२०४७ सालमा स्थापना भएको नेपाल पशुपन्छी औषधि व्यवसायी संघले विभिन्न कालखण्डमा विभिन्न किसिमका उपलब्धिहरूको रक्षा गर्दै अहिलेको नेपालका सम्पूणर् प्रदेशमा आफ्ना शाखाहरूको विस्तार समेत गरेको पाइन्छ । संघको फराकिलो दायरा एवं व्यवसायमा समेत ठूलो लगानी भएको क्षेत्रका रूपमा परिभाषित यस संस्थाको नेतृत्व तहमा पुग्न पछिल्ला वर्षहरूमा ठूलै जोडबल हुने गरेको छ । अहिले नेपालमा पशुपन्छीको औषधि बिक्री-वितरण गर्ने हरेक व्यवसायीले यस संस्थाको आवश्यकताको महसुससमेत गर्ने गरेका छन् । संघको १३ औं अधिवेशनको अवसर पारेर हामीले नेपाल पशुपन्छी औषधि व्यवसायी संघका संस्थापक महासचिव मधुसुधन गुरागाईंसँग स्थापनाकालमा झेलेका आरोह-अवरोह, समसामयिक अवस्थाबारे भेट टाइम्सका लागी राजन प्रसाईँ संग गरिएको कुराकानीको अंशः
भेट टाइम्समा यहाँलाई स्वागत छ ?
धन्यवाद । तपाईंहरूले सुरुवाती समयदेखि नै फरक तरिकाले पत्रकारिता गर्दै पशुपन्छी र यससँग सम्बन्धित विषयवस्तुहरूलाई उठान गर्दै आउनुभएको छ । यसले सम्पूणर् व्यवसायी, कृषक र नीति निर्माताहरूलाई समेत विषयगत ज्ञान प्राप्तिका लागि मद्दत मिलेकोे छ । मूलधारका पत्रपत्रिकामा सीमित मात्रै आउने पशुपन्छी क्षेत्रका समाचारहरू भेट टाइम्समा गहन रूपले आउन थालेको छ । खुशी लागेको छ तपाईंहरूको सत्कर्मप्रति ।
यहाँ आफंै संस्थापक महासचिव भएर स्थापना गर्नुभएको संस्था अहिले देशैभर आफ्नो सञ्जाल विस्तार गर्दै निकै नै धेरै सदस्यहरूलाई समेटेर विस्तार भइरहेको छ । यहाँलाई कस्तो महसुस भएको छ ?
अत्यन्तै खुसीको अनुभूति भइरहेको छ । मेरै क्रियाशीलतामा विधान तयारीलगायत दर्ताका कामहरू भएको अझ भनौं आफैंले रोपेको बिरुवा आज ३१ वर्षको भएको छ । गैरराजनीतिक, गैरनाफामूलक र सामाजिक संस्थालाई तीन दशकसम्मको कठिन यात्रा पार गर्दै यहाँसम्म ल्याइपुर्याउने व्यवसायी साथीहरूको योगदानलाई उच्च सम्मान दिन्छु । त्यतिखेर र अहिलेको अवस्थामा धेरै फेरबदल भइसकेको छ । जतिखेरसम्म म पनि यो व्यवसायमा आवद्ध थिएँ, त्यतिखेरसम्म हालको झैं पशुपन्छी पालनमा खासै व्यापकता थिएन, अधिकांश पशुपन्छी पालन व्यवसायहरू शहरी तथा अर्धशहरी इलाकामै केन्द्रित थियो । पशुपन्छी पालन निर्वाहमुहीबाट क्रमशः व्यवयसायमुखी हुँदै थियो । हाम्रा व्यवसायीहरू पनि काठमाडौं, पोखरा, चितवन, मकवानपुर, बीरगञ्ज, जनकपुर, बिराटनगर र झापाका शहरहरूमै केन्द्रित थिए । तीनै केन्द्रबाट दूरदराजसम्म पशुपन्छीका औषधि तथा सामग्रीहरू जान्थ्यो । सीमित व्यवसायीहरू रहेको अवस्था एकातिर थियो भने अर्कातिर संघको आवश्यकता बोध खासै नभएको अवस्था थियो । त्यतिखेर चाहेर पनि नेपालभर शाखा बिस्तार गर्न सक्ने परिस्थिति थिएन ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको स्थापना गर्ने परिकल्पना कसरी गर्नुभयो त्यो बेलाका केही स्मरणहरू बाँडिदिनुहोस न ?
वि.सं. २०४७ सालसम्म भेटेरीनरी औषधि र फीड सप्लिमेन्टहरूलाई भन्सार विभागले मूल्यको एक प्रतिशतमात्रै भन्सार लिने गरेको थियो । त्यसै वर्षको बजेट भाषणबाट लागू भएको नयाँ आर्थिक ऐनले भेटेरिनरी औषधि र फीड सप्लिमेन्टहरूमा भन्सार महसूलको दर एकैपटक बढेर पाँच प्रतिशत पुग्यो । यसबाट बल्लतल्ल औषधिको उपयोग गर्न थालेका किसानहरूले बढी मूल्य तिर्नु पर्ने भएपछि पशुपन्छीहरूको स्याहारमा ध्यान नदिने हुन् कि भन्ने आशंका जन्मियो । सरकारको यस निणर्यसँगै अग्रज व्यवसायीहरू गोविन्दराम श्रेष्ठ, तप्तराज वन्त, प्रदीपकुमार श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ र मसहित भन्सार विभागमा पुगि महानिर्देशकज्यूलाई बढेको भन्सार दर लागू हुँदा पशुपालनमा बिस्तारै आकर्षित बन्दै गएका कृषकहरूलाई मर्का पार्ने भएकाले पुरानै दर कायम गरिदिन अनुरोध गर्यौं ।
तर, आर्थिक ऐनमा आइसकेको महसूल दरलाई संशोधन गर्ने काम अर्थ मन्त्रालयले मात्रै सक्ने कुरा महानिर्देशकज्यूले जानकारी दिनु भएपछि हामी पशु सेवा विभागमा हारगुहार माग्न पुग्यौं । त्यतिखेरका महानिर्देशक डा. उदय सिंहज्यूले हामीहरूको कुरा गम्भीरतापूर्वक सुनेर तत्कालै आवश्यक सहयोग गर्ने वचन दिनु भयो । विभागबाट फर्केर आएपछि गोविन्दराम श्रेष्ठको वटुटोलस्थित भेटेरिनरी मेडिकल सप्लायर्सको कार्यालयमा काठमाडौंमा उपलब्ध भएजति सबै व्यवसायीहरूलाई डाकेर छलफल चलायौं ।
त्यही छलफलले पशुपंछी औषधि व्यवसायमा योसँगै भविष्यमा आउन सक्ने समस्याहरूको समाधान गर्न र व्यवसायीको हकहित कायम गर्नका लागि एउटा साझा संस्थाको आवश्यकता महसूस भयो ।
तत्काल संस्था गठन गरेर पशु सेवा विभाग, भन्सार विभाग र अर्थ मन्त्रालयमा पत्राचार गर्नु पर्ने भएकाले नजिकै रहेका व्यवसायीहरूलाई समावेश गरेर ‘नेपाल पशुपंछी औषधि व्यवसायी संघ’ को तदर्थ समिति गठन गर्यौं । समितिमा ७ जना पदाधिकारीहरू रहने व्यवस्था गर्यौं ।
समितिको संस्थापक अध्यक्षमा भेटेरीनरी मेडिकल सप्लायर्सका सञ्चालक श्री गोविन्दराम श्रेष्ठ, उपाध्यक्षमा सन्तबहादुरभरतबहादुरका सञ्चालक श्री नरेन्द्रबहादुर श्रेष्ठ, महासचिवमा सेन्ट्रल एग्रोभेट सप्लायर्सबाट सञ्चालक म आफैं मधुसुधन गुरागाईं, कोषाध्यक्षमा पोलभेट ड्रग हाउसका सञ्चालक कमल शाक्य र निर्देशक(कार्यसमिति सदस्य)हरूमा भेटेरिनरी कन्सर्नका सञ्चालक श्री तप्तराज वन्त, शणर् एग्री सेन्टरका सञ्चालक श्री प्रदीपकुमार श्रेष्ठ र एभरेष्ट एग्रोभेट सेन्टरका सुश्री लक्ष्मी भण्डारीलाई चयन गर्यौं ।
त्यतिखेर एभेरष्ट एग्रोभेट सेन्टरमा तीनजना साझेदारहरू क्रमशः जगन्नाथ चापागाईं (भेटेरीनरी अस्पताल त्रिपुरेश्वरमा कार्यरत), प्रह्लाद भण्डारी र विष्णुप्रसाद चापागाईं (नेपाल दूरसञ्चार संस्थान)मा जागीरे हुनु भएकाले संस्थामा बस्न नमिल्ने भन्दै प्रह्लादका बहिनी लक्ष्मीलाई पदाधिकारीमा राखिएको थियो । संस्थाको विधान बनाउनेलगायतका कामहरू सम्पन्न गर्दै हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिति २०४७ साल पौष २४ गतेका दिन दर्ता नम्बर २०६ बाट नेपाल पशुपंछी औषधि व्यवसायी संघको विधिवित दर्ता प्रमाणपत्र पायौं । त्यसपछि भेटेरीनरी मेडिकल सप्लायर्सको तत्कालीन कानपा वडा नं २४, वटुटोलस्थित घर नम्बर ग-१-४८८ मा सम्पर्क कार्यालय खोल्यौं ।
संस्था दर्ता भएपछि औषधि व्यवस्था विभाग र पशु सेवा विभाग दुबै निकायमा जानकारी दियौं र आवश्यक सहयोग/सल्लाहहरू लिने क्रम जारी रह्यो । औषधि व्यवस्था विभागले बढी मात्रामा ‘ह्यूमन’ औषधिको नियमन गर्ने भएकाले भेटेरिनरी औषधिहरूलाई खासै महत्व नदिँदा पशु सेवा विभागकै सहयोगमा व्यवसायलाई अघि बढाउने क्रम चलिरह्यो । पशु सेवा विभागकै सिफारिशमा भन्सार विभागले पाँच प्रतिशत महसूलमा ८० प्रतिशत छुट दिने निणर्य गरेपछि एक प्रतिशत भन्सार दरमै पशुपन्छीका औषधि र फीड सप्लिमेन्टहरू आयात हुन थाल्यो ।
पक्कै पनि व्यावसायिक संघ संगठन भन्ने बित्तिकै व्यावसायीकै हकहितको लागि स्थापना भएकै हुन्छ तर पछिल्ला वर्षहरूमा संगठनका सदस्यहरूले संस्थाका काम कारबाहीप्रति धेरै नै गुनासाहरू गरेको सुन्न पाइन्छ यसको खास कारण के होला ?
कुनै पनि संघसंस्थाको सदस्यता स्वेच्छिक हुन्छ । स्वेच्छाले सदस्यता लिइए पनि संस्थाको बिधानलाई अक्षरशः पालना गर्नु प्रत्येक सदस्यको दायित्व हुन्छ ।
त्यस्तै, जतिसुकै ठुलो फर्म, कारोवार, व्यवसाय रहेछ भने पनि हरेक सदस्यको संघमा समान अधिकार रहन्छ । संघमा नेतृत्व तहमा बसेका पदाधिकारीहरूले पनि हरेक सदस्यहरूको हितका खातिरमा काम गर्नु प्रमुख कर्तव्य हुन्छ । अब कुरा आयो संस्थाका काम कारवाहीप्रतिका गुनासाहरू, यस्ता गुनासाहरू नआउने गरी सेवा प्रदान गर्नेमा कार्यसमितिमा रहेका पदाधिकारीहरूको प्रमुख भूमिका रहन्छ ।
सोच्नुपर्छ कि कतै हामीले बिधानभन्दा फरक ढङ्गले काम गर्यौं कि? संघमा साझा व्यक्ति हुन सकेनौं कि? सबैको व्यापार व्यवसाय आ-आफ्नो लगानी र सामथ्र्यले गरिएको हुन्छ । तर, संस्थामा ‘बहुजन हिताय’ भनेर काम गर्नु पर्ने हुन्छ । कतै हामी धेरैको हित हुने कुरालाई भुलेर आफूलाई मात्रै सोच्न थाल्यौं कि भनेर पदाशीन व्यक्तिहरूले एक पटक पुनर्विचार गर्ने हो भने बिस्तारै गुनासोहरू कम हुँदै जान्छ ।
जसरी यहाँलाई प्रत्येक पशुपन्छी औषधि व्यवसायीले संस्थापक महासचिवको रूपमा जुन स्नेहका साथ हेर्ने गर्नु भएको छ, ती व्यवसायीले तपाईंलाई संस्थाको नेतृत्वकर्ता अझ भनौँ केन्द्रीय अध्यक्षको रूपमा कहिलेसम्म देख्न पाउलाउन् ?
मलाई संस्थापक महासचिवका रूपमा स्नेहका साथ हेर्नुहुने सम्पूणर् व्यवसायीहरूपति आभार व्यक्त गर्दछु । उहाँहरूले संस्थाको नेतृत्वकर्ता भइदिए हुने भनेर जुन सद्भाव देखाउनु भएको छ, म यतिखेर पशुपन्छी औषधि व्यवसायमा खासै सक्रिय छैन । अर्कातर्फ हामीहरूबाट नेतृत्वको क्रम युवा पुस्ताका व्यवसायीहरूमा हस्तान्तरण भइसकेको अवस्था विद्यमान छ । संघका काम कारवाहीहरूका क्रममा आवश्यक सरसल्लाह प्रदान गर्ने र सदस्यहरूको हितमा हुने सबै कामहरू अघि बढाउने क्रममा मेरो भूमिका सल्लाहकारको मात्रै हुनेछ ।
अब, फरक प्रसंगमा कुरा गरौँ नेपाल पशुपन्छी औषधि व्यवसायीमा के कस्ता समस्याहरू छन् ?
हिजो हामीले संघको परिकल्पना र स्थापना गर्दा जुन खाले समस्याहरू थिए, ती न्यून थिए । यतिखेर संघको आकारले विशालता र क्षेत्रगत हिसाबले पनि व्यापकता लिइसकेको अवस्था छ । जिल्ला र बहु जिल्ला शाखा २२ वटा र सातै वटा प्रदेशस्तरिय समितिहरू गठन भएर संघ क्रियाशील रहेको अवस्था छ । यसै क्रममा समस्याहरू पनि बढ्दो रहेका देखिन्छ । विगतदेखि नै सबैभन्दा समस्याका रूपमा रहँदै आएका औषधि पसल दर्ता र खुद्रा बिक्रेताहरूका समस्याहरूलाई मूल समस्या रहेको छ ।
यस व्यवसायको अन्तिम कडी भनेकै मुलुकभर छरिएर रहेका खुद्रा औषधि व्यवसायीहरू भएकाले बढी ध्यान उनीहरूको समस्या समाधानका खातिर हुनुपर्ने देख्छु । पशुपन्छी पालनका क्षेत्रमा खुलेका महासंघलगायत उच्च सरकारी संयन्त्रमा अन्य क्षेत्रको प्रतिनिधित्व देखिन्छ तर संघको प्रतिनिधित्व नहुँदा नीति निर्माणमा हामीहरूले गर्नुपर्ने बहस, पैरवी र वकालतहरूमा कमी आएको देखिन्छ ।
संघीय संरचना अनुसारसंघ र प्रदेश दुबैको अधिकारक्षेत्रमा औषधि रहेको अवस्था छ । प्रदेश सरकारका नीति निर्माणमा हाम्रो संघले खासै समन्वय गर्न सकेको देखिन्न । पसल दर्ताको सम्बधमा प्रदेश सरकारले कानून बनाउन सक्ने अवस्था रहेको पाइन्छ । त्यसतर्फ पहल गर्न सकेका छैनौं ।
यस्तै, नियामक निकायहरूसँग व्यक्तिगतभन्दा पनि संस्थागत सम्बन्ध बिस्तारको खाँचो देखिन्छ । आयातकर्ता, वितरक, होलसेलर र रिटेलरहरूका आ-आफ्नै खाले समस्या रहेका देखिन्छ । दृष्टान्तका रूपमा हाम्रा व्यवसायीहरूले आयात गरेका औषधिहरू न्यून गुणस्तरका रहेको कुराहरू समाचारमा आइरहेका छन् । एकातिर व्यवसायीको लगानी खेर जाने र अर्कातिर किसानहरूले पनि प्रतिफल नपाउने अवस्था छ, यो दुःखद हो ।
व्यावसायिक समस्याहरू संघको कार्यालयमा बसेर समाधान गर्नुभन्दा पनि पछिल्लो समय सोसल मिडिया, सरकारी कार्यालय र सार्वजनिक स्थानहरूमा चर्चा हुने क्रम बढेको छ । संघ स्थापनाको मकसद् भनेकै व्यवसायीको हक, हित र समस्या समाधानका लागि भन्ने कुरा बिर्सन थालेको अवस्था छ ।
यस्तै, ‘नो अब्जेक्सन’ बिना नै कम्पनीहरूले एक आयातकर्ताको कामलाई बन्द गराउँदै अर्को आयातकर्तालाई व्यवसायमा सरीक बनाइरहेका घटनाहरू पनि बाहिर आइरहेका छन् । नयाँ आउने व्यवसायीहरूलाई प्रोत्साहनका साटो दुरुत्साहन हुने गरेको घटनाहरू पनि बाहिर आएका छन् । यी सबै समस्याहरूको समाधान नहुने भन्ने प्रश्न छैन, केवल पदाधिकारीहरूमा इच्छाशक्ति हुनु पर्यो ।
संस्थाको केन्द्रीय महाधिवेशन हुँदै छ, यहाँ संस्थापक महासचिव हुनुभएको नाताले कस्तो नेतृत्वको अपेक्षा गर्नुभएको छ ?
संघलाई तीन दशकसम्म जीवन्त बनाउनु नै ठुलो योगदान मानेको छु । यसका लागि हामीहरूको नेतृत्वपछिका सबै कार्यकालका अध्यक्ष एवं केन्द्रिय कार्यसमितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अब आउने नेतृत्वले पनि ‘बहुजन हिताय’ हुने गरी कार्यक्रम ल्याओस् । संघको बिधान, निर्देशिका, कार्यविधि र निणर्यहरूलाई शिरोपर गर्दै सबै सदस्यहरूलाई आफू साझा नेतृत्व रहेको आभास दिलाउन सक्षम रहोस् । विगतमा प्रमुख पदमा रहेर कार्य गरेको अनुभवी, पर्याप्त समय दिन सक्ने, कार्यकालभरिमा कम्तीमा पनि दुई पटक सबै शाखाहरू भ्रमण गरेर बस्तुस्थिति बुझ्ने दृढता भएको र संघमा आवद्ध आयातकर्ता, वितरक, होलसेलर र रिटेलरहरूका समस्याहरू आउँदा नियामक निकायहरूसँग कटिबद्ध रूपमा प्रस्तुत हुन सक्ने नेतृत्व आओस भन्ने अपेक्षा गरेको छु ।
नेपाल पशुपन्छी औषधि व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन संघमा अब चुनिने नयाँ नेतृत्वलाई यहाँले के सुझाव दिनुहुन्छ ?
अधिकांश कुराहरू माथि प्रश्न नम्बर ६ को जवाफमा रहेकाले ती समस्याहरूको तत्काल, मध्यकालीन र दीर्घकालीन रूपमा समाधानको योजना बनाउन सक्नु पर्यो । यसका लागि पशुपन्छीका औषधि व्यवसायका चारवटै आयामका समस्याहरू एउटै बास्केटमा नहालि क्षेत्रगत आधारमा संकलन गर्दै संघको रणनीतिक योजना बनाउन ढिलो भइसक्यो । जसबाट हाम्रो संघको सबलपक्ष, दुर्बलपक्ष, अवसर तथा चुनौतीहरूको पहिचान र अध्ययन हुँदा आगामी कार्यदिशा तय गर्न सहज हुन्छ । यस्तै, नेपालमै पशुपन्छीका औषधि उत्पादनमा पनि व्यापकता आइरहेको अवस्था छ । उनीहरू औषधि उत्पादक संघमा आवद्ध हुने हुँदा हाम्रो संघले कसरी पशुपन्छीका औषधि उद्योगसँग सहकार्य गर्न सकिन्छ भनेर छलफल आरम्भ हुनुपर्छ । मुख्य कुरा संघका पदाधिकारीहरूको व्यावसायिक आचरण र क्रियाकलापहरूबारेमा सकारात्मक समाचार मात्रै आउने अवस्था सिर्जना गर्न सक्ने नेतृत्व आउनुपर्यो । ‘स्वच्छ प्रतिस्पर्धायुक्त व्यवसाय’ लाई नारामात्रै नभई सबै तहका व्यवसायमा लागू गर्न सकेमा संघको मर्यादा र गरिमा बढ्छ । आगामी नेतृत्वलाई यीनै सुझावहरू दिन चाहन्छु ।
अन्त्यमा ?
पत्रकारिताको माध्यमबाट पशुपन्छी पालनका विभिन्न आयामहरूलाई व्यवस्थित र मर्यादित बनाउनु पर्छ भनेर समाचारहरू पस्केर सत्कर्म गरिरहने तपाईं भेटटाइम्सको समग्र टीमलाई विशेष धन्यवाद दिन्छु । यही सत्कर्मलाई निरन्तरता दिँदै नेपाल पशुपन्छी औषधि व्यवसायी संघको विगतको इतिहास, वर्तमान विकासक्रम र भावी दिशानिर्देशका लागि ३१ औं राष्ट्रिय महाधिवेशनलक्षित विशेषाङ्क प्रकाशन गरेर व्यवसायीहरूलाई ठूलो गुण लगाउनु भएको छ । यहाँहरूको यो सत्कर्मलाई नमन गर्दै मेरा भावनाहरू उजागर गर्ने स्थान दिनु भएको हार्दिक आभार व्यक्त गर्दछु ।