नक्कली ‘भिटाब्लेन्ड ए’ बजारमा, पानीमात्रै ९९ प्रतिशत

राजन प्रसाई

काठमाडौं । चर्चित बहुराष्ट्रिय कम्पनी भिरब्याकको भिटाब्लेन्ड डब्लू एम फोर्टसँग मिल्दोजुल्दो नाम राखेर भारतीय कम्पनीले उत्पादन गरेको नक्कली भिटामिन नेपाली बजारमा बिक्री वितरण भइरहेको पाइएको छ ।

भारतीय कम्पनी इलिसिड फर्माले बहुराष्ट्रिय कम्पनी भिरब्याकको ब्रान्ड चोरी गरेर भिटाब्लेन्ड ए नामक नक्कली उत्पादन नेपाली बजारमा पठाएको हो । यो मुख्यतः कुखुरालगायत पशुपन्छीको वृद्धि विकासका लागि खुवाइन्छ ।

उत्पादक कम्पनीले आफ्नो उत्पादनमा १ एमएलमा १ लाख आईयू  रहेकाे दाबी गरेकाे छ। दाबी गरेता पनि ल्याब परीक्षणका क्रममा इलिसिडले उत्पादन गरेको भिटाब्लेन्ड–ए नामक भिटामिनमा आवश्यकताभन्दा निकै कम अर्थात् १०८६.८६ आईयू मात्र फेला परेको छ । यसको मतलब इलिसिडको उत्पादनमा भिटामिन एको मात्रा १.०८ प्रतिशत र पानीको मात्रा ९८.२ प्रतिशत छ ।

भक्तपुरको बालकोटमा रहेको जेस्ट ल्याब्रोटरिज एण्ड रिसर्च सेन्टर प्रालिमा भिटाब्लेन्ड–ए को गुणस्तर परीक्षण गरिएको थियो । डिसेम्बर २०१८ मा उत्पादन भई नोभेम्बर २०२१ सम्म म्याद रहेको इलिसिड कम्पनीको ब्याच नं. इभीए १०१ भिटाब्लेन्ड एको ल्याब परीक्षणबाट गुणस्तरहीन प्रमाणित भएको हो । जेस्टको रिपोर्टमा उक्त भिटामिनमा सुन्तला रंगको पानी रहेको औंल्याइएको छ ।

हेर्नुहोस रिपोर्ट

इलिसिड बहुराष्ट्रिय कम्पनी भिरब्याकको ब्रान्ड चोरी गर्ने औषधि उत्पादक कम्पनी हो । भिरब्याकको भिटाब्लेन्ड डब्लूएम फोर्ट कपी गरेर इलिसिडले भिटाब्लेन्ड ए उत्पादन गरेर नेपाल र भारतमा बिक्री वितरण गर्दै आएको छ । भिरब्याक नेपालमा अत्यधिक माग हुने भिटामिनमध्ये एक हो । यसकै बजार कब्जा गर्ने मक्सदले मिल्दोजुल्दो नाम राखेर नेपाली बजारमा इलिसिडले नक्कली भिटामिन पठाएको जानकारहरू बताउँछन् ।

नेपालमा यसको आधिकारिक बिक्रेता जयतारा भेट फर्मा हो । जसका सञ्चालक सरोज घिमिरे छन् । इलिसिडले ब्रान्ड नेम चोरी गरेर भिटामिन उत्पादन गरेको बारे जानकारी राख्दा उल्टै अनभिज्ञता जनाएर उनले प्रश्न गरे– भिरब्याकको पनि त्यस्तो उत्पादन छ र, मलाई त थाहा छैन ?’ स्मरणरहोस् भिरब्याक कम्पनी नेपाली किसानमाझ भिटामिनको पर्यावाचीकै रूपमा स्थापित छ ।

इलिसिडले उत्पादन गरेर नेपाली बजारमा पठाएको भिटाब्लेन्ड ए भिटामिनको प्रतिलिटर मूल्य ३६९६ रूपैयाँ छ । काठमाडौंका किसान भीमकान्त निरौलाले पानीलाई भिटामिन भनेर बिक्री वितरण गरेको थाहा पाउँदा अनौठोसँगै आक्रोस पैदा भएको बताए । ‘भिटामिन भनेर खुवाएको पानी पो रहेछ । अनि कहाँबाट कसरी कुखुरा बढोस्,’ उनले गुनासो गरे ।

गुणस्तरहीन भिटामिन बिक्री वितरण गर्दै आएको जयताराका सञ्चालक घिमिरेलाई यसबारेमा भेट टाइम्सले जिज्ञासा राखेको थियो । जवाफमा घिमिरेले उल्टै बिक्रीकर्तालाई दोषी औंल्याए ।

भने, ‘म्याद सकिन लाग्दा भिटामिनको गुणस्तर ह्रास आउँछ । त्यसैले तीन महिनाअघि फिर्ता गर्नुपर्ने चलन छ । त्यसो नगरेकाले किसानकोमा गुणस्तरहीन भिटामिन पुगेको हुनसक्छ ।’

राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाकी निमित्त प्रमुख डा. इन्दिरा शर्मा भने घिमिरेको भनाइ भने फरक छ । उनका अनुसार, भिटामिनको उपभोग्य म्याद सकिने दिनसम्म त्यसमा लेखिएको तत्त्व १० प्रतिशतभन्दा कम हुँदैन । उनले भनिन्, ‘कुनै पनि भिटामिनमा उत्पादन हुँदाको बखत कम्पनीले दाबी गरेको तत्त्वको मात्रा केही घट्न सक्छ । तर त्यो १० प्रतिशतभन्दा तलमाथि हुँदैन ।’

कुनै पनि देशमा उत्पादित फिड सप्लिमेन्टले बिक्री वितरण अनुमति लिन राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालामा निवेदन दिनुपर्छ । सँगै सम्बन्धित देशको प्रयोगशालामा गुणस्तर प्रमाणित भएको रिपोर्ट पेस गर्ने व्यवस्था छ । बिक्री वितरण अनुमतिचाहिँ नेपालकै सरकारबाट मान्यता प्राप्त आधिकारिक प्रयोगशालाको गुणस्तर प्रमाणित रिपोर्ट हेरेर दिइन्छ ।

निमित्त कार्यालय प्रमुख शर्माले आवश्यक कागजात अध्ययन गरेर यो प्रकरणसँग सम्बन्धित विवरण उपलब्ध गराइने प्रतिबद्धता जनाइन् ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष भूपेन्द्रप्रसाद गौतम कसले ल्याएर बिक्री गर्यो भन्नेतिर नगएर नेपालमा आउने उत्पादनहरू शत् प्रतिशत गुणस्तरयुक्त बनाउनेतर्फ सोच्नुपर्ने बताउँछन् । यसमा आयातकर्ता मात्र नभई नेपाललाई हेर्ने भारतीय नजरिया जिम्मेवार रहेको उनको तर्क छ ।

उनले व्यवसायीलाई उद्धृत गर्दै नेपाली व्यवसायीले गुणस्तरीय सामानका निम्ति पैसा पठाए पनि भारतीय कम्पनीले बेइमानी गरेर नमुना एउटा र सिफारिसपछि सामान अर्को पठाउने गरेका बताए ।

गौतमले अगाडि थपे– नेपालमा आउने उत्पादन हाम्रा साथीहरूले जुनसुकै कम्पनीबाट आयात गरे पनि गुणस्तरीय हुनुपर्छ । यसमा व्यवसायीभन्दा कम्पनी दोषी छन् । यसरी भिटामिनको नाममा गुणस्तहीन उत्पादन नेपाल पठाएर नेपालको पैसा विदेश जाने काम भएको छ, यो गलत हो । मैले यो वा त्यो भन्नु भन्दा गुणस्तर कायममा सबैले ध्यान दिनुपर्छ ।’

मारमा किसान

आयातकर्ताले गुणस्तरहीन सामान भित्राउँदा सबैभन्दा मारमा किसान पर्ने गरेका छन् । किसानलाई महँगो मूल्य तिराउन बाध्य पार्दै आएका बिक्रेता भने गुणस्तर मामलामा पानीमाथिको ओभानो बन्ने गरेका छन् ।

सरोकारवाला निकायको उदासीनता अझै टीठलाग्दो छ । पीडित किसानले दोषीमाथि कारबाही माग गर्दै सम्बन्धित निकायमा निवेदन दिए पनि निकै कम सुनुवाइ हुने गरेको छ ।

विभिन्न स्वदेशी तथा विदेशी कम्पनीले उत्पादन गरेका भिटामिन, मिनरल, क्याल्सियम, भिटामिन बी कम्प्लेक्सलगायत गुणस्तरहीन रहेको विवरण भेट खबरलाई प्राप्त भएको छ । त्यसलाई हामी एकपछि अर्को खुलासा गर्दै जानेछौं ।