काठमाडौं । नेपाल भेटेरिनरी एशोसियसनले भेटेरिनरीलाई आवश्यक सेवामा समावेश गरिसेको अवस्थामा सोअनुरुपको सहज व्यवहार गर्न सरकारसमक्ष माग गरेको छ ।
एसोसियसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई भेटेर घोषित लकडाउन र निषेधाज्ञामा भेटेरिनरी क्षेत्रलाई सहुलियत दिन माग गरेका हुन् ।
लकडाउन र निषेधाज्ञामा भेटेरिनरी सेवालाई निर्वाध आवागमनको वातावरण बनाउने वचनबद्धता प्रजिअ अधिकारीले व्यक्त गरेको एसोसियसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
‘लकडाउन र निषेधाज्ञामा भेटेरिनरी क्षेत्रमा पर्ने प्रभावबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग भेटेर कुराकानी भयो,’ भेटबारे जानकारी दिँदै अध्यक्ष श्रेष्ठले भने, ‘भेटेरिनरी सेवालाई निर्वाध आवातजावतको बातावरण बनाउने प्रतिबद्धता उहाँले जनाउनु भएको छ ।’ सम्भवतः आजै बेलुकासम्म जिल्ला प्रशासन कार्यालयले आफ्नो पूर्व निणर्यमा परिमार्जन गर्ने विश्वास श्रेष्ठले व्यक्त गरे ।
लोगो प्रयोग गर्न आग्रह
यसैबीच, अध्यक्ष श्रेष्ठले सम्पूणर् भेटेरिनरी सेवा प्रदायकलाई आफ्नो लोगो सवारी साधनमा प्रयोग गर्न आग्रह गरेका छन् । पहिले चिकित्सकहरूले प्रयोग गर्दै आएको लोगो सहजताका लागि नयाँ डिजाइनमा ढालिएको उनले जानकारी दिए । उनले भने, ‘हामी सबैले एकै प्रकारको लोगो प्रयोग गरेको अवस्थामा सुरक्षाकर्मी तथा राज्यका निकायलाई समेत पहिचान गर्न सहज हुने हुँदा सबैमा यो प्रयोग गरिदिन म अनुरोध गर्दछु ।’