औषधि व्यवस्था विभागको डीजीको जिम्मेवारी नारायण ढकाललाई

काठमाडौं । सरकारले औषधि व्यवस्था विभागको महानिर्देशक परिवर्तन गरेको छ । यसअघि महानिर्देशक रहेका भरत भट्टराईलाई हटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायण ढकाललाई उक्त जिम्मेवारी दिएको हो ।

मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पुष्टि गरे ।

ढकाल स्वास्थ्य सेवातर्फका ११ औं तहका अधिकृत हुन् ।औषधि व्यवस्था विभागको महानिर्देशकमा उनको यो तेश्रो अनुभव हो ।

विभागमा उल्लेखनीय सुधार गरिरहेकै बेला तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई त्यहाँबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानेर फाजिलमा राखेका थिए । त्यसको झण्डै दुई वर्षपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले उनलाई पुरानै जिम्मेवारीमा फर्काइदिएका हुन् ।