शिवशताक्षी नगरपालिकाले गर्यो कुकुर र बिरालोको बन्ध्याकरण

काठमाडौं । शिवसताक्षी नगरपालिका क्षेत्रका सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोपसँगै स्थायी बन्ध्याकरण गरिएको छ ।

शिवशताक्षी नगरपालिकाको आयोजना तथा पज सोसाइटी नेपाल र नेपाल भेटेरिनरी एशोसिएसन प्रदेश नं. १ को प्राविधिक सहयोगमा खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको संयोजक पज सोसाइटी, नेपालका अध्यक्ष सकुन सुब्बा टुम्म्रोकले गरेका थिए । पज सोसाइटी पशु अधिकारको क्षेत्रमा अग्रसर संस्था हो ।

सामुदायिक कुकुरको संख्या न्यूनीकरण र रेविज उन्मुलनका निम्ति जेठ २१ र २२ गते कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

दुवै दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म झापाको भूपू सैनिक प्राङ्गण दूधेमा सञ्चालित अभियानमा १४० कुकुर र १० बिरोलोको स्थायी बन्ध्याकरण गरिएको थियो ।

स्थायी बन्ध्याकरण गरिएका कुकुर तथा बिरालोलाई रेविजविरुद्धको खोप लगाएर टल्किने पेटी बाँधेर छाडिएको छ । बन्ध्याकरण गरिएका र रेविजविरुद्ध खोप लगाइएका कुकुर र बिरालोको पहिचान सहज होस् भन्नका खातिर यसो गरिएको नगरपालिकाले जनाएको छ ।

शिवशताक्षीका प्रमुख मेघहाङ्ग थोप्रा (रोशन) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका पशु सेवा शाखा प्रमुख राम अवतार यादवलगायत कर्मचारीको उपस्थिति थियो ।