डा. हर्षरत्न शाक्य नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघका पूर्वअध्यक्ष हुन् । यो क्षेत्रलाई मर्यादित बनाउन क्रियाशील शाक्य अनेक चुनौती अगाडि देख्छन् । पशुपन्छी औषधि व्यवसायी संघको १३ अधिवेशनको अवसरमा शाक्यसँग भेट टाइम्सले गरेको संवादः-
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको जिम्मेवार सदस्य हुनुहुन्छ । के संघको हालखबर ?
सबैभन्दा पहिले त म यस नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १३ औं अधिवेशनको पूणर्सफलताको शुभकामना व्यक्त गर्न चहन्छु । अहिलेको परिप्रेक्ष्यमा भन्नु पर्दा हाम्रो नेपाल पशुपन्छी औषधि व्यवसायी संघ राम्रै दिशातर्फ अग्रसर हुँदैछ । नेपालमा पशु औषधि व्यवसायीहरू को व्यापक व्यवसायीकरण भइरहेको छ । र, पशु औषधिको माग दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो दृष्यले नेपालमा पशु तथा कुखुरापालन व्यवसाय तीव्र गतिमा बढिरहेको स्वतः सिद्ध हुन्छ । व्यवसायीहरूको संख्या बढ्नु भनेकै संघको जिम्मेवारी बढ्नु हो । यस्तो अवस्थामा संघले आफ्ना सदस्य व्यवसायीहरूलाई उच्च गुणस्तर भएको पशु औषधिहरू मात्र बिक्री-वितरण गरी किसानहरूको उत्पादन बढाउन समय-समयमा सचेत गराउनु पर्छ । न्यून गुणस्तर भएका पशु फिडसप्लिमेन्टहरू बजारमा छ्यापछ्याप्ती देखिनु हाम्रो नेपाल पशुपन्छी औषधि व्यवसायी संघका लागि अत्यन्तै ठूलो चुनौती हो । यसको निराकरण निम्ति हामी पशु सेवा विभागसँग सहकार्य गरिरहेका छौं । समस्या निराकरण निम्ति एकीकृत ढंगले पहलकदमी हुनु सकारात्मक कुरा हो ।
नेपाल पशुपन्छी औषधि व्यवसायीको संघका क्रियाकलाप सन्तुष्ट हुनुहुन्छ ?
संघले अतीत बेलाका विभिन्न विवादित क्रियाकलापबाट पाठ सिकी त्यसलाई दोहरिन दिएको छैन । किसानलाई उच्च गुणस्तरको पशु औषधि उपलब्ध गराउने लक्ष्यका साथ अघि बढ्नु राम्रो सुरुवात हो । यस संघसामु अनेकौं चुनौतीहरू छन् । ब्राण्ड चोरी, न्यून गुणस्तरका औषधि उत्पादन वा पैठारी बिक्री-वितरण तीमध्ये खास हुन् । यस्ता क्रियाकलाप रोक्न सकेको अवस्थामा मात्र सन्तुष्ट हुन सकिन्छ ।
व्यवसायीका समस्या पनि होलान् नि ?
समस्या अनगिन्ती छन् । सबैभन्दा ठूलो समस्या त हामीले गाई, भैंसी तथा कुखुराहरूलाई विभिन्न रोगहरूको निदानका लागि चाहिने अतिआवश्यक पशु औषधिहरू उपलब्ध गराउन सफल भइराखेका छैनौं । यसको मुख्य कारण औषधि व्यवस्था विभागले त्यस्ता अतिआवश्यक पशु औषधिहरू पैठारी गर्न पैठारी सिफारिस नदिनु हो !
म नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघको अध्यक्ष भएको बेला पशु औषधिहरू दर्ता थिएनन् । थुप्रै प्रयासपश्चात औषधि व्यवस्था विभागमा केही पशु औषधिहरू विभिन्न पैठारीकर्तामार्फत दर्ता गराउन सफल भयौं । नत्र त नाम्लेको औषधि नै दर्ता थिएन । पैठारी गर्न नपाउने ! अहिले पनि गाई तथा भैंसीमा लाग्ने मिल्क फिवरमा उपयोगी क्याल्सियम बोरोग्लुकोनेत, बेबसिओसिस , ब्लैक क्वारटर, हेमोरेजिक सेप्तिसिमियाजस्ता रोगका औषधिहरू उपलब्ध छैन । किनभने, अझैसम्म पनि ती औषधिहरूलाई दर्ता गर्न सकिराखेको छैन ।
अर्को समस्या पनि छ । भारतबाट आनियन्त्रित रूपले न्यूनस्तर तथा स्तरहीन फिड सप्लिमेन्टहरू पैठारी भइराखेको छ । अर्को कम्पनीका औषधिको नाम राखी नक्कली औषधि पैठारी गर्ने, लेवेलमा फिड सुप्लिमेन्ट, भित्र एन्टिबायोटिक राखी अनैतिक तवरले पैठारी गर्नेजस्ता क्रियाकलाप विद्यमान छ । यो निन्दनीय छ ।
व्यवसायीहरू स्तरयुक्त व्यबसायी हुनुको सट्टा मुनाफाखोरी भएर जानु दुःखद् छ । यसलाई जसरी भए पनि नियन्त्रण गर्नु अतिआवश्यक छ । यहाँनिर व्यवसायीको सचेतता पनि उत्तिकै अपरिहार्य छ ।
अहिले फेरि नेपाल राष्ट्र बैंकबाट जुन नयाँ पैठारी नीति ल्याइयो, यो पनि अतिनिन्दनीय छ । पशु फिड सप्लिमेन्टहरू जुन भन्सार दरबन्दी २३०९९० बाट आउँछ, त्यो पैठारी गर्दा अग्रिम भुक्तानी गर्नुपर्ने, बैंकबाट ऋण लिन नपाउने नियम छ । यस्ता नियमले कसरी पशु फिड सप्लिमेन्ट पैठारी गर्ने ? यस्ता प्रावधानले जहिले पनि मर्ने किसान नै हुन् । यदि यो लागू भयो भने नेपालमा गाईपालन तथा कुखुरापालन व्यवसाय नै लोप भएर जानेछ ! हाम्रो भन्सार नाकाका कर्मचारीहरू पनि अजीव किसिमका प्राणी हुन् । पशु फिड सप्लिमेन्टहरू तथा औषधिको प्याकमा कुकुर तथा बिरालोको फोटो देख्यो कि १०% भन्सार महसुलको सट्टा ३०% देखि ६०% सम्म लगाउने गरिन्छ । अझ यतिले नपुगेर त्यसमाथि १३% भन्सार पनि थोपरिएको छ । यस्तो गर्न थालेपछि औषधिको भाउ बढ्दैन ।
पशु सेवा विभाग तथा औषधि व्यवस्था विभागबाट प्रत्येक पशु फिड सप्लिमेन्ट तथा औषधिमा अनिवार्य एमआरपी हुनुपर्ने कडा नियम हुँदाहुँदै पनि कतिपय पैठारीकर्ताहरूले बिना एमआरपीका पशु फिड सप्लिमेन्ट तथा औषधिहरू कसरी भन्सारबाट पास गरी ल्याउँछन् । त्यो अनुसन्धानको विषयलाई नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघले गम्भीर रूपले लिनुपर्ने देखिन्छ । यो त सोझै किसान मार्ने क्रियाकलाप हो । यसलाई जसरी भए पनि निरुत्साहित गर्नुपर्छ ।
हरेक दुई वर्षमा नेतृत्व परिवर्तन हुने तर समस्या जस्ताका तस्तै हुनुमा को दोषी देख्नुहुन्छ ?
विगत वर्षहरूको अनुभवको आधारम़ा त यो तपाईंको प्रश्न जायज छ । यसमा त म संघका सदस्य साथीहरू नै दोषी छन् भन्छु । नेतृत्वको जिम्मेवारी दिँदा संस्थालाई नेतृत्व दिनसक्ने हुनुपर्छ । राजनीति गर्न जान्ने तर सवल नेतृत्व प्रदान गर्न नजान्ने/नसक्नेलाई जिम्मा दिएपछि यस्तै हुन्छ । अहिलेको नेतृत्व त राम्रै छ । राम्रै काम गरेको देखेको छु । नेतृत्व लिन भोलि कस्ता व्यक्ति आउलान्, त्यो हेर्ने बाँकी छ ।
आसन्न अधिवेशनबाट नयाँ नेतृत्व चुनिदैछन् । कस्तो नेतृत्वको अपेक्षा राख्नुहुन्छ ?
राम्रो छवि भएका, कलंकको टीका नलागेका व्यक्ति छान्नु संघका सदस्यहरूको जिम्मेवारी तथा कर्तव्य हो । आफ्नो व्यवसायलाई मर्यादित बनाउने काम मर्यादित व्यवसाय गर्ने व्यक्तिबाट मात्रै सम्भव छ । आमर्यादित व्यवसाय गर्ने मान्छे नेतृत्वमा आयो भने संघको गरिमा रहन्न ।
आगामी कार्यसमितिलाई के सल्लाह दिन चाहनुहुन्छ ?
स्वच्छ छवि भएको, कलंकरहित व्यक्तिलाई संघको नेतृत्वमा चयन गर्न नेपाल पशुपन्छी औषधि व्यवसायी संघका सम्पूणर् सदस्य साथीहरूलाई मेरो सल्लाह छ ।