४६ केजी दाना भिडाएर ५० केजीको पैसा असुल्दै सुरज वैद्य

राजन प्रसाई/राजेन्द्र आचार्य
काठमाडौं ।नेपालका स्थापित उद्योगी सुरज वैद्य स्वामित्वको नेपाल वेलहोप एग्रिटेक प्रालि (विजय प्लेट) ले कुखुराको दानाको परिमाण र गुणस्तर दुवैमा किसानमाथि बदमासी गरेको पाइएको छ । बोरामा उल्लेख भएअनुसारको तौल र गुणस्तरबिनाको दाना किसानलाई बिक्री गरेर वेलहोपले किसानमाथि ठगी गरेको हो ।

वेलहोपले बिक्रीका लागि पठाएको दानाको बोरामा ५० केजी तौल रहेको उल्लेख छ । तर यस्ता दानाको प्याकेटमा ४ देखि ५ केजीसम्म तौल नपुगेको भेटिएको छ । सामान्यतया एउटा दानाको बोरा ५० देखि ७० किलोग्रामसम्मका हुन्छन् । बिक्रीका लागि प्याकिङ गरेर पठाइने हरेक वस्तुमा बोराको तौलसमेत उल्लेख हुन्छ । वेलहोपको ५० केजी भनिएको कुखुराको दानाको बोराको परिमाणमा शंका लागेर तौल गर्दा कुनैमा ४ र कुनैमा ५ केजीसम्म तौल अपुग भेटिएको छ ।

 

भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष नरिनारायण पौडेललगायत जनप्रतिनिधि, सुरक्षा निकायको उपस्थितिमा तौल परीक्षण गर्दा कम पाइएको हो । भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष पौडेलले वेलहोपले उत्पादन गरेको दानामा तोकिएभन्दा ४–५ केजीसम्म तौल कम पाइएको जनाएका छन् ।

भरतपुर–२३ का किसान मनोजकुमार बोहराले विगत २ वर्षेदेखि विजय प्लेट दाना खरिद गर्दै आएकोमा शंका लागेर तौल चेकजाँच गर्दा ३० बटा बोराको तौल तोकिएभन्दा कम भएको बताए ।बोहोराका अनुसार ५० केजी तौल उल्लेख भएको बोरामा ४६. ६८ केजी मात्र पाइएको छ । ‘कर्मचारीले दाना हाल्ने काम गर्थे, त्यति नोटिस गरेको थिइनँ,’ उनले भने, ‘यसपटक मैले घरमा नै डिजिटल काँटा ल्याएर राखेको थिएँ ।बेला बेलामा कुखुरा जोखेर औसत तौल कति छ भनेर हेर्थेँ । यसपटक कुखुरा दानाको तौल हेर्न मन लाग्यो । तौलमा पनि शंका लाग्यो । तर तौल त भुसुक्कै कम रहेछ । अनि पो पत्तो पाएँ ।’ तौलमा ठगिएको पत्तो पाएपछि आफूले वडा कार्यालयमा खबर गरेको उनले जानकारी दिए । वडा कार्यालयले स्थानीय प्रशासनको रोहवरमा तौल परीक्षण गर्दा कम भेटे पनि दाना उत्पादन कम्पनीले गल्ती स्वीकार्नुको साल्टो अझै दुव्र्यवहार गरेको गुनासो उनले गरे । ‘यसबारे दाना कम्पनीका कर्मचारी टेकनाथ पाण्डसँग बुझ्दा आफूले केहि बोल्न नमिल्ने गैरजिम्मेवार प्रतिक्रिया दिए,’ उनले भने ।

 

भेटखबरलाई प्राप्त सूचनाअनुसार वेलहोपले उत्पादन गरेको दानाको गुणस्तरमा समेत कैफियत छ । यसमा सीटीसी, बीएमडीलगायत एन्टिबायोटिक्ससमेत अनधिकृत ढंगले मिसाउने गरिएको स्रोतको दाबी छ । एन्टिबायोटिक्स खासमा कुखुरा बिरामी भएका बेला खुवाउनु पर्ने हो । तर आफ्नो दाना राम्रो रहेको भ्रम छर्न पहिल्यै उत्पादक कम्पनीले दानामा एन्टिबायोटिक्स मिसाउने गरेका छन् । चिकित्सकका अनुसार, कुखुराको वृत्ति विकास छिटो भए पनि यस्ता मासु प्रयोग गर्ने उपभोक्ताको स्वास्थ्यमा यसले गम्भीर असर गर्छ । तर यति गम्भीर विषयमा सरकार र सरोकारवाला अहिलेसम्म बेखबर छन् । नियमतः पशु आहरमा एन्टिबायोटिक्स मिसाउन मिल्दैन । यदि कुनै दाना उत्पादन कम्पनीले त्यसो गर्छ भने कानूनतः त्यो दण्डनीय हुन्छ । तर नियामककारी निकायको कमजोर भूमिकाको फाइदा उठाउँदै दाना उत्पादक कम्पनीले गैरकानूनी काम गरिरहेका छन् ।

 

कखुराको दानालाई उत्पादक कम्पनीले ३ भागमा विभाजन गरेर बिक्री वितरण गर्ने गरेका छन्–बी १, बी २ र बी ३ ।यी सबै प्रकारका दाना सीधैं किसानकोमा पुग्दैन । पहिले डिलर र त्यसपछि डिलरमार्फत किसानको पुग्छ । पछिल्लो बजार मूल्यअनुसार बी १, बी २ र बी ३ दानाको क्रमशः ३३६०, ३२२० र ३१७० सम्म पर्छ । यस हिसाबले प्रतिबोरा दानामा किसान २६८  देखि ३३६ रूपैयाँसम्म ठगिइरहेका छन् ।

ठगीमा अभ्यस्त सबै क्षेत्र आफ्नो धर्मनिर्वाहमा इमान्दार हुनुपर्छ । सबैको समुच्च योगदानले मात्र देशलाई समृद्धिको दिशातर्फ लैजान सकिन्छ । उद्योगी व्यवसायीका फोरममा वेलहोपका साहुजीले वैद्यले यस्तै व्यहोराको भाषण गरेको वर्षौं भइसक्यो । अरूलाई आदर्श छाँटे पनि उनी आफैं भने व्यावसायिक धर्मनिर्वाहबाट विमुख हुँदै आइरहेका छन् । स्रोतका अनुसार, कुखुराको दाना उत्पादनमा वैद्यको कम्पनीले लकडाउनको समयदेखि नै परिमाण र गुणस्तरमा सम्झौता गरेर बजारमा बिक्री वितरण गर्ने गरेको छ ।

विगतमा गरेको बदमासीमा दण्ड नमिलेपछि यसपटक उत्साहित भएर वेलहोपले दानाको बोरोमा प्रतिकेजी ४ देखि ५ केजीसम्म तौल ठगेको किसानहरूको गुनासो छ । यति मात्र होइन, भरतपुर महानगरपालिका–५, कल्याणपुरमा अवस्थित वेलहोपले दानाको बोरामा मूल्यसूची नराख्ने, चिसोपनाको मात्रा आवश्कताभन्दा बढी राख्ने गरेको छ ।

सरोकारवाला र पीडित किसानले पटक पटक वेलहोपमाथि छापा मारेर बदमासी नियन्त्रण गर्न माग गर्दै आएका छन् । जानकारहरू शक्ति केन्द्रमा रहेको वैद्यको प्रभाव र पहुँचले अनुगमनको आवाज मत्थर हुँदै आएको दाबी गर्छन् । कारबाही र क्षतिपूर्ति निम्ति प्रशासनलाई गुहार वेलहोपले किसानमाथि ठगी गरेको आरोप लगाउँदै क्षतिपूर्ति तथा कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, चितवनलाई गुहारिएको छ ।

भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष नरिनारायण पौडेलले एक पत्र लेख्दै ठगी गर्ने दाना उद्योगलाई कारबाहीका लागि आग्रह गरेका हुन् । पौडेलद्वारा प्रेषित पत्रमा जनप्रतिनिधि, स्थानीय प्रशासनको रोहवरमा दानाको बोरा तौल गर्दा तोकिएभन्दा कम पाइएको उल्लेख छ । पत्रमा ठगी गर्ने दाना उद्योगमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन पनि माग गरिएको छ । कुखुरापालक किसानको सबैभन्दा बढी लगानी दानामा हुनेगर्छ ।यस सम्बन्धी प्रतृकृयाका लागी उद्योगका प्रतिनिध सुमन गौतमसंग सम्पर्क गर्दा उनले सम्बन्धीत विभाग हेर्ने  प्रतिनिध लाई सम्पर्क गराउने बताए पनी सम्पर्क भने गराएनन् ।

हालको बजार मूल्यअनुसार १ हजार कुखुरा पाल्दा झण्डै दुई लाख ५० हजार बढी रकम दानामा खर्च हुने किसानहरू बताउँछन् । दानामा हुने खर्चले समग्र व्यवसायकै नाफा–नोक्सान निर्भर हुन्छ । यति ठूलो रकम किसानबाट उठाउने दाना उद्योगले नै दाना तौलमा ठगी गर्दा किसानहरु समस्यामा परेका छन् । दाना उद्योगले मात्र नभई चल्ला उत्पादन गर्ने उद्योग, मासु किन्ने कोल्डस्टोर, औषधि पसलसम्मले किसानमाथि ठगी गर्ने गरेका छन् ।