरूको हकहित रक्षाका लागि स्थापना भएको नेपाल दाना उद्योग संघमा हालै दोस्रो कार्यकालका लागि रवीन पुरी चयन भएका छन् । उनै पुरीसँग नेपालका दाना उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनालगायत विषयमा केन्द्रित रहेर भेट टाइम्सले गरेको संवाद :
-
दाना उद्योग संघको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा यहाँलाई बधाई छ ?
धन्यवाद ।
-
दाना उद्योग संघलाई यहाँले नेतृत्व गर्नुभएको कति कार्यकाल भयो ?
दाना उद्योग संघमा यो मेरो दोस्रो कार्यकाल हो ।
-
संघमा फेरि पनि तपाईं नै दोहोरिनु भएछ । किन ?
संघको अध्यक्षको जिम्मेवारी पाउँदै गर्दा यो क्षेत्रमा गर्नुपर्ने धेरै कामहरू थिए । तिनलाई समाधान गर्ने सोच मैले बनाएको थिएँ । तीमध्ये केही पूरा भए पनि कतिपय अधुरै रहे । त्यसको मुख्य कारण थियो- कोभिड-१९र बर्डफ्लू महामारी । यसअघि सारेका योजनाहरू थाती रहेकाले पुनः नेतृत्व लिइदिन साथीहरूको आग्रह थियो । त्यसैले साथीहरूकै चाहनामा म फेरि संघको अध्यक्षमा दोहोरिएको हुँ ।
-
परिस्थिति अनुकूल नहुँदा तपाईंले चाहेर पनि गर्न पूरा हुन नसकेका काम के-के छन् ?
कुखुराको मासुमा नेपाल आत्मनिर्भर भइसकेको छ । कुखुरालाई आवश्यक दाना देशभित्रका उद्योगले उत्पादन गरिरहेका छन् । तर दानाका लागि आवश्यक कच्चा पदार्थमा हामी परनिर्भर छौं । दानामा प्रयोग हुने मकै र भट्मास देशमा पर्याप्त उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । तर सरकारले यसमाथिको कर वृद्धि गरेको छ । जसले गर्दा कुखुराको उत्पादन दर बढेर मासु महँगो पर्न गएको छ । त्यसैले यसमा लगाइएको कर हटाउनुपर्ने आवश्यकता अहिले छ । तर सरकारले सम्बोधन गर्न सकेको छैन । भट्मास र मकैको कर हटाउनु दीर्घकालीन समाधान होइन । यसका लागि हामी आफैं आत्मनिर्भर हुनुपर्छ । यसतर्फ काम गर्ने सोच हुँदाहुँदै पनि अघिल्लो कार्यकालमा पूरा हुन पाएन ।
-
यसबाहेक अरू योजना पनि छन् कि ?
दाना ऐन, २०३३ मा बनेको थियो । ४६ वर्षअघि दानाका दुई प्रकार मात्र थिए । अहिले यो चार किसिमको छ । अहिले अस्तित्वमा रहेका धेरै दानाहरूलाई यो ऐनले चिनेको नै छैन । त्यसैले यसलाई समयसापेक्ष संशोधन गरेर संसद्बाट पारित गराउन जरुरी छ ।
-
पुरानो ऐनका कारण तपाईंहरूले अहिले झेलेका असुविधा र समस्याहरू के कस्ता छन् ?
दानामा नयाँ-नयाँ अवधारणा आइसकेका छन् । त्यतिबेला परिकल्पना नै नगरिएका दाना अहिले प्रयोगमा छन् । तथापि, ऐनमा त्यसको गुणस्तरलगायत विषयबारे केही उल्लेख छैन । मैले माथि नै भनेँ नि टर्की, बंगुरलगायतको दाना अहिले कार्यान्वयनमा रहेको ऐनले चिनेको छैन ।
-
दानाको मूल्य निरन्तर वृद्धि भइरहेको छ । यसको कारण के हो ?
कुखुराको दानाको मूल्यवृद्धिका कारण धेरै छन् । पहिलो त यसमा लगाइएको करले यो महँगो भएको छ । रुस र युक्रेनबीचको युद्धले पनि दानाको मूल्यमा प्रभाव परेको छ । किनभने, विश्वको मकैको मागको २५ प्रतिशत युक्रेनले सप्लाई गर्छ । त्यसपछि मकै धेरै उत्पादन हुने मुलुक भारत हो । युक्रेन युद्धको झमेलामा फसेकाले भारतको मकै अन्य देशहरूमा निर्यात भइरहेको छ । तेललगायतको भाउ पनि योबीचमा बढिरहेको छ । सबै वस्तुको भाउ बढेपछि कुखुराको दाना र मासुको भाउ बढ्नु स्वाभाविक नै हो ।
-
युक्रेन-रुस युद्ध सुरु हुनेबित्तिकै पहिले नै उत्पादन भएको दानाको मूल्य पनि उद्योगीले बढाए भन्ने गुनासो छ नि ?
किसानले दाना महँगो भयो भनेर गुनासो गरिरहनुहुन्छ । यो नयाँ कुरा होइन । हामीले यस्ता विषयलाई तथ्यको कसीमा हेर्नुपर्छ । जस्तोः तेलकै कुरा गरौं । केही समयअघिसम्म यसको मूल्य प्रतिलिटर १५० रूपैयाँ थियो । तर अहिले बढेर ३०० रूपैयाँ पुगेको छ । मकै, भट्मासलगायतको भाउ पनि योबीचमा उसैगरी वृद्धि भयो । कच्चा पदार्थको मूल्य वृद्धि भएकाले मात्र हामीले दानाको मूल्य बढाएका हौं ।
-
यसलाई सस्तो बनाउने उपाय छैन ?
छन् । पहिले कृषि सेवा र भन्सार शुल्क कम थियो । तर अहिले वृद्धि गरिएको छ । यसलाई साविकमा मात्र झार्ने हो भने पनि कुखुराको दानाको मूल्य घट्छ । दानाका लागि मकै र भट्मास चाहिन्छ । जसका लागि आवश्यक हुने मकै र भट्मासको ३० प्रतिशत मात्र नेपालको उत्पादनले धानेको छ । बाँकी भारतबाट आयात भइरहेको छ । यदि दानाका लागि आवश्यक मकै र भट्मास नेपालमा नै उत्पादन हुने हो भने भन्सार शुल्क, भाडा लाग्दैन । यो भार नपर्दा मात्रै पनि दाना निकै सस्तो पर्न जान्छ ।
-
यसतर्फ राज्यको ध्यान अलि नपुगको हो ?
हामीले दानाका लागि मकै र भट्मास आयात गर्न वार्षिक खर्च गर्ने अंक छ, ३४ अर्ब रूपैयाँ । अहिले हाम्रो देशमा धेरै जमिनहरू बाँझो छन् । यदि ती जमिनमा मकै र भट्मास लगाइन्थ्यो भने भारतबाट अर्बौं खर्चनुपर्ने बाध्यता हुँदैनथ्यो । तर यसतर्फ कसैको ध्यान पुगेको छैन ।
-
बाँझो जमिनलाई उपयोग गरेर उत्पादन बढाउनेमा दाना उद्योग संघ साझेदारी गर्न तयार छ त ?
किसानले स्वदेशमा उत्पादन गरेको मकै र भट्मास खरिद गर्न हामी तयार रहेको कुरा हामीले भन्दै आइरहेका छौं । संघको भर्खरै सम्पन्न साधारणसभा र महाधिवेशनमा पनि यो कुरा राखेका थियौं । तपाईंमार्फत पनि म पुनः यो प्रतिबद्धता जायर गर्न चाहन्छु ।
-
बर्डफ्लुले पोल्ट्री क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
बर्डफ्लूका कारण दैनिक कुखुराहरू मरिरहेका छन् । एउटै खोरमा किसानका लाख/दुई लाख कुखुरा मरिरहेका छन् । यसरी कुखुरा मर्दा किसान ठूलो असर पर्छ । हुन त राज्यले केही क्षतिपूर्ति पनि दिन्छ । तर धेरै कुखुरा मर्दा अर्बौं रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने हुन्छ, जुन राज्यका निम्ति सहज छैन । त्यसैले दीर्घकालमा यसको ठूलो असर पर्छ ।
-
बर्डफ्लू सधैंको समस्याजस्तै भइरहेको छ । यसबाट जोगिने उपायहरू के-के हुन सक्लान् ?
बर्डफ्लूको भ्याक्सिन कुखुरालाई लगाउन पाउने हो भने मात्रै पनि प्रकोप निकै हदमा न्यूनीकरण हुनसक्थ्यो । तर दुर्भाग्य, बर्डफ्लू भ्याक्सिनमा सरकारले प्रतिबन्ध लगाएको छ । यो निणर्यमाथि सरकारले तत्काल पुनर्विचार गर्न जरुरी छ ।
-
बर्डफ्लू भ्याक्सिनमाथि प्रतिबन्ध लगाइनुको कारणचाहिँ के हो ?
बर्डफ्लूको भ्याक्सिन लगाएपछि अर्को मुलुकमा मासु निर्यात गर्न नपाइने नियम छ । त्यसैले नेपाल सरकारले पनि यो भ्याक्सिनमा प्रतिबन्ध लगाएको छ । यो अवैज्ञानिक छ । किनभने, नेपालबाट विदेशमा कुखुराको मासु नै निर्यात हुँदैन । पहिलो त, लागत बढी पर्ने भएकाले विदेशमा मासु निर्यात गर्न सकिने स्थिति छैन । अर्को यहाँ उत्पादन हुने मासु स्वदेशमा नै खपत हुन्छ ।
-
अब दाना उद्योगबारे कुरा गरौं । नेपालमा रहेका यस्ता उद्योगहरूको अवस्था अहिले कस्तो छ ?
नेपालमा अहिले १ खर्ब ५० अर्ब रूपैयाँभन्दा बढी लगानीमा खुलेका ११४ वटा दाना उद्योग छन् । कोभिड-१९, बर्डफ्लूलगायत महामारीले पोल्ट्री क्षेत्रमा आएको मन्दीका कारण अस्तित्वमा रहेका दाना उद्योगमध्ये धेरै बन्द हुने अवस्थामा पुगेका छन् । नेपालका दाना उद्योगसँग दैनिक १० हजार मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ । तर दैनिक खपत हुने दाना ३२००-३५०० मेट्रिक टनसम्म छ । क्षमताअनुसार उत्पादन गर्न नपाउँदा अधिकांश दाना उद्योग घाटामा चलेका छन् ।
-
यसको मतलब फेरि पनि दानाको मूल्य बढाउँदै हुनुहुन्छ ?
हो हामी फेरि पनि दानाको मूल्य वृद्धि गर्ने तयारीमा छौं । यो हाम्रो रहरभन्दा पनि बाध्यता हो ।
-
प्रतिकेजी कति रूपैयाँसम्म मूल्य बढाउने सोचमा हुनुहुन्छ ?
अब तुरुन्तै प्रतिकिलो चार रूपैयाँ मूल्य बढ्छ ।
-
दानाको मूल्य वृद्धि गर्ने संयन्त्रचाहिँ कस्तो छ नि ?
त्यस्तो संयन्त्र छैन । उद्योगीहरूले आफ्नो लागत हिसाब गरेर मूल्य तोक्नुहुन्छ ।
-
आफ्नै हात जगन्नाथ गरेर उद्योगीले नै दानाको मूल्य तोक्नु त अलिक अवैज्ञानिक र अव्यवस्थित भएन र ?
सबै उद्योगहरू एकै स्थानमा नभएर फरक फरक ठाउँमा छन् । कुनै विराटनगरमा छन् त कुनै धनगढीमा । त्यसैले स्वाभाविक रूपमा तिनले उत्पादन गर्ने दानाको लागत पनि कच्चा पदार्थको ढुवानीलगायत फ्याक्टरले फरक पर्न जान्छ ।
Language »