भेटेरिनरी डाक्टरकाे दादागिरी : सरुवा एकातिर, काम अर्कैतिर

काठमाडौ । ९ महिनाअघि सरुवा गरिएका एक वरिष्ठ सरकारी पशु चिकित्सक अटेरी गर्दै पुरानै कार्यालयमा कार्यरत रहेको पाइएको छ । वरिष्ठ पशु चिकित्सक डा. राजेश यादव मन्त्रालयले सरुवा गरे पनि पुरानै कार्यालयमा अड्डा जमाएर बसेका हुन् ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा कार्यरत डा. यादवलाई निजामती सेवा ऐन, २०४९ को दफा १८ बमोजिम गत असोज १५ मा पशुपन्छी विकास मन्त्रालयले पशु सेवा विभाग, हरिहरभवनमा सरुवाको प्रस्ताव गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो । सामान्यले त्यसको १५ दिनपछि असोज ३० गते सोहीअनुरूप निणर्य गरेर उनको सरुवा गरेको थियो । गत कात्तिक १७ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यादवलाई पशु सेवा विभाग, हरिहर भवन, ललितपुरमा सरुवा गरेको व्यहोराको पत्र काटेको थियो (हेर्नुस् पत्र) ।

पशु सेवा विभागदेखि कोष तथा लेखा नियन्त्रणको कार्यालयलगायत ६ निकायलाई सोको बोधार्थ पठाइए पनि तत्कालीन कार्यालय प्रमुखको सहयोगले उनी अहिलेसम्म सरुवा गरिएको कार्यालयमा हाजिर हुन गएका छैनन् । डा. यादवको कार्यशैलीबाट प्रयोगशालाका कर्मचारी आश्चर्यमा परेका छन् ।

सिंहदरबारको पत्र त्रिपुरेश्वर पुग्न ९ महिना !

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको दूरी मस्किलले डेढ किलोमिटर छ । पैदल यात्राबाटै केही मिनेटमा त्यहाँ पुग्न सकिन्छ । तर ९ महिनाअघि मन्त्रालयले काटेको सरुवाको पत्र अहिलेसम्म त्रिपुरेश्वरस्थित प्रयोगशालामा आइनपुगेको दाबी डा. यादवले गरेका छन् । पत्र नै प्राप्त नभएकाले यसबारे बेखबर रहेको उनको जिकिर छ ।

‘केही समयअघि मेरो सरुवा हुन लागेको हल्ला चलेपछि अहिले नगरिदिन मन्त्रालयका साथीसँग आग्रह गरेको थिएँ,’ सरुवा गरिएको कार्यालयमा नगई पुरानै कार्यालयमा हाजिर भएकोबारे भेट टाइम्सले राखेको जिज्ञासामा डा. यादवले भने, ‘मेरो सरुवाबारे अहिलेसम्म कार्यालयमा पत्र आइपुगेको छैन । कार्यालयमा पत्र नै नआई मैले प्राप्त गर्ने कुरै भएन ।’ आफ्नो आग्रहपछि सरुवा रोकिएको हुनसक्ने अनुमान आफूले गरेको उनले दाबी गरे ।

सरुवा गरिएको पत्र मन्त्रालयबाट प्राप्त भएमा सरुवा गरिएकै निकायमा हाजिर हुन जाने उनले बताए । ‘यदि मन्त्रालयबाट सरुवा गरिएको पत्र आयो भने म तोकिएको कार्यालयमा गएर काम गर्न तयार छु,’ उनले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका शाखा अधिकृत भीमप्रसाद रिमाल भने यादवको दाबी गलत भएको बताउँछन् । समयमै पत्र पुगे पनि त्यसलाई लुकाउने काम भएको उनले दाबी गरे । तर ती पात्रबारे भने विस्तृतमा केही खुलाएनन् । रिमाल डा. यादवको सरुवाको पत्र काट्ने अधिकारी हुन् ।
उनले भने, ‘मन्त्रालयका सबै पत्र समयमा नै त्रिपुरेश्वरस्थित प्रयोगशालामा जान्छ । डा. यादव सरुवाको पत्र पनि समयमा नै हामीले त्यहाँ पुर्याएका थियौं । त्यसलाई कसैले लुकाएर राखेको छ सुन्नमा आएको छ ।’

तत्कालीन कार्यालय प्रमुखको बदमासी
सरुवा भएका निजामती कर्मचारीलाई कार्यालय प्रमुखले रमाना दिएर पठाउनु पर्छ । तर त्यसभन्दा अघि सरुवा भएका कर्मचारीले बुझबुझारथका निम्ति २१ दिनको समय पाउँछन् । त्यो समय अपुग भएमा थप गर्न निवेदन दिएर अनुमति लिनुपर्छ । तर डा. यादवले अहिलेसम्म बुझबुझारथका लागि समय अपुग भएको भनेर निवेदन दिएका छैनन् ।

डा. यादवको सरुवामा तत्कालीन कार्यालय प्रमुख डा.डीकरदेव भट्टको प्रष्ट मिलेमतो र बद्मासी देखिएको छ । डा. यादवलाई रमाना दिएर सरुवा भएको कार्यालयमा पठाउनुपर्नेमा उनले त्यसो नगरी उल्टै पत्र लुकाउने र काममा लगाउने गलत हर्कत गरेको प्रयोगशालामा कार्यरत कर्मचारीहरू बताउँछन् ।
डा. यादव आफैंले पनि तत्कालीन कार्यालय प्रमुखले सरुवा भएर नजान आफूलाई आग्रह गरेको बताए । आफू सरुवा भएर जाँदा कार्यालयमा काम गर्ने व्यक्तिको अभाव हुने भएकाले प्रमुखबाट त्यस्तो आग्रह भएको उनको भनाइ छ ।

‘विभागमा सरुवा गर्ने हल्ला चलेपछि दूरीका हिसाबले पनि टाढा पर्ने भएकाले मैले यतै बस्छु भनेको थिएँ । उतिबेलाका प्रमुखको चाहना पनि म नगइदिए हुन्थ्यो भन्ने थियो,’ डा. यादवले भने ।
यस सम्बन्धी जानकारी लिन केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका निमित्त कार्यालय प्रमुख डा.सलिना मानन्धर संग भेट खबरले उनको मोबाईलमा फोन गरेकोमा पटक-पटक फोन काटेर सम्पर्कमा आउन समेत चाहिनन् ।

सरुवा भएको कार्यालय नगए के हुन्छ ?

सरुवा गरिएका कर्मचारी निर्धारित समयभित्र हाजिर हुन नगएमा विभागी कारबाही गर्न सकिने प्रावधान छ । निजामती सेवा नियमावली, २०५० को परिच्छेद ६ को ३९ मा कुनै पनि निजामती कर्मचारी सरुवा भएको कार्यालयमा रमानापत्र तोकिएको समयभित्र हाजिर हुन जानुपर्ने र निर्धारित समयभित्र यो काम नगरेमा विभागीय कारबाही हुने उल्लेख छ ।

‘कुनै पनि निजामती कर्मचारी सरुवा भएको कार्यालयमा रमानापत्रमा तोकिएको समयभित्र हाजिर हुन जानु पर्नेछ । कुनै पनि निजामती कर्मचारीलाई सरुवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरुवा गरिने छैन । यसरी निर्धारित समयभित्र हाजिर हुन नजाने निजामती कर्मचारीलाई विभागीय कारबाही हुनेछ,’ नियमावलीको परिच्छेद ६ (३९) मा भनिएको छ । सरुवाको पत्र नै नबुझेको वा लुकाएको अवस्थामा दिइने दण्डबारे भने नियमावली मौन छ ।