नेपालमा आज (पुस १७ गते शुक्रबार) विभिन्न कार्यक्रमको आयोजना गरी आठौं राष्ट्रिय पोल्ट्री दिवस मनाइँदै छ । दिवसकाे अवसरमा नेपाल कुखुरा व्यवसायी मञ्चले चितवनकाे नारायणगढस्थित विपि काेइराला मेमाेरियल क्यान्सर अस्पतालका विरामीलार्इ अण्डा वितरण गर्दै छ ।
२०७० सालदेखि हरेक वर्ष नेपालमा यो दिन राष्ट्रिय पोल्ट्री दिवस मनाइँदै आइएको छ । नेपालमा २०१७ साल पुस १७ गते परवानीपुरमा सेन्ट्रल ह्याचरीको स्थापना र उद्घाटन भएको थियो । पछिल्लो समय नेपालमा परम्परागत पोल्ट्रीको साटो आधुनिक पोल्ट्री व्यवसायले व्यापकता पाउँदै गएको र पोल्ट्रीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएपछि भने यो दिनव मनाउन थालिएको हो । सेन्ट्रल ह्याचरीको स्थापनापछि नै पोल्ट्रीमा नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको महसुस गर्दै २०७० बाट भने यो दिनको स्मरणमा राष्ट्रिय पोल्ट्री दिवस मनाउन थालिएको हो ।
पोल्ट्री दिवसका अवसरमा नेपाल नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्याललेले आफू नेपालको कृषि तथा पशुपन्छीको हर क्षेत्रबारे अहिले सूक्ष्म रुपमा अध्ययनकै क्रममा रहेको भेट खबरसँग बताएकी छन् । ‘दिवसको अवसरमा कर्मकाण्डीय रुपमा शुभकाना दिएर मात्रै हुँदैन,’ मन्त्री अर्यालले भनिन्, ‘सरकारले के गर्छ यो क्षेत्रमा भन्ने ठोस योजनाका साथ आउनु पर्नेछ, त्यसका लागि म अध्ययनमै छु ।’
तर, पोल्ट्री महासंघ नेपालका अध्यक्ष गुणचन्द्र विष्ट भने नेपालको निजी क्षेत्रले आत्मनिर्भर बनाएको पोल्ट्रीलाई टिकाइ राख्ने चुनौती सरकार सामु रहेको बताउँछन् । ‘निजी क्षेत्रको लगानी र मेहनतले यो उद्योगले पोल्ट्रीजन्य उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाएको छ,’ उनले भने, ‘तर, परम्परागत सोच र शैलीबाट अघि बढेको सरकारले सामान्य सहजीकरणसमेत गर्न सकेको छैन । उदाहरणका लागि कुखुरामा लाग्ने स्वासप्रश्वास सम्बन्धी रोग एचनाइन विरुद्धको खोपको आपूर्तिलाई सहज बनाऔं भनेर हामीले सरकालाई भन्दा कुरा त ठिक हो तर अहिले नगरौं भन्छ । तर, यही रोगका कारण कुखुरा मरेर पोल्ट्रीमा व्यवसायीले ठूलो घााटा व्यहोर्दै आएका छन् ।’
परम्परागत र पश्चगामी सोचको सरकारका कारण पोल्ट्रीमा ठूलो लगानी आउने सम्भावना नदेखिएको र यस क्षेत्रमा प्राप्त आत्मनिर्भरतालाई टिकाइराख्न चुनौतीपूर्ण देखिएको उनको भनाइछ । कृषि तथा पशुपन्छी विकास मन्त्री परिवर्तन भएकाे र नयाँ मन्त्रीबाट यस क्षेत्रमा के अपेक्षा छ भन्ने भेट खबरकाे प्रश्नमा उनले भने– ‘अाँधी हुरी जस्ताे तरिकाले अाएकाे सरकारकाे एक मन्त्रीले मात्रै के गर्न सक्लान् र ?’
नेपालको पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर भएको भनिए पनि दानाका कच्चा पदार्थ मकै र भटमासको पिनामा आत्मनिर्भर छैन । त्यस्तै, कतिपय रोगविरुद्धको खोप, दाना परिपूरक ठूलो मात्रामा आयात भइरहेको पाइएको छ । नेपालको पोल्ट्रीमा सबैभन्दा टड्कारो समस्या भने कुखुरा पालक किसानको लागत मूल्य नै उठ्न नसक्नु हो ।
ठूलो लगानी र धेरै संख्यामा यो क्षेत्रले रोजगारी सिजर्ना भए पनि कुखुरा पालक किसानले कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । उत्पादक किसान र उपभोक्ताको बीचमा बसेर व्यापार गर्नेहरुले भने मुनाफा कमाएको गुनासो कुखुरा पालकको रहँदै आएएको छ ।
पोल्ट्री व्यवसाय भित्रिका ह्याचरी, दाना, कुखुरा उत्पादक, सप्लायर्स, अण्डा व्यवसायी, पशुपन्छी औषधि व्यवसायी सबै पक्षको समन्वय हुन सके मात्र नेपालको पोल्ट्रीले आत्मनिर्भरतालाई अझ टिकाइराख्न सक्ने देखिएको छ ।