पशुपन्छीजन्यवस्तु बोकेका गाडी राति ९ बजेपछि मात्र चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा भेटेरिनरी सेवा र पशुपन्छीजन्य वस्तुहरूको ढुवानी गर्ने समय खुम्च्याइएको छ ।

काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई थप कडाइ गर्दै भेटेरिनरी सेवासँग सम्बन्धितका अतिरिक्त पशुपन्छीजन्य पदार्थको ढुवानी गर्ने समयलाई सीमित गरेको हो ।

अब ०७८ जेठ १४ गतेबाट रातको ९ बजेदेखि बिहान ९ बजेसम्म मात्र पशुपन्छीजन्य वस्तुहरू ओसारपसार गर्न पाइने भएको छ । भेटेरिनरी सेवासँग सम्बन्धित कार्य पनि यही अवधिमा मात्र गर्न सकिनेछ ।

यसअघि पशुपन्छीसँग सम्बन्धित विभिन्न संघ, संस्था र तालुकदार मन्त्रालयको आग्रहमा ब्यानर राखेर चौबीसै घण्टा पुशुपन्छीजन्य वस्तुहरूको ढुवानी गर्ने सुविधा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको थियो । र, यही नियमअनुसार निषेधाज्ञाको अवधिमा पशुपन्छीजन्य वस्तुहरू बोकेका सवारी निर्वाध सञ्चालन हुन पाएका छन् ।

‘कुखुराको दाना, चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी कार्य लगायतका ढुवानी तथा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ९ बजेदेखि बिहान ९ बजेसम्म न्यूनतम संख्यामा सञ्चालन गर्न पाइनेछ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जेठ १४ बाट जारी हुने नयाँ आदेशमा भनिएको छ ।

कोरोनाको संक्रमण दर बढेको भन्दै उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यसअघिका गतिविधिलाई बन्देज लगाउने निर्णय गरेका हुन् । सरकारी तथा अत्यावश्यकीय सेवाका सवारी साधनको हकमा पनि प्रशासनले कडाइ गर्ने निर्णय गरेको छ ।