पशुपन्छी औषधि उत्पादनमा समेत अनुदान आवश्यक : गौतम

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, वाग्मती प्रदेशको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवशन सम्पन्न भएको छ ।

आइतबार चितवनको सौराहामा रहेको होटल जंगल क्राउनमा सम्पन्न अधिवेशनले ईश्वरी आचार्यको नेतृत्वमा नयाँ कार्यासमितिको चयन गरेको छ ।

कार्यक्रम संघ वाग्मती प्रदेशका निवर्तमान अध्यक्ष केशव शर्मा मारासिनीको अध्यक्षतामा भएको हो । प्रमुख आतिथ्यता नेपाल पशुपन्छी औषधि व्यावसायी संघका केन्द्रीय अध्यक्ष भूपेन्द्रप्रसाद गौतमले गरे ।

पशुपन्छी औषधि व्यवसायीको छाता संस्था संघ ०४७ सालमा स्थापना भएको हो । सात प्रदेशका २२ जिल्लामा शाखा रहेको संघमा २ हजार व्यवसायी गोलबद्ध छन् ।
वाग्मती प्रदेशका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा केन्द्रीय, प्रदेश अध्यक्षलगायतले धारणा राखेका थिए ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष भूपेन्द्र प्रसाद गौतमले कोरोना भाइरसका कारण अघि बढ्न नसकेका थुप्रै योजना पाइपलाइनमा रहेको र त्यसलाई अघि बढाउन लागेको जानकारी दिए । ‘साथीहरूलाई संघले धेरै काम गरेन भन्ने लागेको होला । त्यो होइन । कार्यकाल सुरुलगत्तै कोरोना आएकाले नतिजा आउन नसकेको हो । थुप्रै योजना पाइपलाइनमा छन् । अब पूरा हुन्छन,’ गौतमले भने । संघले व्यवसायीहरूलाई तालिम दिन तयारी गरिरहेको जानकारी पनि उनले उक्त अवसरमा दिए ।

दुईवर्षे कार्यकाल निकै छोटो रहेको उल्लेख गर्दै तीन वर्ष बनाउन उनले माग गरे । त्यसका लागि विधान संशोधन गर्न सकिने उनको सुझाव छ ।

राज्यले विभिन्न किसिमका अनुदानको व्यवस्था गरेको चर्चा गर्दै गौतमले पशुपन्छी औषधि उत्पादनमा समेत अनुदान आवश्यक भएको औंल्याए । औषधिलाई अनुदान दिएमा आत्मनिर्भर हुने उनको विश्वास छ ।

संघका अर्का पूर्वअध्यक्ष कम्पोज बडालले औषधि व्यवस्था विभागले भेटेरिनरी औषधिलाई उपेक्षा गरेको गुनासो गरे ।

कतिपय मानव जीवरक्षक औषधि सूचिकृत गर्दै बिक्री–वितरणमा सहज भएको उल्लेख गर्दै उनले पशु स्वास्थ्यसंँग सम्बन्धित औषधिलाई पनि त्यस्तै सुविधा दिनुपर्ने माग गरे ।

जोडबल गर्दासमेत सुनुवाइ नभएकाले शान्तिपूर्ण संघर्ष उत्रिन उनले व्यवसायीहरूलाई आग्रह पनि गरे । ‘हामीहरूले धेरै प्रयास गर्दा पनी सुनुवाइ भएन । अब औषधि व्यवस्था विभागमा शान्तिपूर्ण धर्ना दिनुको विकल्प छैन । व्यवसायीहरू एकजुट हुन आवश्यक छ,’ उनले भने । डीडीएले पशुपन्छी औषधि व्यवसायीका समस्या समाधन नगरेर अवैध व्यावसायी बनाएको गुनासो बडालको छ ।

पूर्वअध्यक्ष हेमराज बडालले ०५५÷५६ सम्म सम्पूर्ण पशुपन्छीका औषधि एवं फिड सप्लिमेन्ट डीडीएको क्षेत्राधिकारमा रहेकोमा त्यसपछि भने पशु सेवा विभागमातहत लगिएको बताए । ‘हाम्रा समस्याहरू धेरै छन् । २ वटा विभागमा चाहर्नु परिरहेको छ,’ उनले भने ।

यो झण्झटिलो प्रक्रिया अन्त्यका निम्ति आफ्नो कार्यकालमा एउटै ऐनका लागि संसददेखि मन्त्रालयसम्म धाए पनि कसैले सुनुवाइ नगरेको उनले गुनासो गरे । संसदमा रोकिएको ऐन पारित भएको खण्डमा पशुपन्छी औषधि व्यवसायीको माग पूरा हुने भन्दै उनले त्यसका लागि पहल गर्न आग्रह गरे ।

संघीयतामा जस्तै सबै शाखाहरू स्वायत रहेकाले चाहेमा बोलाउन सक्ने र नबोलाउने सम्मको अधिकार शाखामै निहित रहेको बताउँदै यसलाई महत्व दिनुनपर्ने उनले बताए ।

पूर्वअध्यक्ष नवराज शर्मा तिमिल्सेनाले पशुपन्छी व्यवसायी नैतिक र अनुशासनहीन रहेको भन्दै आक्रोस पोखे ।व्यावसायीमा थुप्रै समस्या रहेको औंल्याउँदै उनले समाधानमा एकजुट भएर लाग्नुपर्ने बताए ।

संघका संस्थापक महासचिव मधुसुधन गुराँगाई, केन्द्रीय उपाध्यक्ष यज्ञराज ढकाल,सल्लाहाकार पूर्णचन्द्र सापकोटा, वाग्मती जिल्ला शाखा अध्यक्ष रत्नकुमार बडाल, काभे्र पूर्व शाखा अध्यक्ष यज्ञ प्रसाद पन्त, लुम्बिनी प्रदेश अध्यक्ष प्रकाश श्रेष्ठ एवं आयोजना चितवन जिल्ला शाखा अध्यक्ष भूपेन्द्र कर्माचार्यले पशुपन्छी औषधि व्यवसायीको अवस्था र निराकरणलगायत विषयमा मन्तव्य राखेका थिए ।

ईश्वरी आचार्यको नेतृत्वकाे समिति निर्विरोध निर्वाचित भएकाे हाे ।

समितिकाे उपाध्यक्षमा थोक तर्फ देवीलाल सुवेदी र खुद्रातर्फ लक्ष्मण सापकोटा, सचिवमा ईश्वरकुमार थापा, सह–सचिवमा माधव दाहाल तथा कोषाध्यक्षमा टीकादेवी तिवारी निर्विरोध चयन भए ।

सदस्यहरूमा ईश्वरीप्रसाद अर्याल, प्रकाश अधिकारी, मनिषराज भट्टराई, डिल्लीराम कार्की र कृष्णबहादुर कोइराला निर्वाचित भएको संघले जनाएको छ ।