काठमाडौं । सरकारले पशुपन्छी औषधि व्यवसायीलाई अब तालिम दिने भएको छ । एसएलसी पास गरी भेटेरिनरी पसल दर्ता गरी सञ्चालन गरिरहेका, पशु सेवा विभागबाट पशु सेवासम्बन्धी १५ दिनभन्दा बढी समयको तालिम पाएका र अंग्रेजी विषय लिई एसएलसी, एसईई (प्राविधिक एसएलसी) उत्तीर्णलाई पशु सेवा विभागले तालिम दिन लागेको हो ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघका तत्कालीन अध्यक्ष भूपेन्द्र गौतम नेतृत्वको कार्यसमितिले पशुपन्छी औषधि व्यवसायीलाई तालिम उपलब्ध नीति अघि सार्दै निरन्तर दबाब दिँदै आएको थियो ।
त्यसैअनुरूप औषधि सल्लाहकार समितिको ०७६ भदौ ३० को बैठकले भेटेरिनरी औषधि पसल दर्ता गरेकालाई तालिम दिने निर्णय भएपछि विभागले तयारी अघि बढाएको हो । यसका लागि विभागले पशुपन्छी औषधि व्यवसायी तालिम सञ्चालन कार्यप्रक्रिया, २०७९ तयार गरेको छ । यसको स्वीकृतिपछि कार्यान्वयन गर्ने कार्यप्रक्रियामा उल्लेख छ ।
यसअघि पशुपन्छी औषधि व्यवसायी संघले बेलाबेला यस्ता तालिम सञ्चालन गर्ने गरेको थियो । योसँगै अब पशुपन्छी औषधि व्यवसायी लाभान्वित हुने भएको छ ।
देशका सबै स्थानमा भेटेरिनरी औषधिको सहज र सरल उपलब्धता सुनिश्चत गर्न तथा गुणस्तरीय भेटेरिनरी औषधिको बिक्री–वितरणलाई व्यवस्थि तगर्न तालिम सञ्चालन गर्न लागेको हो।
क–कसलाई दिइनेछ तालिम
तालिमलाई व्यवस्थित गर्न पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सकको संयोजकत्वमा तालिम व्यवस्थापन तथा सञ्चालन समिति गठन हुनेछ । सदस्यमा औषधि व्यवस्था विभागबाट २, पशु सेवा विभागबाट एक जनाको प्रतिनिधित्व रहनेछ । सदस्य–सचिवको भूमिका औषधि व्यवस्था विभागका अधिकृतले गर्ने तालिम सञ्चालन कार्यप्रक्रियामा उल्लेख छ ।
समितिले तालिमका लागि आवश्यक पाठ्यक्रम तयार गर्ने, स्वीकृत पाठ्यक्रमअनुसार तालिमलाई व्यवस्थित गर्ने छ ।
तालिम एसएलसी पास गरी भेटेरिनरी पसल दर्ता गरी सञ्चालन गरिरहेकालाई दिने तयारी छ । त्यसैगरी, पशु सेवा विभागबाट पशु सेवासम्बन्धी १५ दिनभन्दा बढी समयको तालिम पाएकाले पनि लिन सक्नेछन् । अंग्रेजी विषय लिई एसएलसी, एसईई (प्राविधिक एसएलसी) उत्तीर्णलाई पनि तालिम दिने विभागको तयारी छ ।
व्यावसायीलाई तालिम दिने सम्बन्धमा दुईवटा विभाग विच भएको सम्झौता लाई सकारात्मक भएको भन्दै अब चाडैनै तालिम शुरुहुने नेपाल पशुपन्छी औषधि व्यावसायी संघका कार्यवाहक अध्यक्ष रितेश रिमालले बताए ।