सरकारी विभागबीच नै कुरा बाझियाे : एउटा भन्छ– मासु नखानू, अर्को भन्छ– खानू !, अन्याेलमा उपभाेक्ता

काठमाडौं । पशुपन्छी तथा तिनको मासुबाट कोभिड–१९ भाइरस नसर्ने विज्ञहरुले बताइरहँदा सूचना तथा प्रसारण विभागले पशुपन्छीको मासु नखान उपभोक्तालाई सूचित गरेको छ । मंगलबारका केही राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरी विभागले कोरोनाबाट बाच्न सकेसम्म पशुजन्य मासु नखान उपभोक्तालाई सचेत गरेको छ ।
उक्त सूचनापछि आम उपभोक्ता भने अन्योलमा छन् । पशुपन्छीको मासु खान हुने हो वा होइन भन्ने अन्योल फेरि सिर्जना भएको छ ।

खास गरी विश्व स्वास्थ्य संगठनले पशुपन्छी तथा पशुजन्य मासु, अण्डा, दूधजस्ता उत्पादनबाट कोरोना भाइरसको संक्रमण भएको पुष्टि नभएको जनाएको छ । त्यस्तै, नेपालको पशु सेवा विभागले समेत पशुपन्छीको मासु, माछा तथा अण्डा राम्ररी पकाएर खाँदा हुने भन्दै आम उपभोक्तालाई सचेत गरेको छ ।

‘हामीले पहिले नै सूचना जारी गरेर विश्व स्वास्थ्य संगठनले नै पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थबाट कोरोना भाइरस सरेको पुष्टि नगरेको सूचना जारी गरिसकेका छौं,’ पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले भने, ‘सूचना तथा प्रशासरण विभागले के सूचना जारी गरेको छ मैले हेरेको छैन यसबारे हेरेर कुरा गर्छु ।’

यस विषयमा सूचना प्रशारण गर्ने निकाय सूचना विभागका प्रवक्ता ईश्वरराज दाहालले सूचनाले मासु खानै हुँदैन भनेर नभनेको बताए । ‘सूचनामा सकेसम्म नखानु भन्ने भएको हो, यसले केही भ्रम सिर्जना गरेको भए वा सच्याउनु पर्ने भए हामी सच्याउँछौं,’ उनले भने ।