पशु सेवा विभागको महानिर्देशकमा तिवारी नियुक्त

काठमाडौं । पशु सेवा विभागको महानिर्देशकमा डा. रमानन्दन तिवारी नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णय गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको हो ।

गत माघ १० गत डा. दमयन्ती श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि विभाग महानिर्देशकविहीन थियो । महानिर्देशकका लागि तिवारीसँगै सम्झनाकुमारी काफ्लेलगायतले इच्छा देखाएका थिए । तर कृषि मन्त्री महिन्द्र राय यादवले महानिर्देशक नियुक्तिका लागि चलखेल गरेका थिए । उनले रकम माग गरेर विभागलाई अनिर्णयको बन्दी बनाएको खबर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुगेको र उनले मन्त्रीको कार्यशैलीबारे आपत्ति जनाएको खबर आइतबार मात्रै भेट खबरले सार्वजनिक गरेको थियो । मन्त्रीले महानिर्देशकका लागि अघोषित टेण्डर गरिरहेका बेला तिवारी प्रतिस्पर्धीलाई पछि पार्दैै महानिर्देशक बन्न सफल भएका हुन् ।

नवनियुक्त महानिर्देशक तिवारीले युवा पुस्ताको हातमा विभागको नेतृत्व आएको बताए । उनले एक्लै केही गर्न नसकिने उल्लेख गर्दै टिम वर्कको आधारमा विभागलाई गतिशील बनाउने भेट खबरलाई प्रतिक्रिया दिए ।

‘विभागको नेतृत्व युवाको काँधमा आएको छ । अब टिम वर्कका आधारमा पशुपन्छी क्षेत्रको बृहत्तर हित हुनेगरी काम गर्नुपर्छ,’ उनले भने ।

तिवारीसँग पशु सेवा विभागको उप–महानिर्देशकको अनुभव छ । उनी यसअघि प्रदेश नं. १ कृषि मन्त्रालयमा सचिव थिए । उनलाई केही महिनाअघि मात्रै संघीय मंत्रालयमा तानिएको थियो ।