स्मार्ट सिटीको कन्तविजोग : बाच्छो मरेर कुहियो, तर उठेन सिनु

काठमाडौं । सडकको छेउमा मरेको बाच्छो छ । त्यसको वरपर झिँगा भन्किरहेका छन् भने ५० मिटर वरपर दुर्गन्धित छ । स्थानीय मात्र होइन, बटुवाहरू असहज महसुस गरेर नजिक पुग्नेबित्तिकै नाकमा आउने ह्वास्स दुर्गन्ध रोक्न मुख छोपिरहेका देखिन्छन् ।

यो दृश्य कुनै विकट र साधन स्रोले विपन्न क्षेत्रको नभएर आफूलाई ‘स्मार्ट सिटी’ घोषणा गरेको ललितपुर महानगरपालिकाको हो । ४ दिनअघि महानगरपालिका क्षेत्रको सानेपामा अन्दाजी १ वर्षको बाच्छो गाडीको ठक्करबाट मरेको थियो । ठक्कर दिनेले त उन्मुक्ति पायो नै बाच्छो कुहिएर वातावरण प्रदूषित भइरहँदा समेत महानगरपालिकाको नजर पुगेको छैन ।

बाच्छो कुहिएर ५० मिटर क्षेत्र वरपर दुर्गन्ध फैलिएपछि नेपाल भेटेरिनरी स्टुडेन्ट एसोसिएसनले सानेपा प्रहरीलाई यसबारे जानकारी गराएको थियो । एसोसिएसनका अनुसार, प्रहरीले ललितपुर महानगरपालिकालाई त्यसको व्यवस्थापनका लागि भनेको थियो । तर अझैसम्म पनि त्यसको व्यवस्थापन हुन छैन ।

ललितपुर महानगरपालिका २ का वडाध्यक्षलाई यसबारे जानकारी गराउँदा उनले समेत गैरजिम्मेवार रवैया देखाएको विद्यार्थीहरूको गुनासो छ । विद्यार्थीहरूले सामाजिक सञ्जालमा महानगरपालिकाको गैरजिम्मेवारीपनप्रति आक्रोससमेत पोखेका छन् ।

‘महानगरको फोहोरमैला व्यवस्थापनमा छुट्टिएको बजेट के जनताको करमा नेता र कर्मचारीहरु गाडी चड्न, ऐसआराम गर्न, गर्न, तलब भत्ता लिन मात्र हो कि काम पनि गर्नुपर्ने हो रु,’ विद्यार्थीहरूले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।