नेल्टाको अन्तरक्रिया : दमदार कार्यपत्रमा फितलो छलफल

काठमाडौं । कोभिड–१९ महामारीले पशुपन्छी र माछापालन क्षेत्रमा पारेको प्रभावबारे नेल्टाले अन्तरक्रिया कार्यक्रम गरेको छ । आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा नेल्टाले ‘कोभिड–१९ ले पशुपालन क्षेत्रमा पुर्याएको क्षति र पशुस्वास्थ्यकर्मीको भूमिका’ विषयक भर्चुअल अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा डा. सुरेन्द्र कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । कोभिडले पशुपन्छी र माछापालन व्यवसायमा पारेको असर, मान्छेबाट पशु र पशुबाट मान्छेमा सर्ने रोग, पशु स्वास्थ्यकर्मीमाथि राज्यले देखाएको रवैयालगायत विषयबारे डा. कार्कीले कार्यपत्रमार्फत गहन र गम्भीर विषय उठान गरेका थिए ।

डा. कार्कीले मिहिनेतपूर्वक गहन र गम्भीर विषय समेटेर कार्यपत्र प्रस्तुत गरेकाको भन्दै सहभागीले त्यसको को मुक्तकण्ठले प्रशंसा गर्न पनि भ्याए । कार्यपत्र बेजोड र समय सान्दर्भिक विषयमा समेटिएर तयार गरिएकाले स्वभाविक रूपमा यसले विशद् छलफलको माग गथ्र्यो । तर त्यसअनुरूप सहभागीबीच ठोस छलफल भने हुन सकेन ।

वक्ताहरू कार्यपत्रको स्प्रिटमा नबोल्दा मूल विषय ओझेल परेको सहभागीले अनुभूति गरे । ‘डा. कार्कीले गहन र गम्भीर विषय कार्यपत्रमार्फत उठाउनु भएको थियो,’ एक सहभागीले भने, ‘तर मूल विषयमा प्रभावकारी ढंगले छलफल हुन सकेन कि भन्ने मलाई परेको छ ।’ यस्ता अन्तरक्रिया र छलफल फाइदाजनक हुने भएकाले आगामी दिनमा यसलाई सुधारेर अघि बढ्दा राम्रो हुने उनले सुझाव दिए ।

एनभीएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राखेका थिए । उनले पशु स्वास्थ्यकर्मी किसानको सेवामा अहोरात्र खटिए पनि राज्यले त्यसअनुरूपको दायित्व निर्वाह नगरेको गुनासो गरे । पशु चिकित्सक, पशु स्वास्थ्यकर्मीका लागि भ्याक्सिन उपलब्ध नगराएकोमा उनी बढी रुष्ट देखिन्थे । देशका सबै जिल्ला र स्थानीय तहमा पशु स्वास्थ्यकर्मीको उपस्थिति हुनुपर्नेमा यसतर्फ पनि सरकार चुकेको उनको बुझाइ छ । यसले समग्र कृषि क्षेत्रमा नै नकारात्मक असर पर्ने चिन्ता डा. श्रेष्ठको छ । किसानले अहिले भोगेको असुविधालाई मध्यनजर गर्दै निःशुल्क टेलिफोन र टेलिमेडिसिन सेवा सञ्चालन गरेको जानकारी पनि उनले उक्त अवसरमा दिए ।

डेमोक्रेटिक एसोसिएनसका अध्यक्ष सूर्यप्रसाद पौडेलले महामारी नियन्त्रणमा पशु स्वास्थ्यकर्मीको दिनसक्ने योगदानबारे राज्यलाई पर्याप्त ढंगले बुझाउन नसकिएको विश्लेषण सुनाए । यसबारे बुझाउँदा स्कोप थप बढ्ने भए पनि पशु स्वास्थ्यकर्मी चुकेको ठम्याइ पौडेलको छ । पौडेलका अनुसार, प्रयोगशाला स्टोङ भएको भए किट निर्माण गरेर महामारीमा सहायता गर्न सकिन्थ्यो । तर अहिलेको कमजोर पशु स्वास्थ्य प्रणालीका कारण त्यसो हुन सकेन ।

भाइरसलाई राम्रोसँग नबुझी अघि बढ्दा भारत, अमेरिका र ब्राजिलसँगै नेपालले घातक परिस्थिति सामना गरेको उल्लेख गर्दै यसबाट पाठ लिएर प्रणाली मजबुत पार्नेतर्फ सोच्न सबैलाई आग्रह गरे । ‘यसो भएन र उसो भएन भन्नु भन्दा प्रणालीमा के कस्तो सुधार आवश्यक छ भन्नेबारे ठोस डकुमेन्ट तयार गर्न लागौं,’ उनले अगाडि भने, ‘यदि प्रणाली सुधारका लागि ठोस डकुमेन्ट तयार भए त्यसलाई कार्यान्वयनका लागि हामी सहयोग गर्न तयार छौं । मिलेर काम गर्ने संस्कृति नहुँदा धेरै कुरा गुमेको भन्दै हातेमालो गरेर अघि बढ्न उनले पशु स्वास्थ्यकर्मीसँग प्रस्ताव पनि गरे ।

डा. उमेश दाहालले अग्रपंक्तिमा रहेर सेवा गर्दै आइरहेका पशु स्वास्थ्यकर्मीलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिनमा प्राथमिकतामा नराखेर सरकारले उपेक्षा गरेको गुनासो गरे । देशका सबै नागरिकलाई खरिद गरेरै भ्याक्सिन लगाउँदा पनि ५० अर्बले पुग्ने भएकाले त्यसतर्फ ध्यान दिन उनले सरकारलाई आग्रह गरे । यदि त्यसो गर्न सम्भव नभए पनि पशु स्वास्थ्यकर्मीलाई भने प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन उनले माग गरे ।