भारतीय कम्पनीबाट ठगिँदै किसान, ब्रान्डदेखि गुणस्तरसम्म नक्कली

ब्रान्डदेखि गुणस्तरसम्म नक्कली

काठमाडौं । भारतको महाराष्ट्रमा रहेको एमएस कामधेनु न्युट्रियन्ट्स प्रालिको आफ्नै उत्पादन हो, मेटाबोलिट । यसको कपिराइट भिरब्याक एनिमल हेल्थ इन्डिया प्रालिसँग सुरक्षित छ । भिरब्याक आफैंले यसको बजार व्यवस्थापन गर्दै आएको छ । नेपालमा यसको उच्च माग छ । जसको आधिकारिक आयातकर्ता दीपांकर भेट प्रालि हो ।

दीपांकरका अध्यक्ष डा. हर्षरत्न शाक्य विगत केही वर्षदेखि यो फिड सप्लिमेन्ट नेपालमा आयात गरेर आफूले बिक्री-वितरण गरिरहेको सुनाउँछन् ।

झट्ट हेर्दा मेटाबोलिटजस्तै लाग्ने तर अलि फरक नाम गरेको मेटबोलाइट लेखिएको फरक कम्पनीको अर्को फिड सप्लिमेन्ट पनि नेपाली बजारमा छ्याप्छ्याप्ती छ । मेटाबोलिटको कपिराइट भिरब्याक एनिमलसँग रहे पनि भारतकै भेटकेयरले ब्रान्ड चोरी गरेर यो फिड सप्लिमेन्ट उत्पादन गरेको हो ।

अनौठो के छ भने, सर्वसाधारणले झट्ट हेर्दा थाहा नपाउने यो मिल्दोजुल्दो नाम गरेको फिड सप्लिमेन्टले नेपालमा समेत बिक्री-वितरण अनुमति पाइरहेको छ । मोरङको विराटनगरमा रहेको मेडिका भेटले यसलाई आयात गरेर किसानसमक्ष पुर्‍याइरहेको छ । यसका सञ्चालकचाहिँ गोविन्द श्रेष्ठ हुन् ।

डा. शाक्य आफूले बिक्री अनुमति पाएको फिड सप्लिमेन्ट भारतमा खुलेआम ब्रान्ड चोरी गरेर उत्पादन भएको र नेपाली बजारमा यो विना रोकतोक भित्रिएको गुनासो गर्छन् ।

‘मेटाबोलिटको कपीराइट भिरब्याकसँग छ,’ डा. शाक्य भन्छन्, ‘तर भारतमा ब्रान्ड चोरी गरेर उत्पादन भएको फिड सप्लिमेन्टलाई बिक्री-वितरण अनुमति दिएर सरकारबाट नै किसानमाथि ठगी गर्न सहयोगी भूमिका निर्वाह भइरहेको छ ।’
ब्रान्ड चोरी गरी उत्पादित मेटबोलाइटका नेपाली आधिकारिक बिक्रेता गोविन्द श्रेष्ठ सरकारकै अनुमतिमा आफूले उक्त फिड सप्लिमेन्ट बिक्री वितरण गरिरहेको निसंकोच बताउँछन् ।

शाक्यले आरोप लगाएको ब्रान्ड चोरी गरेर उत्पादन गरिएको भारतीय फिड सप्लिमेन्ट दुई वर्षदेखि नेपाली बजारमा बिक्री वितरण गरिरहेको श्रेष्ठले भेट टाइम्ससँग स्वीकार गरे । तर ब्रान्ड चोरीको आरोप भने उनले ठाडै इन्कार गरे ।

‘अक्षर पनि उस्तै छैन । उसको मेटाबोलाइट हो, हाम्रो मेटबोलाइट फोर छ । कसरी कपिराइट भो र ?,’ श्रेष्ठको तर्क छ ।
प्रतिवर्ष कति रकमको मेटबोलाइट आयात हुन्छ भन्ने भेट टाइम्सको जिज्ञासामा उनले प्रष्ट जवाफ दिन चाहेनन् । मात्र यति भने, ‘पछिल्लो पटक ५०-६० कार्टुन आयात गरेर बजारमा वितरण गरेको छु ।’

यो त एउटा सानो दृष्टान्त मात्र हो । राज्यको कमजोर मेकानिजम, भ्रष्ट मनोवृत्ति, अनुगमन अभावलगायत कारण नेपालको पशुपन्छी फिड सप्लिमेन्ट बजार ब्रान्ड चोरीका नक्कली फिड सप्लिमेन्टको केन्द्र बन्दै गएको छ ।
भिरब्याकसँगै कपिराइट रहेको अस्टोक्याल्सिय, अस्टोभेट र अस्टोकलको पनि ब्रान्ड चोरी गरेर नेपाली बजारमा बिक्री वितरण भइरहेको छ ।

यी फिड सप्लिमेन्टको आधिकारिक बिक्रेता पनि दीपांकर भेट प्रालि हो । दीपांकरका अध्यक्ष डा. शाक्य मेटाबोलाइटजस्तै यी फिड सप्लिमेन्टको पनि नक्कली उत्पादन नेपाली बजारमा बिक्री वितरण भइरहेको गुनासो गर्छन् ।
शाक्यका अनुसार, भिरब्याकसँग कपिराइट रहेको अस्टाकोल भारतमै ब्रान्ड चोरी गरेर आइडियल रेमडाइज प्रालिले उत्पादन गरिरहेको छ । जसलाई भगिरथ मिश्रको नाममा दर्ता नेपाल भेट ट्रेडिङ, वीरगञ्जले आयात गरेर बेचिरहेको छ ।
ब्रान्ड चोरीको फिड सप्लिमेन्ट भारतबाट नेपाल भित्राएर बिक्री वितरण गरिएकोबारे जिज्ञासा राख्न मिश्रसँग भेट टाइम्सले पटक -पटक सम्पर्कको प्रयास गरेको थियो । तर उनी उपलब्ध भएनन् ।

हिमालयन बत्तिसाको पनि ब्रान्ड चोरी
हिमालयन बत्तिसाको पनि ब्रान्ड चोरी भएको छ । यो इन्डियन हब्र्स स्पेसियलिटिज प्रालिको उत्पादन हो । यसको कपिराइट हब्र्ससँगै छ ।

माथिका दुई फिड सप्लिमेन्टजस्तै यसको पनि ब्रान्ड चोरी गरेर नेपाली बजारमा बिक्री वितरण भइरहेको छ ।
नेपालमा हिमालयन बत्तिसाको राम्रो बजार छ । यसकै फाइदा एसएसएसले लिइरहेको डा. शाक्यले भेट टाइम्सलाई बताए । एसएसएसले ब्रान्ड चोरी गरेर उत्पादन गरेको हिमालय बत्तिसा काठमाडौंमा दर्ता नेपाल एसिया ट्रेड लिंकले आयात गर्दै आइरहेको छ ।

ब्रान्ड चोरी गर्ने भारतीय कम्पनीको हिमालय बत्तिसा नेपालमा बिक्री वितरण गर्दै आएका मदन पौडेलले यसबारे भेट टाइम्ससँग अनभिज्ञता प्रकट गरे । अन्य कम्पनीका उत्पादन बिक्री वितरण गरिरहे पनि हिमालय बत्तिसा अहिलेसम्म आफूले नबेचेको झुटो दाबी गर्दै पन्छिन खोजे ।

‘अन्य कम्पनीको फिड सप्लिमेन्ट मैले बिक्री वितरण गरिरहे पनि हिमालय बत्तिसा अहिलेसम्म बिक्री गरेको छैन,’ उनले भने । हिमालय बत्तिसाको नेपाली आधिकारिक बिक्रेता को हो भन्नेबारे पनि आफूलाई जानकारी नभएको लज्जास्पद भनाई राखे ।
जबकि राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यावस्थापन प्रयोगशालाले यो उत्पादन नेपाली बजारमा बिक्री वितरण गर्न पौडेलकै नेपाल एसिया ट्रेड लिंङकलाई अनुमति दिएको रेकर्डमा देखिन्छ ।
दीपांकरका डा. शाक्य नेपाल एसियाका पौडेलले ब्रान्ड चोरीको फिड सप्लिमेन्ट आयात गरेर नेपालमा बिक्री वितरण गरिरहे पनि ढाँटेको दाबी गर्छन् ।

‘उनले ब्रान्ड चोरीको हिमालय बत्तिसा नेपालमा आयात गर्ने अनुमति लिएको लाइभस्टकको रेकर्डमा छ । यदि उनले होइन भन्छन् भने त्यो सरासर झुट हो,’ डा. शाक्यले भने ।

भिटाब्लेन्ड ए मा पानी नै पानी

ब्रान्ड चोरीको सिलसिला यतिमै सकिँदैन । भिरब्याकसँगै कपिराइट रहेको भिटाब्लेन्ड डब्लू एम फोर्टसँग मिल्दोजुल्दो उत्पादन गरेर भिटाब्लेन्ड ए उत्पादन गरेको भेटिएको छ ।

भारतीय कम्पनी इलिसिड फर्माले बहुराष्ट्रिय कम्पनी भिरब्याकको ब्रान्ड चोरी गरेर भिटाब्लेन्ड ए नामक नक्कली उत्पादन नेपाली बजारमा पठाएको हो । यो मुख्यतः कुखुरालगायत पशुपन्छीको वृद्धि विकासका लागि खुवाइन्छ ।
सामान्यतया कुनै पनि भिटामिनमा आईयूको मात्रा १ लाख हुनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्ड यस्तो भए पनि ल्याब परीक्षणका क्रममा इलिसिडले उत्पादन गरेको भिटाब्लेन्ड-ए नामक भिटामिनमा आवश्यकताभन्दा निकै कम अर्थात् १०८६.८६ आईयू मात्र फेला परेको छ । यसको मतलब इलिसिडको उत्पादनमा भिटामिन एको मात्रा १.०८ प्रतिशत र पानीको मात्रा ९८.२ प्रतिशत छ ।

भक्तपुरको बालकोटमा रहेको जेस्ट ल्याब्रोटरिज एण्ड रिसर्च सेन्टर प्रालिमा भिटाब्लेन्ड-ए को गुणस्तर परीक्षण गरिएको थियो । डिसेम्बर २०१८ मा उत्पादन भई नोभेम्बर २०२१ सम्म म्याद रहेको इलिसिड कम्पनीको ब्याच नं. इभीए १०१ भिटाब्लेन्ड एको ल्याब परीक्षणबाट गुणस्तरहीन प्रमाणित भएको हो । जेस्टको रिपोर्टमा उक्त भिटामिनमा सुन्तला रंगको पानी रहेको औंल्याइएको छ ।

नेपालमा बिक्री गर्नकै लागि बन्छन् ब्रान्ड चोरीका फिड सप्लिमेन्ट
सरोकारवाला निकायले चासो नदिएकाले ब्रान्ड चोरीका कति फिड सप्लिमेन्ट नेपालमा बिक्री वितरण भइरहेको छ भन्ने यकिन तथ्यांक छैन । तर विभिन्न फिड सप्लिमेन्ट ब्रान्ड चोरी गरेर नेपालमा बिक्री वितरण भइरहेको सार्वजनिक समाचारले पुष्टि गर्छन् ।

दीपांकरका अध्यक्ष डा. शाक्य भारतमा ब्रान्ड चोरीका फिड सप्लिमेन्ट बिक्री वितरणमा रोक लगाइएको बताउँछन् । भारतमा रोक लगाइए पनि नेपालमा भने त्यस्ता फिड सप्लिमेन्ट निर्वाध बिक्री भइरहेको उनको दाबी छ ।
शाक्यका अनुसार, नेपालमा बिक्री गर्नकै लागि ब्रान्ड चोरी गरेर भारतीय कम्पनीले नक्कली फिड सप्लिमेन्ट उत्पादन गर्ने गरेका छन् ।

‘भारतमा ब्रान्ड चोरीको कानून कडा छ,’ उनले भने, ‘देशभित्र बिक्री गर्दा कानूनी झमेलामा पर्ने भएकाले भारतीय फिड सप्लिमेन्ट उत्पादक कम्पनीले नेपाललाई लक्ष्य गरेर जुन ब्रान्ड चलेका छन्, तिनकै नक्कली बनाएर पठाउँछन् ।’

सरकारी निकायको नियतमाथि नै प्रश्न
फिड सप्लिमेन्टको उत्पादन तथा आयात दुवैमा सरकारको अनुमति लिनुपर्छ । दोस्रो मुलुकबाट यदि कुनै बिक्रेताले फिड सप्लिमेन्ट आयात गर्न चाहेको छ भने उसले राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालामा अनुमतिका लागि निवेदन दिनुपर्छ । निवेदनका अतिरिक्त सम्बन्धित देशको उत्पादन अनुमति, उत्पादनपश्चातको गुणस्तर प्रमाणित कागजात र नेपालकै सरकारी मान्यताप्राप्त प्रयोगशालाको गुणस्तर प्रमाणित कागजात पेस नत्थी गरेको हुनुपर्छ । ब्रान्ड चोरी भए/नभएको निक्र्योल गर्ने जिम्मेवारी पनि प्रयोगशालाकै हो ।
तर राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले मनमौजी यस्ता फिड सप्लिमेन्ट आयात अनुमति दिने गरेको छ । यसबाट ब्रान्ड चोरीका फिड सप्लिमेन्ट नेपाली बजारमा भित्राउन कतै सरकारी अधिकारीकै मिलेमतो त छैन भन्ने प्रश्न उब्जिएको डा. शाक्य बताउँछन् ।

उजुरीको भएन सुनुवाइ


भारतीय कम्पनी भिरब्याकलगायतको फिड सप्लिमेन्ट आयात गर्दै आइरहेको दीपांकरले सोही कम्पनीका नामसँग मिल्दोजुल्दो नक्कली उत्पादनले बजारमा प्रवेश पाएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालामा झण्डै एक वर्षअघि उजुरी हालेका थियो ।
उजुरीमा शाक्यले तीन भारतीय कम्पनीको नामै किटेर नेपाली आयातकर्ताले नक्कली फिड सप्लिमेन्ट बिक्री वितरण गरिरहेको प्रमाण नत्थी गरेर कारबाहीको निवेदन दिएका थिए ।
उतिबेला राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको प्रमुख रहेका डा. शरणकुमार पाण्डे अहिले वाग्मती प्रदेशको कृषि मन्त्रालयमा सचिव छन् । पाण्डेले ब्रान्ड चोरी गर्नेमाथि उतिबेला कारबाही गर्ने आश्वासन आफूलाई दिएको डा. शाक्य बताउँछन् । तर अहिलेसम्म ब्रान्ड चोरी गरेर फिड सप्लिमेन्ट आयात गरिरहेका नेपाली आयातकर्तालाई कुनै घुनपुत्लो लागेको छैन ।
पटकपटक उजुरी गर्दासमेत तालुकदार निकायले चासो नदेखाएपछि डा. शाक्यले कानूनी उपचारको तयारी गरिरहेको बुझिएको छ ।

ब्रान्ड चोरी वाणिज्य विभागसँग सम्बन्धित छ

डा. इन्दिरा शर्मा, निमित्त प्रमुख, राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला
नेपालमा फिड सप्लिमेन्ट आयात अनुमति दिने प्रक्रिया के छ ?

सबैभन्दा पहिले सम्बन्धित उत्पादक कम्पनीले आफ्नो देशको सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट गुणस्तर प्रमाणित रिपोर्ट पेस गर्नुपर्छ । यदि कुनै नेपाली सप्लायर्सले विदेशी ब्रान्डका औषधि तथा फिड सप्लिमेन्ट नेपालमा आयात गर्न चाहेमा नमुना मगाइ नेपालको सरकारी मान्यताप्राप्त प्रयोगशालामा पनि परीक्षण गराउनु पर्छ । गुणस्तर प्रमाणित भएमा आवश्यक अन्य सरकारी कागजात पूरा गरेर आयात अनुमति लिन सक्छन् ।

भारतमा ब्रान्ड चोरी गरेर उत्पादन गरिएका फिड सप्लिमेन्टलाई के आधारमा अनुमति दिनुभयो ?

हाम्रो प्रयोगशालाको स्वीकृत कार्यविधिअनुसार प्रक्रिया पूरा गरेको हुनाले हामीले अनुमति दिएका हौं ।
ब्रान्ड चोरीका उजुरी परेका छन् कि छैनन् ?

यसबारे मलाई खासै जानकारी छैन । ब्रान्ड चोरीको विषय वाणिज्य विभागको क्षेत्राधिकारभित्र पर्छ । त्यहीँ बुझ्नु भयो भने यसबारे जानकारी पाउन सक्नुहुन्छ ।

उजुरी गर्दागर्दा हैरान भइसकेँ

डा. हर्षरत्न शाक्य
अध्यक्ष दीपांकर भेट प्रालि
तपाईंले आयात अनुमति लिएकासँग मिल्दोजुल्दो नाम राखिएका फिड सप्लिमेन्ट नेपालमा बिक्री वितरण भयो भन्ने छ नि ?

यो सत्य कुरा हो । ब्रान्ड चोरीका फिड सप्लिमेन्ट भित्राएर बिक्री वितरण गर्ने प्रवृत्ति डरलाग्दोसँग बढेको छ ।

तपाईं लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ । कति भयो यस्तो समस्या देखिन थालेको ?

पहिला पहिला अलिअलि हुन्थ्यो । पछिल्लो दुई वर्षदेखि यो क्रम ह्वात्तै बढेको छ । ब्रान्ड चोरीका फिड सप्लिमेन्ट दैनिकजस्तो आयात गरेर बिक्री वितरण भइरहेको छ ।

ब्रान्ड चोरी गरेर उत्पादित कुन-कुन फिड सप्लिमेन्ट नेपाली बजारमा बिक्री वितरण भइरहेको छ ?
मेटाबोलिट भिरब्याकको कपीराइट भएको फिड सप्लिमेन्ट हो । यसको नेपालस्थित आधिाकारिक बिक्रेता मेरो कम्पनी दीपांकर हो । पछिल्लो दुई वर्षदेखि यो नामसँग मिल्दोजुल्दो नक्कली उत्पादन गरेर नेपालमा बिक्री वितरण भइरहेको छ । मैले नै आयात गरिरहेको अरू दुई फिड सप्लिमेन्टमा पनि यस्तै समस्या छ ।

ब्रान्ड चोरी गरेका फिड सप्लिमेन्ट त नक्कली हुन् । तिनले अनुमतिचाहिँ कसरी पाइरहेका छन् ?
राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले कुनै पनि फिड सप्लिमेन्ट आयातको अनुमति दिँदा विभिन्न पक्षलाई हेर्नुपर्ने हो । अरु नहेरे पनि ब्रान्ड चोरी भएको छ कि छैन भनेर चनाखो हुनुपर्ने हो । तर यतातिर ध्यान नै नदिई अनुमति दिने गरिएको छ ।

यसको मतलब सरकारी अधिकारीकै मिलेमतो छ हो ?
ध्यान दिनुपर्ने कुरामा आँखा चिम्लिएकाले शंकाको सुविधा लिने ठाउँ छ ।

ब्रान्ड चोरीका फिड सप्लिमेन्टमाथि कारबाही गर्ने कानूनी व्यवस्था भारतमा छैन हो ?
त्यहाँ त कडा कानून छ । ब्रान्ड चोरीका उत्पादन बजारमा बिक्री गर्‍यो भने कडा कारबाही हुन्छ ।

भनेपछि भारतीय कम्पनीले नेपालमा पठाउनका लागि मात्रै ब्रान्ड चोरीका फिड सप्लिमेन्ट उत्पादन गर्छन् हो ?
यो सत्य हो । भारतीय कम्पनीले जे जति ब्रान्ड चोरीका फिड सप्लिमेन्ट अहिले नेपाल भित्राइरहेका छन्, ती सबै नेपाली बजारका लागि टार्गेट गरेर उत्पादन गरेका हुन् । ती उत्पादन भारतमा बिक्री गरे ठूलो कानूनी कारबाही हुन्छ ।

कति मात्रामा नक्कली फिड सप्लिमेन्ट भित्रिरहेका छन्, केही तथ्यांक छ ?
यो विशुद्ध अनुसन्धान गर्ने विषय हो । तर यसबारे अहिलेसम्म कुनै अनुसन्धान नै भएको छैन भन्दा हुन्छ । अनुसन्धान नै नभएकाले यकिन तथ्यांक आउने कुरा भएन । मेरो विचारमा यस्ता नक्कली फिड सप्लिमेन्टले ५-१० प्रतिशत बजार हिस्सा ओगटिरहेका छन् ।

यस्ता फिड सप्लिमेन्टहरू बिक्री कानूनतः गलत भइहाल्यो । यसबाहेक यी फिड सप्लिमेन्ट बिक्री हुन नहुने कारण के-के छन् ? यसले कस्तो-कस्तो असर गर्छ ?
पहिलो त, ब्रान्ड चोरीका फिड सप्लिमेन्ट बिक्री वितरण अनुमति दिनु किसानमाथिको अत्याचार नै हो । अहिले पैसा तिरेर नक्कली फिड सप्लिमेन्ट खरिद गर्न किसानलाई बाध्य पारिएको छ । हेर्दा उस्तै देखिने भएकाले किसान नक्कली फिड सप्लिमेन्टबाट ठगिइरहेका छन् ।अर्को कुरा, यस्ता नक्कली फिड सप्लिमेन्टले अनेक नकारात्मक असरहरू देखाउने खतरा हुन्छ । पशुमा देखाउने असरले मानिस पनि प्रभावित हुने भएकाले यो सोचनीय छ । बजारको चक्रलाई पनि यसले उसैगरी प्रभावित पारिरहेको छ ।

यसबारे कतै उजुरी दिनु भएको छैन ?
एक वर्षअघि नै स प्रमाण फलाना फलानाले बदमासी गरेर भनेर मन्त्रालय र प्रयोगशालामा दिएको हुँ । निवेदन बुझाउँदा केही गम्भीरजस्तो देखिनु भएको थियो । तर अहिलेसम्म दोषीलाई कारबाही गर्नेतर्फ कसैले जाँगर चलाएका छैनन् ।

सरकारी अधिकारी मौन बस्नुको कारण के हुनसक्छ ?
कानूनविपरीतका कार्य आँखै अगाडि भइराख्दा जिम्मेवार अधिकारी मौन बस्छ भने कतै न कतै उनीहरूको पनि मिलेमतो छ कि भन्ने प्रश्न उब्जन्छ ।
००००

लाइभस्टकबाट अनुमति लिएरै आयात गरेको हुँ ः श्रेष्ठ

गोविन्द श्रेष्ठ, पशुपन्छी फिड सप्लिमेन्ट व्यवसायी

मेटाबोलिटको नेपालको आधिकारिक बिक्रेता को हो ?
त्यो त मै हुँ । भारतबाट आयात गरेर मैले नै बजारमा बिक्री वितरण गरिरहेको छु ।

कहिलेदेखि तपाईं यसको आधिकारिक बिक्रेता बन्नु भएको ?
२ वर्ष भयो । त्यसयता लगातार ल्याइरहेको छु ।

वार्षिक कति मात्रामा यो फिड सप्लिमेन्ट आयात हुन्छ ?
अहिले त खासै छैन । अलिअलि आएको होला ।

एक वर्षमा ठ्याक्कै कति मूल्य बराबरको आयात हुन्छ, भन्न मिल्छ ?
एक वर्षमा कति आयात गरियो भन्ने यकिन तथ्यांक त मसँग छैन । तर पछिल्लो समय ५०-६० कार्टुन भित्राएर नेपाली बजारमा वितरण गरेको छु ।

अनुमति लिएरै यो काम गर्नु भएको हो ?
हो नि । अनुमतिबिना कसरी यस्ता फिड सप्लिमेन्ट आयात गर्न पाइन्छ र ? प्रक्रिया पूरा गरेर नै बिक्री गरेको हो ।

तपाँईको कम्पनी माथी ब्रान्ड चोरीको आरोप समेत लागेको छ,यस्तो फिड सप्लिमेन्ट बिक्री वितरण गर्न कसले अनुमति दियो ?
लाइभस्टकबाट लिएको हुँ ।

सजिलै अनुमति पाउनु भयो ?
प्रक्रिया पूरा गरेपछि रोक्नुपर्ने त्यस्तो के छ र ?

ल्याब रिपोर्ट पनि पेस गर्नु भएको थियो कि ?
गरेको हुँ । नेपाल र भारत दुवैका आधिकारिक ल्याबले गुणस्तर प्रमाणित गरेका छन् ।

तपाईंले बेचेको फिड सप्लिमेन्ट त भारतमा ब्रान्ड चोरी गरेर उत्पादन भइरहेको रहेछ नि ?
खै, यसबारेमा त मलाई केही जानकारी नै छैन । दर्ता गराएरै हामीले बेचेको हो क्यारे । कसरी ब्रान्ड चोरी भयो र ?

मेटाबोलाइटको कपीराइट त भिरब्याकसँग रहेछ नि त ?
अक्षर त उस्तै छैन । उसको मेटाबोलाइट हो, हाम्रो मेटोबोलाइट फोर । कसरी कपिराइट भो र ?

भेट टाइम्स मासिकबाट