काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यावसायी संघको केन्द्रीय अधिवेशनको तिथि नजिकिएसंगै उम्मेदवारी घोषणा गर्ने होडबाजी चर्किएको छ । आगामी माघको ४ र ५ गते रूपन्देहीको भैरहवामा तय आसन्न अधिवेशनमा यसपटक राजनैतिक गन्ध समेत देखिने गरि चुनावी प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
संघको १३ औं राष्ट्रिय महाधिवेशन तथा ३१ औं वार्षिक साधारणसभाबाट संघको आगामी २ वर्षे नेतृत्वसमेत चुनिने छ । संघको केन्द्रीय अध्यक्षमा अहिलेसम्म दुई जनाले आकांक्षा देखाएका छन् ।
यज्ञराज ढकाल र पूर्णचन्द्र सापकोटाले अध्यक्षमा रुचि देखाएका हुन् । आकांक्षीमध्ये ढकाल केन्द्रीय उपाध्यक्ष र सापकोटा केन्द्रीय सल्लाहकार हुन् । यी दुईमा केही समानतासमेत छ । त्यो के भने यी दुवै अघिल्लो प्रतिस्पर्धामा पराजित व्यवसायी हुन् ।
ढकाल यसअघि अध्यक्षमा प्रजापति बास्तोलासँग पराजित भएका हुन् भने सापकोटा त २ पटक पराजित भए । २ पटकसम्म व्यावसायीको रुचिमा पर्न नसकेका सापकोटाले पुनः तेस्रो पटक पनि संघको नेतृत्व लिने रहर गरेका छन् । सापकोटा यसअघि धुलिखेल महाधिवेशनमा निवर्तमान अध्यक्ष हेमराज बडालसँग र विराटनगर महाधिवेशनमा बर्तमान केन्द्रिय अध्यक्ष भूपेन्द्रप्रसाद गौतमसँग पराजित भएका हुन् ।
अघिल्लो विराटनगर महाधिवेशन एउटै प्यानल बनाएर अगाडि बडेका ढकाल र सापकोटा यस पटक भने दुवै जना अध्यक्षको उम्मेदवारी दिँदै आपसी प्रतिपर्धामा छन् । पशुपन्छीका औषधि आयातकर्ता रहेका ढकाल काठमाडौं केन्द्रित व्यावसायी हुन् भने सापकोटा मोफसलका । औषधि आयातकर्ता सापकोटा चितवन केन्द्रित व्यवसायी हुन् ।
पशुपन्छी औषधीको व्यावसायीको निर्णायक मत मानिने वाग्मती प्रदेशको भरोसामा उम्मेदवारी घोषणा गरेका ढकाललाई पूर्वअध्यक्ष नवराज तिमल्सेना र कम्पोज बडालको समेत साथ रहेको बुझिएको छ । वागमती प्रदेश अन्तर्गत नै पर्ने चितवन जिल्लाका व्यावसायी भने दुई भागमा विभाजित हुने आकलन गरिएको छ । सापकोटाको गृह जिल्ला समेत रहेको चितवनका उम्मेदवार सापकोटाले पछिल्लो समय आफ्नो भेटघाट बाक्लो पारेको अवस्था छ । अघिल्लो चुनावमा पहुँचवाला व्यावसायी गौतमसंग झिनो मतान्तरले हारेकाले उनी यसपटक जित हासिल हुनेमा बढी विश्वस्त देखिएका छन् ।
ढकाल पक्षमा विभिन्न शाखाहरूले खुलेर चुनावी प्रचार गरिहँदा सापकोटाले आफ्ना पुराना व्यावसायीबाट सहानुभूति खोजेका छन् ।
उपाध्यक्षमा तिमिल्सेना
संघको थोकतर्फका उपाध्यक्षमा काभ्रेपूर्व शाखाका पूर्वअध्यक्ष विकास शर्मा तिमिल्सेनाले उम्मेदवारी घोषणा गरेको छन् । व्यावसायिक हककित र गुणस्तर कायमका विषयमा खरो उत्रने क्षमता राख्ने तिमिल्सेनाको हकमा खासै प्रतिपर्धा नहुने देखिन्छ । काभ्रे पूर्वशाखाको कुशल नेतृत्व गरेका शर्मालाई भविष्यको केन्द्रीय नेतृत्वकर्ताको रूपमा समेत लिने गरेको काभ्रे पूर्व शाखाको भर्खंरै सम्पन्न अधिवेशनले देखाउँछ ।
महासचिवमा थापा र भुजेल
अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा भने हालसम्म संघका पूर्वकेन्द्रीय कोषाध्यक्ष दीबेश थापा र वर्तमान केन्द्रीय सचिव नारायणबहाजुर भुजेलले उम्मेदवारी घोषणा गरेका छन् ।
थापालाई संघका पूर्वअध्यक्ष हेमराज बडालको साथ रहेको चर्चा छ । भुजेलले चाहिँ यज्ञराज ढकालको प्यानलमार्फत उम्मेदवारी दिएका छन् । यद्यपी, वर्तमान महासचिव नारायण प्रसाद खनाललाई पुःन एक कार्यकाल महासचिवमा रहिदिन पुर्व अध्यक्षहरुले आग्रह गरेको समेत बुभिएको छ ।
सचिवमा कार्की र कट्टेलको दाबी
यस्तै आसन्न अधिवेशनमा सचिव पदमा अहिलेसम्म बागमति प्रदेश इन्चार्ज साजन कार्की र र केन्द्रीय सदस्य दिनेश कट्टेलले मात्र आफ्नो उम्मेदवारी घोषण गरेका छन् । कट्टेल पूर्णचन्द्र सापकोटा प्यानलका उम्मेदवार हुन् भने कार्की यज्ञराज ढकाल प्यानलबाट उम्मेदवार बन्ने चर्चा छ ।