काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र सापकोटाले पशुपन्छी औषधि व्यवसायीका समस्या आजको आजै समाधान नहुने बताएका छन् । यसका लागि सबै व्यवसायीहरू उत्तरदायी भएर लाग्नुपर्ने बताए ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती प्रदेशले आइतबार नवनियुक्त केन्द्रीय पदाधिकारी एवं भगिनी संस्थाका पदाधिकारीको बधाई तथा अन्तरक्रियाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै सापकोटाले यस्तो बताएका हुन् ।
उनले भने, ‘चुनाव जितेर आयो भन्दैमा जादुको छडीजस्तो ट्याक्कट्याक्क जता छोयो त्यतै समाधान हुँदैन ।’
व्यवसायीमा एकलाई पीडा हुँदा अर्कोलाई दुख्ने भावनाको विकास नभएसम्म व्यवसायी समस्या ज्यूँकात्यूँ रहने उनले बताए । समस्या समाधानका लागि नेतृत्व लिन तयार भएको तर व्यवसायीले पनि साथ दिनुपर्ने आग्रह उनले गरे । ‘म व्यवसायीको समस्या समाधानका निम्ति नेतृत्व लिन तयार छु,’ उनले अगाडि थपे, ‘म अगाडि लाग्दा मेरोपछाडि व्यवसायीको जुलुस भएमा जस्तोसुकै समस्या पनि समाधान गर्न सकिन्छ ।’
व्यवसायीको समस्या समाधान निम्ति तीन–तीन पटक नेतृत्व लिन पहल गरेको उल्लेख गर्दै उनले आश्वस्त पार्ने प्रयास गरे ।
पुस्तान्तरण लायक बनाउने हो भने आजैदेखि व्यवसाय मर्यादित बनाउनुपर्ने उनले बताए ।
आफुले तत्कालीन र दीर्घकालीन समस्याको पहिचान गदै लाग्ने प्रतिबद्धता पनि सापकोटाले व्यक्त गरे ।
बागमती प्रदेश अध्यक्ष ईश्वरी आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पुर्व अध्यक्षहरूले समेत व्यवसायीका समस्याबारे भनाइ राखेका थिए ।
बागमती प्रदेश कार्यसमिति अध्यक्ष ईश्वरी आचार्यले बागमती प्रदेश सरकारले व्यवसायीका समस्या समाधान गर्न ऐनमा नै व्यवस्था गर्न लागेकोले राय सुझाव दिन आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यलाई बागमती प्रदेश अध्यक्ष आचार्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।