कुकुर तिहार विशेष : पशुपतिमा जनचेतना, स्नेहाजमा पूजा

  काठमाडौं ।यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार आज मनाइँदैछ । कुकुर तिहारको अवसरमा पूजाआजासँगै अन्य कार्यक्रमहरू पनि गरिँदैछ ।
स्नेहाज केयर सेल्टरले कुकुर तिहार विशेष कार्यक्रम आयोजना गर्दैछ । बुधबार बिहान १० बजे भैंसेपाटीस्थित सेल्टरमा कुकुर पूजालगायत कार्यक्रम आयोजना गरिएको स्नेहाज केयर सेल्टरले जनाएको छ । उसले कुकुर तिहार हर्ष, उत्साह र उमंगका साथ मनाउन सबैलाई आमन्त्रणसमेत गरेको छ ।
स्नेहाज कुकुरलगायत छाडा पशुचौपायको व्यवस्थापनमा झण्डै एक दशकदेखि क्रियाशील संस्था हो ।
त्यसैगरी, आज बिहान ७ः३० बजे पशुपति परिसरमा कुकुर तिहार विशेष कार्यक्रम हुँदैछ । भेटेरिनरी प्राक्टिसनर संघ, नेपाल, लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्री, श्री शक्ति महिला समूह ,एनभिएसए (हिकास्ट)र जयबाबा पशुपति महिला विकास संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा पशु कल्याणसम्बन्धी जनचेतना अभिवृद्धि र सामुदायिक कुकुरमा रेबिजविरुद्धको खोपबारे जानकारी गराइने आयोजकले जनाएका छन् ।
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन प्राचिनकालदेखि नै मानव जातिसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवका रूपमा कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ ।
हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।
मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ ।
कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरि माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ । ऋग्वेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसंग छ । यस्तै अर्को पौराणिक प्रसंगमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको सन्दर्भ छ ।
महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै स्वर्ग लिएर गएको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपमा वर्णन गरिएको छ ।
कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन सबै पाप नाश गर्न नर्के नुहाउने चलन रहेको छ । यस दिन मासको पात खाने चलन पनि रहेको छ । यस दिन मासको पातको साग खाए मानिसका सबै पाप नाश हुन्छ भन्ने विश्वास रहेको छ ।
सम्भवतः कुकुरलाई पूजा गरिने एक मात्र धर्म हिन्दू हो । तथापि, सडकमा छानिएका कुकुरहरूको उचित व्यवस्थापन हुन सकेको छैन । सडकमा छाडिएका कुकुरको हितमा विभिन्न संघ संस्था क्रियाशील रहे पनि बेलाबेला क्रूरतापूर्ण व्यवहारका घटना सार्वजनिक हुने गरेको छ ।