भारतीय कम्पनीका १२ फिड सप्लिमेन्ट गुणस्तरहीन

काठमाडौं । भारतीय कम्पनीले उत्पादन गरी नेपाली बजारमा पठाएका पशुपन्छीका एक दर्जन फिड सप्लिमेन्ट गुणस्तरहीन प्रमाणित भएको छ । पशु सेवा विभागले गरेको प्रयोगशाला परीक्षणबाट यी फिड सप्लिमेन्ट गुणस्तरहीन प्रमाणित भएका हुन् ।
१२ वटा फिड सप्लिमेन्ट गुणस्तरहीन प्रमाणित भएपछि आयात तथा बिक्री वितरण हाललाई रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न निर्देशन दिएको विभागले जनाएको छ ।

गुणस्तरहीन प्रमाणित भएकामा कलश भेट हेल्थ केयर युनिट इण्डियाको मात्रै चार उत्पादन छन् । विभागका अनुसार यो कम्पनीको ब्याच नं. केभी–४६७ आरबी टोन फोर्ट, ब्याच नं. केभी४५९, ब्याच नं. केयू–४५९ भिटामिन–एच, ब्याच नं. ४७० आज–काल–फोर्ट र ब्याच नं. केभी ४६३ को द्यान केयर पाउडर छ ।
त्यसैगरी, हर्बल फर्मुलेशन, इण्डियाको विभिन्न ब्याचका एम भिटोसोल, एम–कल फोर्ट एडी३ र एम–फेरलमा पनि आवश्यक मात्रा नभएको पाइएको छ । जसको ब्याच नं. क्रमशः एच भी ३९०, एचएम २८३, र एचपी ३८९ छ ।
विभागका अनुसार गामी हेल्थ केयर इण्डियाको अल फेरल, अलफिन फोर्ट र ग्रोकाल पनि गुणस्तरहीन भेटिएको छ । यिनीहरूको व्याच नं. क्रमशः जीएचसी ०१७, जीएचसी ०११ र जीएचसी ०३२ छन् ।
पारा भेट फर्माको ब्याच नं. एसटीए १०३ रहेको स्ट्रोङ भिट एडी३ लिक्विड र अरबिन्द हर्बल ल्याबको ब्याच नं. एसीए२१७ को आरभिकल एडी३ मा पनि आवश्यक मात्रा फेला नपरेको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

खासगरी भारतीय कम्पनीका पशुपन्छीका फिड सप्लिमेन्ट पछिल्लो समय गुणस्तरहीन फेला पर्न थालेका छन् । गत महिना पनि विभागले भारतीय कम्पनीका फिड सप्लिमेन्ट प्रयोगशाला परीक्षणमा गुणस्तरहीन प्रमाािणत भएपछि बिक्री वितरणमा रोक लगाउँदै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो ।