सामुदायिक कुकुर हत्यामा संलग्नमाथि कारबाही गर्न एफएडब्लूएनको माग

काठमाडौं । कैलालीको धनगढीमा ४ सामुदायिक कुकुरको हत्यामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न पशु कल्याण संघ नेपाल (एफएडब्लूएन) ले माग गरेको छ । घटनाको कानूनी उपचारका लागि नेतृत्व लिने प्रतिबद्धता पनि संघले जायर गरेको छ ।

संघले आइतबार एक विज्ञप्ति जारी गरी घटनाको सत्य–तथ्य छानबिन गरेर दोषीउपर कारबाही गर्न माग गरेको हो ।

‘यस घटनाको सत्य–तथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा सजायका लागि पशु कल्याण संघ नेपाल जोडदार माग गर्दछ,’ संघकी अध्यक्ष स्नेहा श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

घटनाका दोषीलाई कठ्घरामा उभ्याउन आवश्यक कानूनी प्रक्रियाको नेतृत्व लिने प्रतिबद्धता पनि संघले जायर गरेको छ ।

‘आज पशु मार्नेले भोलि मान्छे मार्छन्’

आधुनिक युगमा पशुपंक्षीहरूमाथि हुने यस्ता अपराधले सिंगो मानव सभ्यतामाथि नै प्रश्न चिह्न खडा गरेको संघको ठहर छ । यो प्रवृत्तिगत समस्या भएको र आज पशुको ज्यान लिनेले मान्छेलाई समेत बाँकी नराख्ने भएकाले त्यहीअनुरूप यसको गम्भीरतालाई बुझ्न उसले भनेको छ ।

‘समाजमा बढिरहेका यस्ता हिंसात्मक प्रवृत्तिहरू निर्दोष पशुपंक्षीप्रति मात्र नभई भावी दिनमा मानव समुदायतर्फ नै हाबी हुनसक्ने कुरामा हामी सबै जना सचेत हुन जरुरी छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

धनगवढी महानगरपालिकाको विशालनगरमा एक व्यक्तिले केही दिनअघि ४ वटा कुकुरलाई बाँधेर विभत्स हत्या गरेका थिए । घटना सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

पछिल्लो समय पशुपंक्षी हिंसाका घटना बढेका छन् । केही साताअघि मात्रै नवलपरासीको रामग्राम नगरपालिकामा सामुदायिक कुकुरलाई विष खुवाएर हत्या गरिएको थियो । त्यसरी फालिएका कुकुरको मासु खाएर प्राकृतिक कुचीकारका रूपमा चिनिने ६७ वटा गिद्ध मरेका थिए ।