कार्बाइड नहाली अर्गानिक रूपमा केरा पकाउन राइजिङ चेम्बर निर्माण गर्दै झापाका किसान

केशब चापागाईं,
झापा । झापाको दक्षिणी भेग झापा गाउँपालिका-३ रङ्गपुरका किसान चन्द्रप्रसाद बस्नेतले करिव २५ बिघा जमिन भाडामा लिएर व्यावसायिक अर्ग्यानिक केरा खेति सुरू गरेका छन् । उनले प्रति विघा वार्षिक ३० हजार रुपैयाँ भाडा दिने गरी औसत १० वर्षका लागि विभिन्न जग्गा धनी संग सम्झौता गरी उक्त जमिन लिएका हुन् ।
बस्नेतले विलियम हाइब्रिड, मालभोग र स्थानीय कुरकुरे जातका केरा लगाएका छन् । इजरायलबाट प्रविधि सिकेर नेपालमै केरा खेतीमा लागेका बस्नेतले एग्री सेन्टर प्रालि नामकाे कृषि फार्म दर्ता गरेका छन् । उनले याे फार्मलाई झापाकै नमुना फार्म बनाउने लक्ष्य राखेका छन् । एग्री सेन्टर फार्मले अहिले कागती र ड्रागनको समेत परिक्षण गरिरहेको भन्दै भबिस्यमा यसको संम्भाब्यता भए बढाउँदै लैजाने बस्नेतले बताए ।
उनका अनुसार कम्पनीले फागुन सम्ममा केरा उत्पादन गरेर बजारमा निकाल्ने योजना राखेको छ।हाम्रो कम्पनीले उपभोक्तालाई अर्गानिक उत्पादन बितरणमा जोड दिएको छ,बिषादी रहित उत्पादन बजारमा आउने छ,उपभोक्तालाई यस कुरा ढुक्क हुन बस्नेतले आग्रह गरे ।
झापाकै नमुना फार्मका रूपमा स्थापित हुने लक्ष्य लिएको फार्मले आगामी बर्ष विभिन्न फलफूल,कागती साथै केरा खेतीको क्षेत्रफल बढाउँदै लैजाने योजना राखेको छ।
केरा पकाउने घर तथा केरा संकलन केन्द्र निर्माणाधिन
फार्मबाट फागुनसम्ममा केरा उत्पादन गरी बजारमा पुर्याउने उदेश्यसहित बस्नेतले बिनाविषादी केरा पकाउनका केरा पकाउने घर (राइजिङ चेम्बर) निर्माण गरिरहेका छन् । नेपालमा केरालगायत फलफूल उत्पादकहरुले कार्बाइड नामक विषादी हालेर केरा पकाउने गरेको भन्दै केरा खेती थालेका बस्नेतले साधना संस्कृति नमूना कृषि फार्मले आफ्नो उत्पादनलाई अर्गानिक बनाउन केरा पकाउने घरको निर्माण शुरु गरेको बताए ।
घर निर्माणका लागि मेशिनसहित करिव १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यसको लागि कृषि ज्ञान केन्द्रले यस वर्ष ८ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो । फार्मले केरा पकेट कार्यक्रमका लागि अनुदान सहयोग गरेकाे हाे । त्यस अनुदानको रकम र थप आफ्नो रकमले केरा घरका लागि संरचना निर्माण गरिएको संचालक बस्नेतले बताए ।
निर्माणाधिन अबस्थामा रहेको केरा पकाउने घर २७ फिट चाैडाइ र ३७ फिट लम्बाइ क्षेत्रफलमा निर्माण भइरहेको बस्नेतले बताए ।
के हाे केरा ?
केरा संसार कै पुराना फलफुलहरु मध्ये एक हो र नेपालमा यसले महत्वपूर्ण स्थान ओगेटोको छ । नेपालमा उत्पादित फलफुलहरु मध्ये केरा मात्र वर्ष भरी उत्पादन गर्नुका साथै उपभोग गरिन्छ । केराका धेरै स्थानीय जातहरु परापूर्वकालदेखि नै खेती गरिदैं आएको पाइन्छ । उत्पादनका हिसाबले नेपालको तराई क्षेत्रमा खेती गरिने उष्ण प्रदेशीय फलफुलहरुमा केराको स्थान अग्रणी रहेको छ ।
नेपालको पूर्वदेखि पश्चिमसम्म पहाडी जिल्लाहरुका बेँसी, र होचा पहाडमा पनि केरा खेती गरिँदै आएको पाइन्छ । नेपालमा केरा खेतिका लागि उपयुक्त मानिएकाे कुल ५०५५ हेक्टर क्षेत्रफल मध्ये करिव ३६२७ हेक्टर मात्र उत्पादनशील छ । नेपाल वार्षिक ५१५९० मेट्रीक टन केरा उत्पादन हुने गरेकाे छ ।